काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले लामो अभ्यास र अनुभवबाट देश संघीय गणतन्त्रात्मक व्यवस्थामा आएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले यो व्यवस्था प्रति आन्दोलनबाट आएका राजनीतिक दल प्रतिबद्ध रहेका थापाले बताउनुभयो । जनतामा देखिएको आक्रोशलाई समयमा बुझेर त्यसलाई सम्बोधन गर्नु पर्ने भए पनि थापाले अहिलेको सरकार आएको कारण जनता यो सरकारसँग रिसाएका हुन् भन्ने कुरामा भने कुनै सत्यता नरहेको उहाँले बताउनुभयो ।
संविधान बने पछिको ३३ सय ८४ दिनमा नेकपा माओवादी केन्द्र ३१ सय ७९ दिन नेकपा माओवादी सरकारमा सहभागी रहेकोले माओवादीले अहिलेको सरकारका कारण असन्तुष्टि बढ्यो भन्नु हास्यास्पद भएको थापाले बताउनुभयो । सरकार बनेको कुरा नै असंवैधानिक छ भन्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति नै असंवैधानिक भएको थापाको धारणा छ ।
यस अघि पनि बारम्बार अध्यादेश आएका बताउँदै ती अध्यादेश ल्याउँदा माओवादी सभागी भएको उहाँले स्पष्ट पार्नुभयो । संवैधानिक अधिकारको दुरुपयोग गरेर दल फुटाउने अध्यादेश ल्याउँदा समेत माओवादी सँगै रहेको थापाले बताउनुभयो ।
संसद् प्रतिपक्षको हो भन्ने माओवादीले हिजो प्रतिपक्षी सांसदलाई हुत्याउँदै प्रतिनिधि सभामा बजेट प्रस्तुत गरेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । गल्ती सबैले गरेकाले अपजस अर्काको टाउकोमा नथोपर्न थापाले आग्रह गर्नुभयो । ‘हामीले धेरै गल्ती गर्यौँ, धेरै कुरा सुधार्नु पर्ने छ’, उहाँले भन्नुभयो ।
मभन्दा असल, मभन्दा जानेको, मभन्दा असल कोही पनि छैन भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने उहाँले बताउनुभयो । संविधान र व्यवस्थालाई परिमार्जित गरी संस्थागत बनाएर लैजाने कुरामा सबै जिम्मेवार बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘पानी माथिको ओभानो कोही पनि नबनौँ’, उहाँले भन्नुभयो ।
अब एकले अर्कालाई आरोप लगाएर उम्किन नसकिने उहाँले बताउनुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिका सन्दर्भमा नेपालको साझा धारणा बनाएर अघि बढ्न अब आवश्यक रहेको थापाको भनाइ छ ।
