काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदमा अति गैरजिम्मेवार हिसाबले प्रस्तुत हुनुभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै विष्टले आजको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले दिएको अभिव्यक्त अति गैरजिम्मेवार भएको बताउनुभयो । ‘प्रमुख प्रतिपक्षी दलका नेताले अत्यन्तै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ, सर्पले सर्पको खुट्टा देख्छ भनेझैँ उहाँलाई पनि त्यस्तै दृश्य देख्ने बानी परेको हो कि ? विगतमा आफूले बिचौलियाहरूसँगै रातदिन उठबस गरेकाले, नजिकबाट सङ्गत गरेकाले, मर्म बुझेकाले उहाँलाई त्यस्तै लागेको हुनसक्छ, उहाँले कतै त्यही भएर बिचौलियाको प्रसङ्ग उठाउनु भएका छ होइन’, उहाँले भन्नुभयो ।
प्रचण्डले आफू ७ महिनाअघि सत्तामा हुँदा रामराज्य आएको र अहिले रावण राज्य आयो भन्ने खालको अभिव्यक्ति दिनुभएको विष्टले बताउनुभयो । प्रचण्डकै अभिव्यक्तिको कारण पुर्वराजा र उनका मतियारहरू सलबलाएको हुन सक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । ‘पूर्वराजाको जुन प्रकारको हौसला देखिएको छ, कतै उहाँका यस्तै गैरजिम्मेवार अभिव्यक्ति कारक त होइनन् ?’ विष्टले भन्नुभयो ।
सरकारले सुशासन र आर्थिक संवृद्धिका लागि गरेका प्रयत्नलाई गैरसंवैधानिक भनेर बारम्बार लाञ्छित गरेको प्रति उहाँले प्रचण्डको आलोचना गर्नुभयो । ‘सरकार बाहिर जाँदा कतै उहाँमा एक प्रकारको चिडचिडाहट उत्पन्न भएको त होइन ?’ विष्टले भन्नुभयो ।
राजतन्त्रलाई आदर्श मान्ने कतिपय शक्ति रहन सक्ने भए पनि त्यो राजनीतिको मूलधार नभएको उहाँले बताउनुभयो । नेपाली जनता अब पुनः रैती बन्न तयार नरहेको उहाँले स्पष्ट पार्नुभयो । अहिले देखिएको हरकत केवल मृगतृष्णा मात्र भएको विष्टले स्पष्ट पार्नुभयो ।
गणतन्त्र प्राप्ति पछाडि पटक पटक माओवादी पनि सरकारमा सहभागी भएको बताउँदै उहाँले त्यस समयका राम्रा नराम्रा सबै कुराको जस अपजस बाँडेर लिनु पर्ने बताउनुभयो । प्रचण्डको अभिव्यक्तिले गणतन्त्रलाई कमजाेर बनाउन चाहने शक्तिलाई नै बल पुग्ने विष्टको धारणा छ । गणतन्त्रवादी शक्तिहरू एउटै डुङ्गामा यात्रा गरिरहेकाले डुङ्गा डुब्दा अन्य दल मात्र होइन माओवादी पनि डुब्छ भन्ने कुरा ख्याल गर्न विष्टले प्रचण्डलाई आग्रह गर्नुभयो ।
विष्टले लाेकतन्त्रकाे विकल्प निरंकुश राजतन्त्र हुन नसक्ने बताउनुभयाे । लाेकतन्त्रकाे विकल्प समृद्ध लाेकतन्त्र नै हुने उहाँले स्पष्ट पार्नुभयाे ।
