काठमाडौं । प्रतिनिधि सभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश ल्याएर सरकारले जनप्रतिनिधिमूलक निकायका अपमान गरेको बताउनुभएको छ । उहाँले सरकारले हरेक क्षेत्रमा जनप्रतिनिधिलाई हेप्ने गरेको बताउनभयो ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि बेठिक भएको बताउनुभयो । उक्त विधेयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनतालाई अवहेलना गर्ने गरी सो विधेयक ल्याएको बताउनुभयो । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बेठिक छ, सरकाले जनप्रतिनिधिलाई जनतालाई अवहेलना गरेको छ, त्यसैले हामी यसको विरोध गर्दछौँ’, उहाँले भन्नुभयो ।
सरकारले संवैधानिक व्यवस्थाको समेत ख्याल नगरी विधेयक ल्याएको उहाँले बताउनुभयो । शिक्षकहरू आन्दोलनमा रहेको अवस्थालाई मध्यनजर गरेर बरु चाँडो शिक्षा विधेयक ल्याउनु पर्ने उहाँको राय छ ।
उहाँले सरकारले तत्कालीन आवश्यकताको पहिचान गर्न समेत नरकेको उहाँको आरोप छ । ‘सरकार जनताको समस्या के छ तत्कालको आवश्यकता के हो सरकारको यतातिर पनि ल्याएको छैन, शिक्षकहरू आन्दोलनमा छन्, शिक्षा विधेयक चाँडो ल्याउनको सट्टा अरू काम गर्छ, समितिको काम अगाडि बढाउने कुराको सरकार सुनुवाइ गर्दैन’, उहाँले भन्नुभयो ।
