काठमाडौं । प्रतिनिधि सभामा सत्तारुढ दल नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशमा व्यवस्था बदलियो, अवस्था बदलिएन भनि गरिएको प्रचारमा सत्यता नरहेको बताउनुभयो । ‘देशमा व्यवस्थाहरू धेरै परिवर्तन भए तर जनताको अवस्था जस्तोको तस्तै छ भन्ने भाष्य निर्माण गरिएको छ, के आजभन्दा १५/२० वर्ष अगाडि देशको अवस्था जस्तो थियो आज पनि त्यस्तै छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
लोकतन्त्र स्थापना भए यता देशको विकासले गति लिएको कुरालाई नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘व्यवस्था मात्र होइन, अवस्था पनि परिवर्तन भएको छ, नकारात्मक भाष्य निर्माण नगरौँ’, उहाँले भन्नुभयो ।
सरकार करले, निजी क्षेत्र नाफाले र धार्मिक क्षेत्र दानले चल्ने उहाँले बताउनुभयो । सरकारले व्यापार गर्नु नहुने बनाउँदै उहाँले सरकारले कतै व्यापार गरिरहेको छ भने त्यसबाट हात झिक्नु पर्ने उहाँको धारणा छ ।
