काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले देशमा केही भएको छैन वा भएन भन्नेलाई विगत र वर्तमानमा तुलना गरेर हेर्न आग्रह गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण नगर्न आग्रह गर्नुभयो । आर्थिक विकाससँगै सामाजिक र राजनीतिक स्वतन्त्रताको कुरा पनि त्यतिकै महत्त्व भएको उहाँले बताउनुभयो । ‘सामन्तवादको पाउ मोल्नेलाई गरिबको छोरा राष्ट्रप्रमुख हुँदा चित्त नबुझेको होला’, उहाँले भन्नुभयो ।
राजसंस्था षडयन्त्र नै षडयन्त्रको भण्डार भएको उहाँले बताउनुभयो । यो इतिहासले पुष्टि गरेको कुरा भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले बोल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानबहादुर शाहीले विरोध जनाएपछि पन्तले आफूसँग कुरा गर्ने हो भने इतिहास पढेर आउन शाहीलाई चुनौती दिनुभयो । जुम्लामा हा हो गरेर आएजस्तो विरोध नगर्न पन्तले शाहीलाई चेतावनी दिनुभयो ।
उहाँले राजतन्त्रले नै नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएको बताउनुभयो । गणतन्त्र आएपछि नेपालले आफ्नो नक्सा उल्टाएको उहाँले स्पष्ट पार्नुभयो । ‘तपाईँहरू र्याली निकाल्नु हुन्छ, सबैभन्दा तल देश, त्यस माथि नरेश, त्यस भन्दा पनि माथि योगी र उत्तर प्रदेश’, उहाँले भन्नुभयो ।
नेपाली जनतालाई राजतन्त्र नचाहिएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन, त्यसैले संसद् भित्र राजतन्त्रको विषयमा छलफल गर्न पाइँदैन’, उहाँले भन्नुभयो ।
उहाँले शाह वंशीय राजतन्त्र पुनर्स्थापनाको कुरा गर्ने हो भने मल्ल, लिच्छवि, किराँत र महिसपालको राजतन्त्रको पुनर्स्थापनाको कुरा किन नगर्ने भन्दै प्रश्न गर्नुभयो । राजतन्त्रको देशभक्ति कस्तो थियो भन्ने कुराको इतिहास पढ्न पनि उहाँले आग्रह गर्नुभयो ।
