काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा कार्कीले सरकारले देशका शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्कीले केही दिन यता देश भरी भइरहेका डरलाग्दा घटनाले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताउनुभयो । फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालीगण्डकी नदी, गोकर्णेश्वरको वाग्मती खोला लगायत देशका विभिन्न भागमा १५ जनाको शव फेला परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘केही दिनयता देश भरी भइरहेका डरलाग्दा घटनाहरूले हाम्रो सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीलाई उजागर गरिरहेको छ’, उहाँले भन्नुभयो ।
यी घटनामा प्रहरी हवलदारकै ज्यान गएको देखिएको भन्दै यो निक्कै संवेदनशील विषय भएको बताउनुभयो । यस्ता घटना राष्ट्रिय चिन्ताको विषय भएको उहाँको भनाइ छ ।
कानुनी प्रवर्धनमा ढिलासुस्ती, अनुसन्धानमा कमजोरी रहेका कुरा र कार्यस्थलमा सुरक्षाका मापदण्ड अभाव भएका कुराले धेरै गम्भीर बनाएको उहाँले बताउनुभयो । ‘आर्थिक वर्ष २०७९/८० मा ५ सय १ जनाको हत्या भएको देखिन्छ, त्यसको मतलब हरेक तीन दिनमा ५ जनाको हत्या भइरहेको अवस्था छ’, उहाँले भन्नुभयो ।
