काठमाडौं । प्रतिनिधि सभामा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफूले दिएको अभिव्यक्ति प्रति क्षमा माग्नु भएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले आफूले संसदमा बोलेको कुरा नेपाली कांग्रेस पार्टीको आधिकारिक धारणा नभएको बताउनुभयो । तथापि सो विषले कसैलाई चोट परेको भए आफूले क्षमायाचना गरेको घिमिरेले स्पष्ट पार्नुभयो । ‘यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभा बैठकमा यौन व्यवसाय खुला गरी पर्यटन प्रवर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी माग्नु भएको हो । ‘चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन्, यो धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारिक धारणा पनि होइन’, घिमिरेले भन्नुभयो ।
घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राख्नु भएको थियो । देशको अर्थतन्त्र विकासको लागि यौन व्यवसायलाई खुला गर्नु पर्ने धारणा उहाँले राख्नु भएको थियो । उहाँको यो धारणाको संसद् र पार्टी भित्र पनि आलोचना भएको थियो ।
