काठमाडौं । प्रतिनिधि सभा सदस्य सुनिता बरालले नागरिकको राजनीतिक दल र सरकारसँग धेरै अपेक्षा हुनु स्वाभाविक भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै बरालले अहिले चिया चौतारोदेखि विभिन्न ठाउँमा तिनै नागरिकको अपेक्षासँग खेल्ने गरी विभिन्न खालका निराशा बाँड्ने काम गरिएको बताउनुभयो । नागरिकका भावनालाई सम्बोधन गरेर सरकारले अध्यादेश मार्फत विभिन्न विधेयकहरू ल्याएको बरालले स्पष्ट पार्नुभयो ।
परिणाम ल्याउने गरी सरकारले गर्न लागेको कामलाई राजनीतिक विषय बनाउन नहुने बरालले स्पष्ट पार्नुभयो । ‘हामीले सकारात्मक सन्देश दिन सक्नु पर्छ’, उहाँले भन्नुभयो ।
गालीको होडबाजी गर्ने की सबै मिलेर जनताको समस्या समाधानको लागि काम गर्ने भन्ने कुरा सोच्ने बेला भएको उहाँले बताउनुभयो । जनतालाई निराशा बाँडेर भड्काउने होइन, आशा बाँडेर राष्ट्र निर्माणमा उत्प्रेरित गर्नुपर्नेमा बरालको जोड छ ।
उहाँले अब सरकारको नीति, कार्यक्रम र बजेट बनाउने बेला भएकोले कार्यक्रम बनाउँदा नागरिकको भावना समेट्न सक्ने गरी बनाउनु पर्ने बताउनुभयो । विश्वव्यापी रूपमा बढ्दो वातावरण परिवर्तन, मानसिक स्वास्थ्य लगायतका कुरालाई नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बरालको धारणा छ ।
