काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले साँगादेखि धुलिखेलसम्मको सडकमा धुलो उडेर आँखा हेर्नै नमिल्ने अवस्था भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले निर्माणाधीन सडकमा धुलो उडेको कारण आँखा हेर्न नसक्ने अवस्था बनेको बताउनुभयो । विद्यालय पढ्न जाने बालबालिका घरबाट स्कुल पुग्दा धुलोले चिन्न नसकिने र आँखा नै हेर्न नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले त्यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सडकमा धुलोको कारण दुर्घटनाका घटना बढेका प्रति पनि उहाँले सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । चालकले समेत आँखा नदेख्ने गरी धुलो उड्दा यातायात साधन एक आपसमा ठोक्किने, मोटर साइकल लड्ने लगायतका समस्या भएका बताउँदै उहाँले सो सडकमा कम्तीमा दिनमा दुई पटक पानी हाल्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
