काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरेर कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालनको लागि सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एण्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । ‘हाल अलजजिरा, फ्लाई दुबई, एअर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्, श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको छ, साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैङ्किङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्णक्षमतामा सञ्चालन गर्ने गरी काम भइरहेको छ’, ओलीले भन्नुभयो ।
मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका अस्पताल एवम् स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको पनि उहाँले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोग र युएनएफपिए नेपालको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । लुम्बिनी क्षेत्रको अपार धार्मिक एवम् पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजना अनुसार निर्माण कार्यहरू भइरहेका प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
