काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था कसैको लहड र आक्रोशले नचल्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद् स्वर्णिम वाग्लेले मन्त्रीदेखि खरिदारसम्म राजनीतिक नियुक्ति भएको भन्दै आक्रोश सहित राख्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आक्रोशमा आएर विवेकहीन कुरा नगर्न आग्रह गर्नुभयो । ‘कर्मचारीहरू मैले नियुक्त गरेको होइन, अहिलेको सरकारले हाम्रो मान्छे होइन, राम्रो मान्छेको खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ, यसमा कुनै प्रकारको भेदभाव होइन, गुण दोषका आधारमा मूल्याङ्कन हुने र मेरिटोक्रेसीका आधारमा मानिसलाई जिम्मेवारी दिने परिपाटी छ, त्यो गरिने छ’, उहाँले भन्नुभयो ।
उहाँले वाग्लेलाई आफूले कुन आफ्ना मान्छे कहाँ नियुक्ति गरेँ भन्ने देखाइदिन चुनौती दिनुभयो । ‘आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने आरोप सही छैन, अझ मेरो हकमा भन्नु हुन्छ भने मेरो आफ्नो मान्छे भन्ने कुनै हिसाबले, कुनै पनि प्रकारकाले आफ्नो भन्ने परिभाषाभित्र पर्ने मान्छे एकजना नियुक्त भएको देखाइदिनु भयो भने यहाँलाई मैले धन्यवाद भन्ने छु, सरकार त्यस बाटोमा हिँडेको छैन’, उहाँले भन्नुभयो ।
अहिले देशको परिस्थितिको गम्भीरतालाई बुझेर, त्यस गम्भीरताबाट देशलाई कसरी उकास्ने भनेर सरकार लागेको उहाँले बताउनुभयो । देश अहिलेको सरकार बनेपछि यो अवस्थामा नपुगेको बताउँदै उहाँले कुनै पनि कुरा अतिशयोक्ति ढङ्गले वा बढाइचढाइ वा आधारहीन ढङ्गले गर्नु वाञ्छनीय नहुने स्पष्ट पार्नुभयो । ‘नेपाल पछाडि परेको छ, गरिब छ, त्यसै कारण एलडिसीमा छ, अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ’, उहाँले भन्नुभयो ।
ओलीले देशको विकास, उत्पादन र उत्पादकत्व वृद्धिमा खर्च गर्न र विकासको कामलाई बढी तीव्रता दिनका लागि ऋण लिइएको प्रष्ट पार्नुभयो । ‘केही आयोजनाहरू पहिलेदेखि चलिआएका छन्, जो अधुरो छोड्न मिल्दैन, त्यसलाई चलाउनका लागि ऋणबाहेक अर्को उपाय छैन’, उहाँले भन्नुभयो ।
उहाँले भ्रष्टाचार हुन नपाओस् भन्नका लागि विभिन्न उपायहरू अवलम्बन गरिएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने काममा सरकार लागेको ओलीले जानकारी दिनुभयो ।
कर्मचारीहरूको नियुक्ति लोकसेवा आयोग मार्फत हुने कुरा वाग्लेले स्मरण गराउनुभयो । ‘लोकसेवाले यस अघि पनि त्यसो गरेको थियो भन्ने म मान्दिनँ, अहिले पनि त्यसो गर्छ भन्ने कुरा पनि मान्दिनँ र भविष्यमा पनि लोकसेवाले कुनै सरकारलाई आफ्ना मान्छे भर्ती गर्न सहयोग पुर्याउँछ वा लोकसेवाले भर्ती गरिदिन्छ, निष्पक्ष परीक्षा लिँदैन र पक्षपातपूर्ण तरिकाले पास फेल गर्ने कुरा गर्दैन भन्ने मलाई विश्वास लाग्दैन’, उहाँले भन्नुभयो ।
कानुन विपरीत काम गर्ने कर्मचारीलाई कानुन अनुसार नै कारबाही हुने ओलीले बताउनुभयो । सरकारी संयन्त्रहरूमा हुने सरुवा, बढुवा र नियुक्तिमा नातावाद कृपावाद भयो भन्ने प्रश्नलाई अस्वीकार गर्दै ओलीले त्यो गलत आरोप भएको स्पष्ट पार्नुभयो । यसअघि भएका गलत अभ्यासहरूलाई तोडेर सरकारले मेरिट बेसमा बढुवा र नियुक्तिको काम गरेको उहाँले जानकारी दिनुभयो ।
विकास निर्माणका काममा सरकारको प्रदर्शन राम्रो नभएको भन्नेलाई गतवर्ष र यस वर्षको कामको रफ्तारलाई तुलना गर्न उहाँले अनुरोध गर्नुभयो । ‘कामहरूको तुलना गरेर यस्ता प्रश्न आएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ र प्रश्नहरू यथार्थमा आधारित भए राम्रो हुन्थ्यो, यथार्थमा आधारित नहुँदा जवाफ दिँदा होइन भन्नु पर्यो, कस्तो नमज्जा लाग्छ भने माननीयजीले भनेको कुरा गलत भनेपछि गलत भन्नु प¥यो, होइन भन्न नपरे हुन्थ्यो जस्तो लाग्छ, प्रश्न, प्रश्नको रूपमा आइदिए जवाफ दिन सजिलो हुन्थ्यो, आरोपको रूपमा आएपछि खण्डन गर्ने बाध्यता आइलाग्छ’, उहाँले भन्नुभयो ।
संसारका शक्तिशाली र ठूला भनिएका देशले पनि ऋण लिने बताउँदै ओलीले ऋण केका लागि लिने भन्ने कुरा प्रमुख हुने बताउनुभयो । ‘हामीले उत्पादन मूलक क्षेत्रमा, त्यही पनि उत्पादन र उत्पादकत्व वृद्धिको क्षेत्रमा कहीँ उद्यमशीलताको विकासको सन्दर्भमा, कहीँ पूर्वाधारको विकासको सन्दर्भमा, जसले राष्ट्रको विकासको काममा तीव्र प्रतिफल दिन्छ, तीव्र मद्दत पुर्याउँछ, त्यस्तो ठाउँमा ऋण लिइएको छ र अरूले पनि ऋण लिन्छन्’, ओलीले भन्नुभयो ।
उद्योगी व्यवसायीहरू अहिलेको सरकार आएपछि हतोत्साहित छन् भन्ने कुरामा सो क्षेत्रका मानिसहरूसँगै बुझ्न उहाँले आग्रह गर्नुभयो । ‘पहिलेको सरकार हुँदा उद्योगी व्यवसायी के भन्थे र अहिलेको सरकार आएपछि के भन्न थालेका छन्, यसो पत्रपत्रिका सञ्चार माध्यम हेरे पनि हुन्थ्यो, उहाँहरूकै सार्वजनिक बाइटहरु हेर्न र सुन्न म आग्रह गर्न चाहन्छु, उहाँहरू के भनिरहनु भएको छ यथार्थमा’, ओलीले भन्नुभयो ।
