काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई हटाएको विरोधमा बुधबार प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।
बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए पछि आकस्मिक समयमा सभामुख देवराज घिमिरेले माओवादीका सांसद् शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनु भएको थियो । सो क्रममा बस्नेतले सरकारले घिसिङलाई हटाएर गलत काम गरेको बताउनुभयो ।
उहाँले घिसिङ माथिको कारबाही फिर्ता नहुँदासम्म संसद् बैठक अघि बढ्न नसक्ने जानकारी दिनुभयो । यस विषयमा सरकारको स्पष्टीकरण आउनु पर्ने माग पनि उहाँको थियो ।
पटक पटक बसेर बैठक अघि बढाउन सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षीले उठेर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको छ ।
