काठमाडौं । प्रतिनिधि सभा बैठक पुनः स्थगित भएको छ ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि आधा घण्टाको लागि स्थगित गरिएको थियो । स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
प्रतिनिधि सभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ । त्यसैले दुई घण्टा पुग्न केही मिनेट बाँकी हुँदा आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो । उहाँले बैठक सञ्चालनको लागि सहयोग गर्न बारम्बार प्रतिपक्षी सांसदहरूलाई आग्रह गर्नुभएको थियो । तर उहाँहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाउनु भएको छ ।
