काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा आज प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा प्रतिपक्षीले बुधबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका थिए । अवरुद्ध भएको बैठक आज बिहानको लागि बोलाइएको हो ।
