काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
आइतबार बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची पनि रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रस्तुत गर्ने आजको कार्यसूची छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
प्रतिपक्षीका अवराेधका कारण यस अघिका बैठक सञ्चालन हुन सकेका छैनन् ।
