काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कूलमान घिसिङलाई हटाउनको कारण बारे प्रधानमन्त्री संसदमा जवाफ दिनु पर्ने माग गर्दै प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका थिए ।
ओलीले शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङको बर्खास्ती लगायत विषयमा संसद्लाई सम्बोधन गर्ने कार्यसूची छ ।
आजको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक( २)८)’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि रहेको छ । पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ पनि आजै पेस गर्ने कार्यसूची छ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ प्रस्तुत गर्नुहुने छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची बैठकमा रहेको छ ।
गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
