काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरुलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई नभएको बताउनुभएकाे छ । सोमबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उहाँले समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मच्चाउने, आगजनी गर्नेहरुलाई बल पुग्ने गरि गणतन्त्रको संसदले कोही कसैलाई पनि अनुमती नदिएको भन्दै यस्तो विरुद्धमा उभिने बताउनुभयाे । उहाँले भन्नुभयाे , ‘संसदलाई संविधानको विरुद्धमा, संसदले पारित गरेको नियमको विरुद्धमा जाने छुट छैन् । समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मचाउने, आगजनी गर्नेहरुलाई बल पुग्नेगरि संसदले कोही कसैलाई पनि अनुमती दिदैँन् । त्यसप्रकारका क्रियाकलापहरु राजावादी हुँ भनेकै आधारमा गणतन्त्रवादीहरुलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन् । यस्तो कतैबाट हुन्छ भने त्यस विरुद्धमा हामी उभिन्छौ ।’
यसको साथै, प्रधानमन्त्रीले बोल्दैगर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमती लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमती संसदको नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गर्नुभएकाे छ । उहाँले भन्नुभयाे , ‘यो हाउस सभामुखको अनुमतीमा चलिरहेको थियो । तर लगातार व्यवस्था, संविधान र संसदले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरु योभन्दा अगाडि पनि भइरहेका थिए । तर आजको बैठकमा प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रमलाई अवरोध हुने गरि प्रतिपक्षको तर्फबाट केही सांसदहरुबाट अवरोध सिर्जना भयो । त्यो अवरोध थियो र संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो । सभामुखको अनुमती लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमती यो संसदको नियमावलीले कहाँबाट दियो ।’
