काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गतेको घटनामा कांग्रेस सहमहामन्त्रीको छोरा संलग्न भएको भनि दिएको अभिव्यक्तिलाई पुष्टि गर्न नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले चुनौती दिनुभएको छ ।
चैत १५ गते राजावादीको प्रदर्शनमा रक्सी चोर्ने कांग्रेस सहमहामन्त्रीका छोरा भएको लिङ्देनले प्रतिनिधि सभा बैठकमा अभिव्यक्ति दिनुभएको थियो । घिमिरेले त्यसको फुटेज समेत रहेको राजेन्द्रले भनेकाले ती कुन सहमहामन्त्रीका छोरा हुन् प्रमाण देखाउन चुनौती दिनुभएको छ । ‘कुनचाहिँ सहमहामन्त्रीको कुनचाहिँ छोराले रक्सीको बोतल लिएर हिँडेको हो, त्यो प्रमाणित गर्नुपर्छ, होइन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ, उहाँले क्षमायाचना गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
एउटा पार्टीको केन्द्रीय अध्यक्षले झुटा आरोप लगाएर आफ्नो गरिमा घटाउन नहुने उहाँले बताउनुभयो । राजेन्द्रले त्यो प्रमाणित गर्न नसके उहाँले बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु पर्ने उहाँको माग छ । कुनै पार्टी र व्यक्तिलाई झुटा लाञ्छना लगाउन नमिल्ने उहाँले बताउनुभयो ।
