काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले देश निर्माणको लागि बन्दै गरेको वातावरण बिथोल्ने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले मुलुकमा अराजकता निम्त्याएर जनताको विकास, सुशासन र समृद्धिका अपेक्षालाई असफल बनाउने खेल भइरहेका बताउनुभयो । वर्तमान सरकार देशमा विकास र सुशासनका निम्ति बनेको उहाँले स्पष्ट पार्नुभयो । ‘गठबन्धन सरकार मुलुकको आवश्यकता र जनताको आवश्यकताले बनेको हो’, उहाँले भन्नुभयो ।
सरकार बन्ने बित्तिकै ढल्छ भनि फैलाइने हल्लाले जनतामा निराशा र कर्मचारीमा काम गर्ने मनोबल घट्ने उहाँले बताउनुभयो । यसले निजी क्षेत्रलाई पनि प्रभावित पार्ने गिरीको धारणा छ । अहिलेको दुई ठुला दलको मजबुत सरकार ढल्छ भनेर प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रधानमन्त्री भइसकेका व्यक्तिले भ्रम फिँजाउनु दुर्भाग्य भएको उहाँको धारणा छ ।
विगतमा उधारोमा सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारको चरित्रको कारण आज शिक्षक आन्दोलन यो अवस्थामा आएको उहाँले बताउनुभयो । सहमति कार्यान्वयनको कुरामा सबै इमानदार हुनुपर्ने र शिक्षकका स्वाभाविक मागलाई सम्बोधन गर्नुपर्ने गिरीको धारणा छ । शिक्षक आन्दोलनलाई राजनीतिका रोटी सक्ने काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
विगतमा सबैभन्दा धेरै शिक्षा मन्त्रालय माओवादीले सम्हालेको बताउँदै उहाँले अहिले आएर नयाँ सरकारको कारण शिक्षकका माग सम्बोधन हुन नसकेका भनि माओवादीले भ्रम फिँजाएको उहाँले बताउनुभयो । यो यथार्थलाई बुझ्न गिरीले सबैलाई आग्रह गर्नुभयो ।
