काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले धितोपत्र बोर्डले आइपिओको अनुमतिमा कमिसन मागेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यसमा माओवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । बोर्डका कारण ८९ वटा कम्पनीका आइपिओको अनुमति रोकिएको उहाँले बताउनुभयो । ‘धितोपत्र बोर्डले खुला खुला कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ, म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु’, उहाँले भन्नुभयो ।
यो विषयमा संयन्त्र बनाइ छानबिन गर्न उहाँले माग गर्नुभयो । यस विषयमा सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उहाँको माग छ । ‘यो विषयमाथि भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न पर्याे’,उहाँले भन्नुभयो ।
उहाँले यसले जलविद्युत क्षेत्रका लगानीकर्तालाई हतोत्साहित गरेको बताउनुभयो । सापकोटाले यसबाट सरकारमा बिचौलियाको हालीमुहाली भएको पुष्टि भएको पनि बताउनुभयो ।
