नेपाललाई अगाडि बढाउने हो भने नकारात्मक प्रवृत्तिहरुलाई जरैबाट हटाउन आवश्यक छ । विरोध गर्ने शैली पनि परिवर्तन गर्न आवश्यक छ । हाम्रोमा गुण दोषका आधारमा नभएर आग्रह पूर्वाग्रह राखेर विरोध गर्ने गरिएको छ । दुराग्रह नेपाली समाजको अभिन्न अंग बन्दै गएको देखिन्छ । घृणा र विद्धेषमा रमाउने बानी समाजलाई लगाउन खोजिएको देखिन्छ । यो प्रवृत्तिमा सुधार गर्न सकिएन भने नेपाली समाज तिव्र गतिसाथ अगाडि बढ्न सक्दैन ।
अहिले दुई तिहाइ बहुमतको सरकार छ, तर सरकार कहाँ छ ? भन्दै प्रश्न उठाउनेहरु देखिन्छन् । सरकारको विरोध गरेको हो कि समग्र लोकतन्त्र र संसदीय प्रणालीको विरोध गरेको हो भन्ने बुझ्न नसकिने शैलीमा विरोध भएको देखिन्छ । सरकारले समृद्धिको रेखा कोरिरहेको छ, सरकारले यथासक्य प्रयास गरेर देशलाई सुधारको बाटोमा अगाडि बढाउन खोजिरहेको छ, विकासले गति लिन थालेको देखिँदै छ । तर, केही पनि भएन, केही पनि गरेन, सरकार नै देखिएन भन्ने ढंगको विरोध र प्रचार सुनियोजित रुपमा भइरहेको छ ।
यस्तो विरोध समाजको तल्लो वर्गबाट आइरहेको छैन, मध्यमवर्गबाट पनि आइरहेको छैन, खासखास वर्गबाट आएको देखिन्छ । भ्रम फैलाउने एउटा वर्ग नै सिर्जना गरिएको देखिन्छ । समाजमा कसरी घृणा फैलाइँदैछ, कसरी नकारात्मक कुरा फैलाइँदैछ, कसरी तथ्य छोपेर झुठ फैलाइँदैछ भन्ने अनेक उदाहरण देख्न सकिन्छ । जस्तो कि निर्मला पन्त हत्या प्रकरण ।
१३ वर्षकी निर्मल पन्तको हत्याबलात्कार गरियो । यो जघन्य अपराधको विरोध नगर्ने मानिस हुँदैनन्, यस्ता घटनाले समाजकै मन रुन्छ । यस्तो अपराधमा पनि राजनीति गरिन्छ ।
राजनीति कस्तो खालको गरियो भन्ने विषयमा अलिकति व्याख्या गरौं ।
जसरी निर्मलाको बलात्कारपछि हत्या भयो, यस्तो अपराध नेपालमा पहिलो होइन । यस्तो अपराध अन्तिम हो र अन्तिम नै बनोस् भनी कामना गरौं तर हाम्रो कामना शायदै पूरा होला । भविष्यमा पनि यस्ता घृणित अपराध हुनसक्छ ।
घृणित अपराधमाथि घृणित राजनीति गरिएको छ । मानौं यो सरकारले नै बलात्कार र हत्या गरेको हो भने जसरी प्रचार गरिएको छ, आरोप लगाइएको छ । सरकारले नै अपराधीलाई बचाउन खोजेको छ भन्ने आरोप लगाउने गरिएको छ । त्यस्ता घृणित अपराधीलाई सरकारले किन जोगाउन खाजेको हो ? जोगाएर सरकारलाई के फाइदा हुन्छ ? यस्ता प्रश्नको जवाफ चाहिँ आरोप लगाउनेहरुले दिन सक्दैनन् ।
निर्मलाको हत्यारा पत्ता लगाउन सरकारले भरमग्दुर प्रयास गरिरहेको देखिन्छ तर अनुसन्धान नै अगाडि बढाउन नसक्ने गरी राजनीति गरिँदैछ । प्रहरीको अनुसन्धानको दायरामा परेकाहरु सबैलाई निर्दाेष हुन् भनी प्रचार गरिन्छ र निर्दाेषलाई फसाउन खोज्यो भन्दै आन्दोलन समेत गराइन्छ ।
हत्यामा वम दिदी बहिनीको कुनै भूमिका छैन भन्ने अनुसन्धानबाट स्पष्ट भइसक्यो तर उनीहरुलाई नै दोषी बनाउने गरी सुनियोजित प्रचार अभियान चलाइरहेको छ । त्यसरी प्रचार अभियान चलाउनेहरुले अनुसन्धानलाई गलत बाटोमा धकेल्ने, सहि बाटोमा जान नदिने र वास्तविक अपराधी पक्राउ पर्न नदिने नियत त राखेका होइनन् ? प्रश्न उठ्छ ।
अनुसन्धान फितलो देखेपछि सरकाले प्रहरीका सई, ईन्स्पेक्टर र डीएसपीलाई निलम्बन र बर्खास्त समेत गर्यो । शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरियो । विभिन्न तरिकाले अनुसन्धान भइरहेको छ । सबै चाहन्छन् तत्काल अपराधी पक्राउ परोस् । तैपनि अपराधी पक्राउ परेको छैन । तत्काल अपराधी पक्राउ परेन भन्दैमा कहिल्यै पक्राउ पर्दैन भन्नु अपराधीको मनोबल बढाइदिनु हो । विगतमा भएका कैयन घटनाका अपराधी अहिलेसम्म पक्राउ परेका छैनन् अनि कैयन घटनाका अपराधी वर्षाैपछि पनि पक्राउ परेका छन् ।
निर्मलाका हत्यारा पानी भित्र लुके पनि, जमिन भित्र भासिए पनि अवश्य पक्राउ पर्नेछ । बरु, हामीले खबरदारी सही तरिकाले गरौं, अनुसन्धानलाई गलत मोड दिन भइरहेको राजनीतिमा नफसौं ।
अहिलेको अर्काे चर्चित प्रसंग छ डाक्टर गोविन्द केसीको । केसीको राजनीतिक पृष्ठभूमि आफ्नै ठाउँमा होला, राजनीतिक विचार पनि आफ्नै ठाउँमा होला तर चिकित्सा शिक्षा सम्वन्धमा उनले उठाएका मुद्दाहरु देशका लागि राम्रै हुन् भन्ने जनतामा परेको थियो । कतिपय चाहिँ भ्रम पनि फैलाइएका थिए । जस्तो कि उनको माग पूरा भयो भने गरिब नेपालीको भलो हुन्छ, गरिबले पनि डाक्टर बन्न पाउँछन् भनेजसरी प्रचार गरियो । केसीले चिकित्सा शिक्षालाई सस्तो बनाउन मात्र खोजेका हुन्, निशुल्क बनाउन खोजेका होइनन् भन्ने तथ्यलाई ढाकछोप गरियो । केसीको माग पूरा गरियो भने देशमा तत्क्षण विकासको क्रान्ति हुनेछ भनेजसरी भ्रामक प्रचार गरिएको पनि देखियो ।
केसी डाक्टरसाबले चिकित्सा शिक्षाको व्यापारलाई आफूले भने जसरी व्यवस्थित गर्नुपर्छ भनेका हुन् । तर, संसदले पारित गरेको विधेयक हरेक कोणबाट केसीले राखेका मागभन्दा अग्रगामी र गरिबमुखी छ । जनताले यो कुरा छर्लंग देखिसकेका छन्, बुझिसकेका छन् ।
केसीले उठाउन नचाहेका विषयहरुमा समेत विधेयक प्रवेश गरेको छ । यसर्थ संसदलाई धन्यवाद दिएर केसीले अनसन तोडेका थिए भने राम्रो हुने थियो । तर, धन्यवाद नदिई अनसन अन्त्य गरेका छन् । जे भए पनि विधेयकमा केसीको ठूलो योगदान छ र अन्तत संसदको निर्णय स्वीकार गर्नु सकारात्मक विषय हो ।
वास्तवमा पारित विधेयकका अक्षर हेरेर मात्र हुँदैन, उद्देश्य र भावना पनि हेर्नुपर्ने हुन्छ । विधेयकको उद्देश्य र मनसाय पवित्र छ, विधेयक प्रभावकारी छ । जनप्रतिनिधिहरुको संस्था संसदको बहुमतले जनताको अहित हुने काम कसरी गर्न सक्छ ? सक्दैन । यद्यपि केसीले सोह्रौं अनसन तोडेर सार्वभौम संसदको सम्मान नै गरेका छन् । त्यसका लागि उनलाई हार्दिक बधाई पनि छ ।
पारित भएको विधेयकले सम्पूर्ण पछाडि परेका समुदायको सिट संख्या तोकेको छ, सिट संख्याको आधारमा ७५.५ छात्रवृत्ति व्यवस्था गरेको छ । सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएको प्रदेशमा ऐन कार्यान्वयन भएको पाँच वर्षभित्र सरकारले एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नु पर्ने व्यवस्था गरेको छ । निशुल्क वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले सरकारले खटाएको सुगम र दुर्गममा एकएक वर्ष काम गर्न पर्ने व्यवस्था छ । तीनसय शैय्याको अस्पतालको स्वीकृति लिई र तीन वर्ष सञ्चालन नगरेको भए या आयोगले तोकेको मापदण्ड पूरा नगरे सम्बन्धन खारेज गर्न सकिने व्यवस्था छ । प्रवेश परिक्षा उत्तिर्ण गरेर पनि अध्ययन गर्न नस्क्नेका लागि ऋृण दिने र शुल्क पनि किस्ताबन्दीमा तिर्नसक्ने व्यवस्था छ । दस वर्षभित्र शिक्षण संस्था गैरनाफामूलक र गुणस्तरीय बनाउने लक्ष लिएको छ । के यी विषयहरु चिकित्सा क्षेत्रका अहितमा छन ? केसीले उठाएका मुद्दाहरुका साथमा धेरै विषय थपेर चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।
अहिले देशमा घृणा र नकारात्मक भावनाको लहर चलाउन खोजिएको छ । जसो गरे पनि सरकारको विरोध मात्र गर्नुपर्छ, सरकारले जे काम गरे पनि खोट मात्र देखाउनुपर्छ भन्ने प्रवृत्ति विकास गराउन खोजिँदैछ । तथ्य नहेरी भावनामा बगेर सरकारको विरोध गर्न सिकाइँदैछ । विरोध या समर्थन जे गर्ने हो अध्ययन र विश्लेषणका आधारमा गर्नुपर्छ, पूर्वाग्रही भएर होइन ।
संघियताको पहिलो पटक अभ्यास गर्दै गर्दा सरकारका अगाडि निकै ठूलो चुनौतिको पहाड उभिएको थियो । त्यहि चुनौतिको पहाडलाई अहिले छिचोल्दै छ सरकार । यो सरकार बन्नुभन्दा पहिले मुलुक अस्थिर राजनीतिको चपेटामा थियो । अर्थतन्त्र सहि बाटोमा हिँडेको थिएन, वित्तिय अराजकता थियो । यी सबै परिस्थितिलाई समाधान गर्दै सरकार अगाडि बढिरहेको छ भन्ने तथ्य उपर आँखा चिम्म गर्न मिल्दैन ।
कानुन निर्माण गर्ने, तीनवटै तह (केन्द्र, प्रदेश र स्थानिय)का भौतिक तथा प्रशासनिक संरचना तयार गर्ने काम जटिल नै हो । यी कामहरू लगभग सम्पन्नताको चरणमा पुगेको तथ्य नदेखे झैं गर्न मिल्छ र ? नेपालको अन्तराष्ट्रिय छवी सुधारिएको छ, विश्वसँगको सम्बन्ध सुदृढ भएको छ । छिमेकी देश चीन र भारतसँग रेलमार्ग र जलमार्ग सञ्चालन गर्ने प्रकृयामा मुलुक प्रवेश गरेको छ । हो, रेलमार्ग र जलमार्ग बन्न समय लाग्छ तर यी काम गर्न प्रकृयामा प्रवेश गर्नुपर्ने हुन्छ । मुलुक त्यस्तो प्रकृयामा प्रवेश गरिसकेको छ र आगामी दिनमा भौतिक कार्य पनि अगाडि बढ्नेमा विश्वश्त हुन सकिन्छ ।
केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न बिश्व आर्थिक मञ्चमा नेपालको विकासको अवस्थाबारे विश्वलाई जानकारी दिने काम भएको छ । नेपालसँग समृद्धिका लागि एकछिन पनि पर्खने समय नभएको विचार राख्दै विश्व समुदायलाई नेपालमा ढुक्कसँग लगानी गर्न आव्हान प्रधानमन्त्रीबाट भयो ।
चैत महिनामा नेपालले लगानी सम्मेलन पनि गर्दैछ । सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई तिब्र गतिका साथ अगाडि बढाएको छ । अन्तराष्ट्रिय विमानस्थलहरुको निर्माण कार्यलाई उत्तिकै महत्व दिएको छ । राजस्व संकलनमा भएको वृद्धि ऐतिहासिक छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, तुइनहरु विस्थापन लगायतका अनेक काम सरकारले गरेको छ र आगामी दिनमा पनि गर्दै जानेछ । त्यसैले देशमा निरासाको वातावरण नफैलाऔं, भइरहेका कामप्रति नकारात्मक नबनौं ।
नेपालमा नकारात्मक कुरा चाँडो फैलने गरेको छ । विगत लामो समय हामी द्धन्दमा फस्यौं, त्यसपछि संक्रमणकाल पनि अत्यन्त कठिन रुपमा गुजार्यौं । अहिले देश सहज अवस्थामा आइपुगेको छ । हामीसँग गर्व गर्न लायक, संविधान छ, बहुमतको सरकार छ। अनि किन निरास हुने ? किन नकारात्मक हुने ? दस वर्ष या पाँच वर्ष अघिका दिनहरु सम्झौं, त्यसबेला हामी कति निरीह बनेका थियौं, कति निरास थियौं ? अनि आजको दिन हेरौं, आज शान्ति र स्थिरता छ । सबैभन्दा मुख्य कुरा भविष्यका ढोकाहरु शानदार रुपमा हाम्रा लागि खुला छ ।
आउनुस्, हासेर अगाडि बढौं, मिलेर अगाडि बढौं, उत्साह र उमंगसाथ अगाडि बढौं, सकारात्मक भएर अगाडि बढौं ।
