सन् १८५७ मा अमेरिकाको न्यूयोर्कमा कपडा कारखानाबाट महिला मजदूरले आन्दोलन थाले । मूलत यो महिला आन्दोलन थियो । आन्दोलनका विभिन्न माग थिए तथापि मूल माग ‘समान कामको समान ज्याला’ थियो ।
त्यसबेला दैनिक १८ घण्टा भन्दा बढी समय काममा लगाइन्थ्यो । एउटै काममा पुरुषलाई भन्दा महिलालाई थोरै ज्याला दिइन्थ्यो ।
न्याय र समानताका लागि विभिन्न माग राखेर श्रमिक महिलाहरु सडकमा उत्रन थाले । त्यसपछि महिला आन्दोलन संगठित बन्दै गयो । खासगरी यूरोप र अमेरिकामा महिला आन्दोलन व्यापक बन्दै गयो । यूरोपको महिला आन्दोलनको नेतृत्व क्लारा जेट्किनले गरेकी थिइन् । उनी आधुनिक विश्वकी पहिलो महिला हुन जसले यस्ता मागमा यसरी महिला आन्दोनको नेतृत्व गरिन् ।
सन १९०६ मा सामाजिक अभियान्ता महिलाहरुको अन्तराष्ट्रिय सम्मेलन गरियो । त्यसको सेक्रेटरी क्लारा भइन् । सन १९०८ को ८ मार्चमा अमेरिकामा महिलाहरुले मताधिकारको माग गर्दै जुलुस प्रर्दशन गरे । यसै दिन सिकागो शहरमा महिलाहरुले समान अधिकारको माग राखेर हड्ताल गरे, जुलुस निकाले ।
अमेरिकामा महिला मजदूरको आन्दोलन निरन्तर रह्यो । कहिले आन्दोलन चर्कियो, कहिले सुस्त भयो । जसो भए पनि समाजमा आन्दोलनले गहिरो छाप पार्यो । चेतना विस्तार गर्यो ।
१९०९ मा न्यूयोर्कका गार्मेन्ट कारखानाहरुका महिला मजदुरले समान काम र ज्यालाका लागि आन्दोलन गरे, कारखाना व्यवस्थापनले महिला मजदूरहरुलाई निष्कासन गर्यो । फलत आन्दोलन अझ चर्कियो । पहिलाभन्दा ठूलो संख्यामा महिलाहरू ट्रेड यूनियनमा संगठित हुन थाले । हडताल भयो । यो हडताल इतिहासमा “महान उथलपुथल” को नामबाट चर्चित छ ।
महिला आन्दोलन र ट्रेड यूनियन आन्दोलन अविभाज्य रुपमा अगाडि बढ्दै गयो ।
सन् १९१० मा १७ देशका १०० जना समाजवादी महिलाहरूको बीचमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पत्र भयो । यस सम्मेलनमा क्लाराले महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाहरूले ८ मार्चलाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउन राखिन् । प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
नारी दिवस भने पनि भयो, महिला दिवस भने पनि भयो । महिला दिवस फैलँदै गयो । सानो सभा हलबाट सुरु भएको नारी दिवस विभिन्न देशमा फैलन थाल्यो । नारी दिवस विभिन्न देशमा महिला अधिकार आन्दोलनको प्रतीक बन्न थाल्यो ।
नारीे दिवस मनाउन थालिएको १०९ वर्ष भएको छ ।
नेपालमा महिला आन्दोलन
१८५७ मा अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक महिला मजदूर आन्दोलन हुँदै गर्दा नेपालको छिमेकी भारतमा सिपाही विद्रोह हुँदै थियो । विद्रोहमा वेलायती शासकहरु विरुद्ध उभिने अग्रणी योद्धा थिइन् रानी लक्ष्मी वाई । उनको वीरता र सौर्य इतिहासमा प्रसिद्ध छ । उनकाे छाप पनि नेपाली महिलामा परेकाे छ । लखनउ विद्राेहकी एक रानी हजरत महल भागेर नेपाल आएकी थिइन् र यहिँ जीवन बिताइन् ।
नेपाली परिवेशकी पहिलो महिला आन्दोलनकर्मी भनेर योगमाया न्यौपानेलाई भन्ने गरिन्छ । उनले आफ्नै जीवनको अनेक भोगाईबाट प्रेरित भएर महिला आन्दोलन थालनी गरेकी थिइन् । योगमायाले एक ढंगले आन्दोलन गरिन् । पछि अर्काे ढंगले विराटनगरकी दिव्या कोइराल अगाडि सरिन् । दिव्याले जुलुस निकालेको पाइन्छ । काठमाण्डौमा महिला अधिकारका लागि सहाना प्रधान, साधना प्रधान र मंगलादेवी सिंह लगायतले महिलाले पनि मताधिकार पाउनुपर्ने माग गर्दै राणा शासक समक्ष डेलिगेशन गएका थिए । त्यसबेला राणा शासकहरुले काठमाडौंमा स्थानीय चुनाव गराउन लागेका थिए ।
नेपालमा ८ मार्च को सन्दर्भ
नारी दिवस या महिला दिवस नेपालमा पहिलो पटक २०१७ सालमा धनकुटाका शिक्षिकाहरूले मनाउन थालेका थिए । २०३५/३६ को विद्यार्थी आन्दोलनपछि मात्र श्रमजीवी महिला बीचमा यो दिवस खुला रुपमा मनाउन सुरु भयो । २०४६ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरू, महिलाको समान अधिकारमा विश्वास गर्ने ट्रेड युनियनहरू र श्रमिक महिलाहरूले यो दिवस मनाउँदै आइरहेका छन् ।
नेपालमा अरु देश भन्दा ६५ वर्ष पछि यो दिवस मनाउन थालिएको हो ।
न्याय र समानताका लागि विश्वभरका महिलाहरूले ८ मार्चलाई श्रमिक महिलाहरूको अधिकारको आन्दोलनको गौरवगाथा बोकेको दिनको रूपमा स्मरण गर्दै आइरहेका छन् ।
नेपालमा ०४७ सालको संविधानले महिला अधिकारलाई सचेत ढंगले संस्थागत गर्यो तर त्यो पर्याप्त थिएन । ०६३ पछि प्रतिनिधिसभा घोषणापत्रले राज्यका राजनीतिक निकायहरुमा ३३ प्रतिशत महिला उपस्थितिको निर्णय गर्यो । पछि अन्तरिम संविधानमा त्यसलाई संस्थागत गरियो ।
वर्तमान संविधानले महिला प्रतिनिधित्व, अधिकार र समानतालाई झनै संस्थागत गरेको छ । अब संविधान अनुसारको कानूनहरु निर्माण गर्ने र त्यसलाई व्यवहारमा उतार्ने काम भने बाँकी नै छ ।
नेपाली महिलाहरुको उत्थान तिब्र गतिमा भइरहेको छ । महिलाको अवस्थामा सुधार भएको छैन, केही पनि भएको छैन, केही अधिकार पाइएको छैन भन्ने नकारात्मक कुरा मात्र गरेर हुँदैन । अवस्थामा व्यापक सुधार आएको छ ।
हो, सुधारको खाँचो छ, समाजको सबैभन्दा तल्लो तहमा रहेका महिलाहरुको जीवन परिवर्तन हुनुपर्ने गतिमा भइरहेको छैन । दलित र सीमान्तकृत समुदायका महिलाको अवस्था फेरिनुपर्ने गतिमा फेरिएको छैन । यति हुँदा हुँदै पनि नेपाली महिलाको अवस्था विगतको तुलनामा निरन्तर सुधार हुँदै गएको छ ।
रुढीवादी सामाजिक मूल्यमान्यता र छुवाछूत न्यून हुँदै गइरहेको छ । सम्पत्तिमाथि महिलाको अधिकार स्थापित गर्ने काम भने पर्याप्त हुन सकिरहेको छैन ।
उज्यालो भविष्य
नेपालमा जुन रफ्तारमा महिलाको अवस्थामा सुधार आएको छ त्यो विश्वका लागि नै उदाहरणीय छ, खासगरी राजनीतिक प्रतिनिधित्वको सवालमा ।
महिला मैत्री कानूनहरु बन्ने क्रममा छ, संविधानले अधिकार संस्थागत गरिदिएको छ । पितृ सतात्मक रुढीवादी मान्यताहरु धरासायी हुँदैछ । संविधान र कानून कति फेरियो भन्नेले मात्र सबै चिज निर्धारण गर्दैन, सामाजिक मान्यता कति फेरियो भन्ने पनि निर्णायक हुन्छ । सामाजिक मान्यता फेरिँदैछ ।
नेपाली महिलाको भविष्य उज्जवल छ । आशावादी बनौं, विश्वाश गरौं र हातेमालो गरेर अगाडि बढौं ।
( लेखिका प्रतिनिधि सभा सदस्य हुन् । )
