नेकपाका अध्यक्ष तथा पूर्व प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोइङ विमानमा शायदै निदाए होलान् । दुईटा कारणले निदाएन्, विमानको यात्रामा मस्तसँग निदाउन गाह्रै हुन्छ । अर्काे कारण– विमानमा जुन भूमि टेक्न उनी जाँदै थिए, त्यो भूमिमा टेक्न सजिलो थिएन ।
त्यो भूमि अर्थात्, अमेरिका ।
नेकपाका अध्यक्षका रुपमा नभएर तत्कालीन जनयुद्धकारी माओवादीका अध्यक्षका रुपमा प्रचण्डको अतितलाई नियालौं अनि अमेरिका भन्ने देशको राजनीति र रणनीति नियालौं । अमेरिकाकै अघोषित आतिथ्यमा प्रचण्डको अमेरिका यात्रा कम विष्मयकारी होइन ।
प्रचण्ड यसकारण पनि निदाएनन् कि उनले पक्कै नेपाली सेनाका कर्णेल कुमार लामालाई सम्झिए । अष्ट्रेलिया उड्न ठिक्क परेको बेला यात्रा रद्द गर्नुपरेको पनि पक्कै सम्झिए ।
‘षड्यन्त्र नै राजनीति हो, र नेपाली राजनीति नै षड्यन्त्र हो’– धेरै नेपालीले बोल्ने वाक्य हो यो । नबोल्नेहरुले पनि राजनीति र षडयन्त्रलाई एकै सिक्काको दुई पाटा ठान्छन् । विमान उडानको अवधीभरी प्रचण्डको मनमष्तिष्कमा यो वाक्य फनफनी नाच्यो होला ।
खैर, जे होस्, १२ वर्ष पूरा भएछ प्रचण्डले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा पाइला चालेको । यसबीचमा धेरै कुरा बदलियो । उनी जनयुद्धकालिन माओवादीको कमाण्डरबाट शान्तिपूर्ण माओवादीको पार्टी अध्यक्ष हुँदै अहिले सत्तासीन नेकपाको एक अध्यक्ष छन् ।
तिनै प्रचण्ड, जो राज्यसत्तामा एकलौटी पकड राख्न चाहन्थे, अहिले पार्टीको अध्यक्ष समेत बाँडिचुडि खाने अवस्थामा आइपुगे ।
उनलाई भाग्यले पनि साथ दिएन । प्रचण्डको विरासत धान्न सक्ने भनिएका उनका एकमात्र पुत्र प्रकाश दाहालको पनि निधन भयो । सुपुत्री ज्ञानु दहालको पनि निधन भयो । श्रीमती सीता दहाल पनि अस्वस्थ भएपछि देश–विदेश धाइराख्नुपरेको छ ।
पारिवारिक वेदना भोगेपछि एउटा व्यक्ति विचलित हुनु स्वभाविक नै हो । मानविय पक्षले हेर्ने हो भने, आदर्श परिवारको आदर्श अभिभावक हुन् प्रचण्ड ।
तर हालैको अमेरिका भ्रमण भने प्रचण्डको अभिभावकत्व र राजनीतिक ‘इन्ट्रेस्ट’ दुवैसँग गासिएको छ । अभिभावकत्व किन हो भने, पत्नी सीता बिरामी छिन् । उनलाई राम्रै ठाउँको राम्रै अस्पतालको राम्रै चिकित्सकको जाँच आवश्यक छ । यसैका लागि वाल्टिमोरको जोन्स् हप्किन्स् अस्पताल पुगे । एउटी श्रीमतीका लागि श्रीमानले गर्नुपर्ने कत्र्तव्य पालना गरे ।
र जहाँसम्म राजनीतिक ‘इन्ट्रेस्ट’को कुरा छ, त्यसमा पनि प्रचण्ड उत्तिर्ण भएकै हुन् । किनकी यो, उनको पहिलो अमेरिका भ्रमण हो । हुनत पहिलो चोटि प्रधानमन्त्री हुँदा सन् २००८ मा उनी अमेरिका नगएका होइनन्, तर त्यसबेला उनी ‘अमेरिका भ्रमण’ भनेर नगई संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन गएका थिए ।
अमेरिका भ्रमण गर्नु र राष्ट्रसंघीय कार्यक्रममा अमेरिका पुग्नुमा आकाश पातालको फरक छ भन्ने प्रचण्डलाई धेरै पहिले थाहा भइसकेको छ ।
राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिकाले ‘टेरोरिस्ट’ भनेका नेता देखि प्रतिबन्धित गरेका मुलुकका प्रतिनिधि समेत सहभागी हुन पाउँछन् ।
त्यसैले यो उनको नितान्त पहिलो अमेरिका भ्रमण हो । जहाँ उनलाई राजनीतिक भेटघाट गर्नेसम्मको छुट छ भने, उनको लागी ‘नो इन्भेष्टिगेसन’ सर्कुलर समेत जारी गरिएको छ ।
यदि अमेरिकाले उनलाई ‘सम्मान’ दिन्थ्यो नै भने, प्रचण्ड किन डराए यसअघि विदेश भ्रमण गर्न ? किन स्थगित गरे बनिसकेको सन् २०१६ को अमेरिका भ्रमण ? किन अष्ट्रेलिया जान लाग्दा अन्तिम समयमा रोकिए ?
किन सन् २००८ मा चीनमा सम्पन्न ‘बेइजिङ ओलम्पिक्स’को समापन समारोहमा भाग लिन चीन पुगे पनि, आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै हुने भनेर विवादास्पद टिप्पणी गरे ?
सरसर्ती हेर्दा प्रचण्ड ‘पहिलो विश्व’ नगएको १२ वर्ष भइसकेको छ । र प्रचण्डको यस अमेरिका भ्रमण ‘१२ वर्षपछि फर्केको खोला’ नै हो ।
सन् २०१८ जुन २३ मा प्रचण्ड अष्ट्रेलिया भ्रमणमा जान लागेका थिए । तर एक्कासी खबर आयो, सहमतिय सरकार गठन गर्नु पर्ने भएकाले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रचण्डलाई विदेश नजान सुझाव दिए भनेर ।
तर वास्तविकता निकै फरक थियो ।
एक उच्च नेताले यो पंक्तिकारलाई त्यसबेलाको घटनाको बेलिविस्तार लगाए । प्रचण्ड अष्ट्रेलिया जानका लागि विदावारी लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसबेला पनि ओली नै प्रधानमन्त्री थिए । ओलीसँग हात मिलाएर विदा लिए । साथमा छोरा प्रकाश पनि थिए । वालुवाटारबाट निस्किएपछि प्रचण्ड झस्किने फोन आयो ।
ती नेताले बेलिविस्तार लगाए अनुसार सो फोन तत्कालीन एमालेका प्रभावशाली सांसद अग्नि खरेलको थियो ।
फोनमा खरेलले उनलाई भने– ‘प्रचण्डजी, भ्रमणबारे एकपटक पुनर्विचार गर्नुस् ।’
र त्यसको केहि समयपछि अष्ट्रेलियाको एक टेलिभिजन मार्फत एउटा खबर फैलियो । त्यहाँ उनको विरुद्धमा उजुरी परेको रहेछ । यदि यस्तो अवस्थामा प्रचण्ड अष्ट्रेलिया गएका हुन्थे भने, अवस्था के सम्म हुने थियो, त्यो कुमार लामा प्रकरण हेरेर हामी आकलन गर्न सक्छौं ।
प्रचण्डको अहिलेको भ्रमणमा पनि अनिष्ट हुने हल्ला फैलियो । कारण थियो– तिलक श्रेष्ठ नाम गरेका एक व्यक्तिले अमेरिकाबाटै ‘अ टेरोरिस्ट इज भिजिटिङ यूएसए’ (एउटा आतंकवादी अमेरिकाको भ्रमणमा छ) भनि उजुरी दिए ।
यता नेपालमा भने डा गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल र इन्जिनियर प्रितम सुवेदीले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तलाई अर्थपूर्ण ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा ठाडै लेखिएको छ– ‘मानवता विरुद्धका अत्याचारहरु भविष्यमा दोहोरिन नदिनका लागि दोषीलाई सकेसम्म देशभित्रै कानूनी कारवाहीको दायरामा ल्याउनु पर्दछ र अपराधको गम्भिरताको आधारमा सजायको भागी बनाउनु पर्दछ ।’
अर्थात् सकेसम्म प्रचण्डलाई नेपाली कानूनले नै सजाय दिनुपर्छ, र नसकेको खण्डमा अन्तराष्ट्रिय कानूनले सजाय दिए हुन्छ ।
तर अमेरिका यसपटक प्रचण्डलाई जिस्क्याउने ‘मूड’मा छैन भन्ने संकेत केही दिन पहिले नै मिलिसकेको थियो । हरियो झण्डा देखेपछि मात्र प्रचण्ड अमेरिका उडेका हुन् भन्नेमा शंका छैन । तैपनि डर त भइहाल्छ, त्यसैले ‘प्रचण्ड शायद निदाएनन्’ भनी माथि लेखियो ।
यता प्रचण्डका राजनीतिक गुरु मोहनविक्रम सिंहको पनि कुरा कम छैन । जनयुद्धदेखि नै उनी बारम्बार भन्दै आएका थिए, ‘माओवादी भविष्यमा एमाले बन्छ’ भनेर ।
अहिले उनैले फेरी भविष्यवाणी गरे, ‘यदि नेपालले अमेरिकी साम्राज्यवादप्रति पूरै आत्मसमर्पणको नीति अपनाएन भने त्यस विरुद्ध अमेरिकाले ओली सरकारलाई अपदस्त गर्ने कारवाहि पनि हुन सक्छ ।’
कुरा जसो होस्, प्रचण्ड अमेरिका पुगेका छन् । उनी सकुशल फर्कने पनि छन् । सर्वसधारण नेपालीले जसरी घुमफिर गर्न मात्र प्रचण्ड अमेरिका जान चाहेका होइनन् । उनको राजनीतिक अभीष्ट छ । अमेरिकाले प्रचण्डलाई स्वीकार गर्यो । यो अर्थपूर्ण छ ।
प्रचण्डले भ्रमणका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्छ भनेका छन् । विगतमा नेपाली नेताहरु भारत भ्रमणमा गएजस्तै हाे प्रचण्डको अमेरिका भ्रमण ? कतिपयको आशंका छ । भारत भ्रमण गर्नेहरुको लर्काे लागेजस्तै अमेरिका भ्रमणको लस्कर लाग्ने पो हो कि ? मोहनविक्रमको पनि आशंका यतैतर्फ लक्षित छ ।
अमेरिकाबाट प्रचण्ड आत्मविश्वाश बढाएर फर्कन्छन् कि घटाएर ? यो नै मुख्य प्रश्न हो र यसको जवाफ प्रचण्ड फर्किएपछि मात्र पाइने छ ।
