- गाेबिन्द थापा
देश त्यसै बन्दैन । देश आफै पनि बन्दैन । देश बनाउनुपर्छ । कुनै पनि देश व्यक्तिले बनाउँदैन, प्रणालीले बनाउँछ । तर, त्यो प्रणालीलाई चलाउने व्यक्तिले नै हो । त्यसैले इमानदार र प्रतिवद्ध व्यक्तिहरुको टिमले मात्र देश बनाउन सक्छ ।
नेपाललाई कस्तो बनाउने ? वीपी कोइरालाले भनेका थिए– हरेक नेपालीको घरमा एउटा गाई होस् । यो मोडल धेरै नै चर्चित बन्यो ।
पछि पञ्चायती सरकारले कस्तो नेपाल बनाउने भन्ने आफ्नै पाराले तय गर्यो । पञ्चायती सरकारले नेपाललाई ‘एसियाली मापदण्ड’ मा पुराउने भन्यो । पछि त्यसलाई संशोधन गरेर हरेक नेपालीको ‘आधारभूत आवश्यकता पूरा गर्ने’ भन्यो ।
बहुदल आएपछि नेपाली कांग्रेसको सरकार बन्यो । कांग्रेस सरकारले कस्तो नेपाल बनाउने भन्ने कुनै भिजन दिन सकेन । कांग्रेस सरकार ढलेर तत्कालीन नेकपा एमालेको नौ महिने सरकार बन्यो । त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाउँ’ भिजन दियो । भिजन मात्र दिएन, व्यवहारमा पनि उतार्यो । आज नेपालमा गाउँको जति विकास भएको छ, त्यो भिजन र त्यस अन्तर्गतको कार्यक्रमले भएकोमा शायदै विमति होला ।
बरालिएको सपना
एमालेको नौ महिने सरकार ढल्यो । देश अस्थिरतामा फस्यो । तत्कालीन नेकपा माओवादीले जनयुद्ध थाल्यो । त्यसपछि नेपाली जनताले शान्ति र स्थिरता बाहेक अरु सपना देख्न छाडे ।
विकास र समृद्धिको सपना एकमुखे रुद्राक्ष जस्तो भयो ।
०६३ मा तत्कालीन नेकपा माओवादी शान्ति प्रकृयामा आयो । त्यसपछि देशले केही नयाँ सपना देख्न पाउँछ कि भन्ने आशा जाग्यो । तर अहँ, सपना देख्ने मौका जनताले पाएनन् । नयाँ संविधान बनाउने नाममा देश फेरि अस्थिरता र अर्कै खालको अशान्तिको दुष्चक्रमा फसाइयो ।
संविधानसभा कालखण्डमा नेपाली जनताको सपनाको हत्या गरियो । बरु, त्यसको सट्टा अनेक जातीय सपनाहरु देखाउन थालियो । हुँदो नहुँदो, चाहिँदो नचाहिँदो, अनेक सपनाको भ्रमजालमा नेपाल र नेपालीलाई फसाउने दुष्प्रयास गरियो ।
समग्रमा भन्ने हो भने ‘नयाँ संविधान बनाउने’ बाहेक अरु कुनै सपना नेपाली जनतासँग रहेन । बरालिएका सपनाहरुले प्रगति र उन्नतिका सपना छोपिदिए । नेपाली जनताले प्रगति र उन्नतिको सपना देख्नै छाडिसकेका थिए ।
दुस्वप्न पछिको चुनाव
जनयुद्धदेखि नयाँ संविधान निर्माणसम्म नेपाल दुस्वप्नको युगमा थियो । दुस्वप्नपछि नयाँ सपना देख्ने मौका नेपाल र नेपालीले संविधान बनेपछि मात्र पाए ।
नयाँ संविधान बनेपछि सजिलोसँग आमचुनाव भएको होइन । सिर्फ चुनावको सपना थियो जनतासँग । त्यही भएर राजनीतिक शक्तिहरु चुनाव गराउन वाध्य भए ।
चुनावले स्थिर सरकार दिन सकेन भने ? यो प्रश्नको समाधान दिन खोज्यो तत्कालीन एमाले र माओवादी केन्द्रले । उनीहरुले वाम गठवन्धन बनाए । उता नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनायो । दुवै गठवन्धनले बहुमतको स्थिर सरकार बनाउने विचार जनतामा लगे । जनताले वाम गठवन्धनलाई बहुमत दिए ।
ओलीको स्पीड र स्पिरिट
आमचुनावभन्दा पहिलेदेखि नै तत्कालीन नेकपा एमाले तथा हाल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको विषयमा जनतालाई झक्झकाउन थालिसकेका थिए । प्रधानमन्त्री बनेपछि उनले एजेण्डा नम्बर एक र मिसन नम्बर एक समृद्धिलाई बनाए ।
केपी ओली नेतृत्वको सरकारले मुख्य नारा ‘सुखी नेपाली समृद्ध नेपाल’लाई बनायो । धेरै लामो समयपछि मुलुकले नारा पायो, सपना पायो, अनि सपनालाई विपनामा परिणत गर्न सक्ने बहुमतको सरकार पायो । त्यो सरकारलाई नेतृत्व गर्ने सशक्त नेता पनि पायो ।
यो सरकारले समृद्धिको सपना पूरा गर्छ त ? कुन अवस्थामा सरकारले समृद्धिको सपना पूरा गर्न सक्छ ? समृद्धिको सपना पूरा गर्न के गर्नुपर्छ ? यस्ता प्रश्न उठ्नु स्वाभाविक हो ।
यो सरकारले समृद्धिको सपना पूरा गर्ने हो कि भनेर चिन्ताले ग्रस्त हुँदै आत्तिने तथा सरकारलाई तगारो लगाउनेहरु पनि समाजमा देखिएका छन् । यो सरकारले समृद्धिको सपना पूरा नगर्ने हो कि भनेर चिन्ता गर्दै खबरदारी गर्नेहरु पनि देखिएका छन् ।
पहिलो र मुख्य कुरा के हो भने सरकारले समृद्धिको सपना पूरा गर्ने अर्थात् ‘सुखी नेपाली, समृद्ध नेपाल’लाई साकार पार्ने लक्षण देखाएको छ । दोस्रो कुरा के हो भने नेपाली जनताको यो सपना साकार पार्न, अझ चाँडो साकार पार्न समृद्धिको सपनाको नेतृत्व लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अझ कठोर बन्नुपर्छ ।
सबैले देखिरहेको प्रष्ट कुरा के हो भने विगतका प्रधानमन्त्रीहरु जसरी वर्तमान प्रधानमन्त्री भ्रष्टाचारमा लिप्त छैनन् । उनलाई भ्रष्टको आरोप लगाउन कसैले नसक्ने अवस्था छ । प्रधानमन्त्री मात्र इमानदार र निष्कलंक भएर पुग्दैन । समग्र सरकार नै निष्कलंक हुन जरुरी छ ।
समृद्धि र विकासका लागि सबैभन्दा गतिवान बन्ने काम स्वयं प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्री ओली गतिवान छन् । उनको गति अपूर्व छ । राति एक दुई बजेसम्म उनी काम गर्छन् । विगतका प्रधानमन्त्रीहरु रात परेपछि अनेक बहानामा बोतलको बिर्काे खाल्ने काममा लिप्त हुन्थे, त्यस्तो स्वभाव र चरित्रले मुलुकलाई परेको असर कसैले अहिलेसम्म आकलन गरेको देखिँदैन । ओली पनि रात परेपछि बोतलको बिर्काे खोल्छन् तर उनले खोल्ने बोतल र बिर्काे विकास र समृद्धिको हुने गरेको छ । प्रधानमन्त्री ओली नयाँनयाँ आइडिया र भिजनको बिर्काे खोल्छन् र नयाँनयाँ योजना र सपना प्रस्तुत गरेर मुलुकलाई उत्साहित बनाउँछन् । कोही यो उत्साहको गतिमा कदम बढाउँछन्, कोहि चाहिँ खिसी गरेर आत्मरतीमा डुब्छन् ।
अहिलेको कतिपय सन्दर्भमा ‘गोरु पछाडि–गाडा अगाडि’ भनजस्तो अवस्था पनि देखिन्छ । प्रधानमन्त्री विकास र समृद्धिको अभियानमा जोडसँग अगाडि बढिरहेका छन् तर उनको टिम अर्थात् राज्य संयन्त्र चाहिँ धेरै पछाडि देखिन्छ । प्रधानमन्त्रीको स्पीड र स्पिरिटमा व्यक्ति तथा निकायहरु हिँड्न सकेनन् भने प्रधानमन्त्रीको गतिमै ब्रेक लाग्न सक्छ ।
यो लेखको सुरुमै के उल्लेख गरिएको छ भने देश बनाउने व्यक्तिले होइन प्रणाली हो तर प्रणाली पनि व्यक्तिले नै चलाउँछ । प्रणालीको नेतृत्व एकजना व्यक्तिले गरेको हुन्छ । प्रणालीको नेतृत्व गर्ने व्यक्तिको स्पीड र स्पिरिटमा हिँड्न सक्ने राज्य संयन्त्र भएन भने अपेक्षित उपलब्धी हासिल हुन सक्दैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पीड र स्पिरिट जुन गतिको देखिन्छ, त्यही गतिमा राज्यका निकाय तथा उनको टिम हिँड्न सक्ने हो भने नेपाल तेस्रो विश्वको हैसियतबाट पहिलो विश्वको हैसियतमा आउँदो चार वर्षभित्रमा (यही नेतृत्वको पालामा) पुग्ने निश्चित छ । प्रष्ट के देखिन्छ भने प्रधानमन्त्रीको गति अनुसार बाँकी काम भइरहेको छैन । यदि हुन्थ्यो भने विकास र समृद्धिप्रति जनतामा जुन विश्वाश जागिरहेको छ, त्यस्तो उत्साह र विश्वाश अझ धेरै जाग्ने थियो ।
कठोर प्रधानमन्त्री
कांग्रेसले अधिनायकवादको फर्मूला चुनावको बेलामा निकालेको थियो । त्यो फर्मूलाले काम गरेन । पछिपछि पनि कांग्रेसले अधिनायकवाद आउन लाग्यो भनेकै हो । अहिले पनि मौकामौकामा भन्ने गरेको छ । लोकतन्त्र ल्याउने अगुवा केपी ओलीले लोकतन्त्रको बाटो छाडेर अधिनायकवादी बाटो रोज्छन् भन्ने सपनामा पनि चिताउन सकिन्न । जनता माझ सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीले अधिनायकवाद रोज्छन् भन्नुको कुनै तुक थिएन र छैन पनि ।
तर, प्रधानमन्त्रीले कठोर बन्नुपर्छ । अधिनायकवादी बन्नु र कठोर बन्नुमा फरक छ । नेपाललाई कठोर प्रधानमन्त्री चाहिएको हो । देश र जनताको पक्षमा कठोर फैसला गर्न सक्ने प्रधानमन्त्री चाहिएको थियो । केपी ओलीमा त्यस्तो कठोरता अलिअलि देखिन्छ तर पर्याप्त मात्रामा होइन । नेपालको विकासमा अनेक किसिमका प्रशासनिक तथा कानूनी अड्चन छन् । बाधक बनेका कानून निलम्वन गर्ने हिम्मत भएका नेता भनेरै ओलीका नाममा जनताले वाम गठवन्धनलाई बहुमत दिएका होइनन् र ?
प्रधानमन्त्री कठोर नबन्ने हो भने विकासका वाधा अड्चन हट्दैनन् । सुयोग्य कर्मचारीहरुको अयोग्य कर्मचारीतन्त्र तथा अन्य किसिमका नेतृत्वलाई ट्रयाकमा ल्याउन कठोर प्रधानमन्त्री चाहिएको हो । वाधक बन्ने राजनीतिक प्रशासनिक तथा राजनीतिक जिम्मेवारहरुलाई तत्काल निलम्वन गर्ने तथा हटाउने कठोरता ओलीबाट आशा गरेका होइनन् र ?
किन केपी ओली कठोर प्रधानमन्त्री बनिरहेका छैनन् ? नेपालमा पछिल्लो कालमा राजनेताको उचाई गिरिजाप्रसाद कोइरालाले बनाए । उनको उचाई निधनपछि मात्र हामीले महशूस गर्यौं । तर, केपी ओली पदमा बसिरहेको बेला नै राजनेताको उचाईमा छन् । ओलीमा क्षमता छ, इमानदारी छ, भिजन छ, जनसमर्थन प्रचुर छ । प्रतिवद्धतामा प्रधानमन्त्री कठोर देखिन्छन् तर कार्यान्वयनमा कठोर देखिँदैनन् । आफ्नो गति अनुसारको राज्य संयन्त्र र टिम परिचालन चाहने हो भने प्रधानमन्त्री ओलीले कठोर बन्नुपर्ने हुन्छ । संविधानको परिपालना गर्न र जनताको विकास र समृद्धिको आकांक्षा परिपूर्ति गर्न कठोर बन्ने हैसियत विगतका प्रधानमन्त्रीहरुको थिएन । तर, त्यस्तो हैसियत केपी ओलीमा छ ।
प्रधानमन्त्री ओलीले आफ्ना सपना तथा योजनाहरु कार्यान्वयन गर्न सक्ने वातावरण बनेन भने नेपाल धेरै वर्ष पछाडि पर्नेछ ।
विकास र समृद्धि हासिल गर्न अहिले उपयुक्त मौका छ । यो मौकाको सदुपयोग प्रधानमन्त्री एक्लैले चाहेर हुँदैन, सरकारले मात्र चाहेर पनि हुँदैन । यसका लागि जनता नै जाग्नुपर्छ, सरकारको होस्टेमा हैंसे गर्न जनता नै लाग्नुपर्छ ।
