- दिनेश काेइराला /
नेपाली कांग्रेसमा जति सक्षम नेता अन्य कुनै पार्टीमा छैनन् । नेपाली कांग्रेसमा जति इमानदार, त्यागी र निस्वार्थ नेता अन्य कुनै पार्टीमा छैनन् । पार्टी र देशका लागि मरिमेटेर लाग्ने नेता कांग्रेसमा जति छन्, अन्य पार्टीमा छैनन् । यसमा कांग्रेसजनले गर्व गर्नुपर्छ ।
यसमा अर्काे कुरा पनि थप्नैपर्ने हुन्छ– नेपाली कांग्रेसमा भ्रष्ट, अयोग्य र पार्टीघाती नेता पनि छन् । यो तथ्यमा पनि आँखा चिम्म गर्न मिल्दैन । यति लेखिसकेपछि दावीसाथ लेख्न सकिने अर्काे कुरा पनि लेखिहालौं– नेपाली कांग्रेसका जति इमानदार, सक्षम, देशभक्त र समर्पित कार्यकर्ता अरु कुनै पार्टीमा छैनन् ।
यी कुरा किन लेख्न मन लाग्यो भने नेता कृष्णप्रसाद सिटौला विरामी भएको समाचार आयो । विरामी भएपछि उनको सक्रियता घट्ने पो हो कि ? चिन्ता लाग्यो । कांग्रेसमा सक्रिय नेता धेरै छन् तैपनि दुईजना नेताको सक्रियता चर्चित छ । उनीहरु हुन् सिटौला र डा. शेखर कोइराला । उनीहरुको सक्रियताले कांग्रेसलाई जगाइरहेको छ, कार्यकर्तालाई बाटो देखाइरहेको छ ।
यहाँ कृष्णप्रसाद सिटौलाका बारे केही लेख्न सान्दर्भिक लाग्यो ।
सिटौला आफूलाई गिरिजाप्रसाद कोइरालाको कर्मको उत्तराधिकारी ठान्छन् । यो स्वाभाविक हो । गिरिजाप्रसाद थिएनन् भने नेपाल अर्कै बाटोमा जान्थ्यो, माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण हुने थिएन, प्रचण्डहरु सत्तावासी बन्ने थिएनन् । मुलुकमा व्याप्त द्धन्दलाई शान्तिमा परिणत गर्न गिरिजाप्रसाद कोइरालालाई सक्षम र विश्वाशिलो सहयोगी चाहिएको थियो । कोइरालाले सिटौलालाई रोजे ।
सिटौला नै ती पात्र हुन् जसले शान्ति प्रकृयाको डिजाइन गरे । सिटौलाले गरिजाप्रसादको भरोसा जिते तर माओवादीको पनि विश्वाश जित्न आवश्यक थियो । सिटौलाले माओवादीलाई विश्वाशमा लिन सकेका थिएनन् भने शान्ति प्रकृया अगाडि बढ्दैनथ्यो ।
सिटौलामा समन्वयकारी क्षमता छ । यो क्षमताको उपयोग देशले शान्ति प्रकृयामा गर्यो । संविधानसभाको पहिलो चुनाव लगभग असम्भव देखिन्थ्यो । त्यो काम पनि सिटालाको सटिक राजनीतिक तरिकाद्धारा सम्भव भयो ।
गणतन्त्र घोषणापछि माओवादीहरु राजाले नारायणहिटी छाड्नुपर्यो भन्दै आन्दोलनमा लागे । उनीहरु मुलुकलाई अशान्त बनाउन चाहन्थे । गणतन्त्रलाई संस्थागत गर्ने नाममा पुन हिँसा फैलाउन चाहन्थे । त्यस्तो बेला सिटौला नारायाणहिटी पुगे, ज्ञानेन्द्रलाई भेटे, दरबार छाडिदिनुस् हामी केही गर्दैनौं भनी विश्वाश दिलाए । ज्ञानेन्द्रले सर्लक्क दरबार छाडे । त्यसपछि गणतन्त्र संस्थागत हुने बाटो खुल्यो । बिना क्षति गणतन्त्र अगाडि बढ्यो ।
कृष्णप्रसाद सिटौलाबारे म किन लेखिरहेको छु भने नेपालमा अहिले अवगुण देख्ने गुण चाहिँ कसैको नदेख्ने प्रवृत्ति हैजा फैलिए जसरी फैलिइरहेको छ । कांग्रेसमा योग्यता र क्षमताको कदर नहुने तथा इमानदारी चाहिँ अभिशाप बन्ने अवस्था छ । यसकारण हामीले पार्टीका सकारात्मक पक्ष नेता नेताहरुका विशेषताबाट सिक्नुपर्छ । सकारात्मक विचार फैलाउनुपर्छ । क्षमतावान र सकारात्मक नेताहरुलाई प्रोत्साहन गर्नुपर्छ ।
कांग्रेसमा सिटौलाको भूमिका
नेपाली काग्रेसमा मूलत तीन खेमा छ । तीनमध्ये एक खेमाको नेतृत्व सिटौलाले गर्छन् । लोकतान्त्रिक राजनीतिक दलमा खेमा–गुट हुनुलाई अस्वाभाविक मान्न मिल्दैन । विचार समूह, हित समूह हुनु सामान्य कुरा हो ।
कांग्रेसलाई भविष्य दृष्टि दिने काम सिटौलाले गरिरहेका छन् । खासगरी विभिन्न खेमाहरु बीच संयोजन गर्ने काम गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन ठूलो सहयोग गरे । पछिल्लो कालमा उनी देउवासँग टाढिएका देखिन्छन् ।
सिटौला अब्बल रणनीतिकार हुन् । सिटौलाको रणनीतिक योजनाकै कारण कतिपय भ्रातृ संगठनहरुमा सस्थापन पक्षलाई पाखा लगाउन सम्भव भएको सबैलाई थाहा भएकै कुरा हो ।
अहिले कम्युनिष्ट सरकार सर्वसत्तावादी बन्दै गइरहेको छ । सर्वसत्तावादी कम्युनिष्ट सरकार विरुद्ध कांग्रेसले ठोस रणनीति बनाउन सकेको छैन, प्रमुख प्रतिपक्षीका रुपमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन । त्यसैले कांग्रेसजनको आँखा सिटौलामा केन्द्रीत भएको छ । सिटौला नै त्यस्ता नेता हुन् जो कम्युनिष्टहरुको चलाख रणनीतिलाई पहिचान गर्न र त्यसलाई काउन्टर दिन सक्छन् । तर, दुखको कुरा के छ भने उनी निर्णायक भूमिकामा छैनन्, निर्णायक भूमिकामा रहेको पार्टी संस्थापन पक्षले सिटौलाको क्षमता उपयोग गर्न चाहेको देखिँदैन ।
कांग्रेसमा विभिन्न खेमामा शशक्त नेताहरुको ठूलो संख्या छ । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधी, अर्जुन नरसिंह केसी, रामशरण महत, डा. शशांक कोइराला, शेखर कोइराला, वालकृष्ण खाँड लगायतका नेताहरु तथा सबै युवाहरुलाई एक ठाउँमा समन्वय गर्न सक्ने क्षमता सिटौलामा छ । संस्थापन पक्ष र अन्य खेमाबीच सन्तुलनकारी भूमिका निर्वाह गर्ने क्षमता पनि सिटौलामा छ । यो क्षमता उनले आगामी दिनमा कसरी प्रयोग गर्छन् भन्ने प्रतिक्षाको विषय बनेको छ ।
विक्षमा पहुँच
नेत्रविक्रम चन्द विप्लवको समूहले जनयुद्ध–२ थालेको छ । मुलुकको शान्ति र स्थिरता पुन खतरामा पर्ने देखिएको छ । यस्तो अवस्थामा कम्युनिष्ट खेमा बुझेको र कांग्रेसका विपक्षीहरुलाई चलाउने तथा खेलाउने क्षमता भएको कांग्रेस नेता चाहिएको छ । कांग्रेसका विपक्षीहरुको रणनीति पहिचान गर्न सक्ने, विपक्षीहरुलाई कूटनीतिक रुपमा निस्तेज पार्न सक्ने र विपक्षीहरुलाई पनि विश्वाशमा लिन सक्ने क्षमता सिटौलामा छ । उनकाे यस्तो क्षमतालाई नेपाली कांग्रेसले कसरी प्रयोग गर्ने ? यसमा कांग्रेसका तमाम कार्यकर्ताहरु गम्भीर हुन जरुरी छ ।
पार्टीभित्र होस् या बाहिर होस्, समन्वय र सन्तुलनकारी भूमिका सिटौलाले निर्वाह गर्न सक्छन् । विपक्षमा पनि पहुँच बनाउन सक्ने तदअनुरुप पार्टीका लागि रणनीति तय गर्ने क्षमता उनमा छ ।
सिटौला र कांग्रेसको भविष्य
कांग्रेसमा दर्जनौं सक्षम नेताहरु छन् र अग्रपंक्तिका नेता हुन् सिटौला । आगामी दिनमा गुटको अवस्था तरल हुँदै जाने देखिन्छ । किनभने कार्यकर्ता पंक्ति गुटको भन्दा कांग्रेसको भविष्यले चिन्तित हुने छन् । जब कार्यकर्ताहरु गुटभन्दा पार्टीलाई माथि राख्ने पक्षमा उभिन्छन् तब सक्षम नेताहरुको भूमिका बढ्नेछ ।
घोषित अघोषित रुपमा पार्टीभित्र महाधिवेशनको तरंग बढ्दैछ । आगामी महाधिवेशनले कस्तो वैचारिक परिणाम दिने र कस्तो नेतृत्व दिने भन्ने महत्वपूर्ण विषय हो । यो विषयमा सिटौलाको भूमिका निर्णायक हुनेछ । विभिन्न खेमामा छरिएर रहेका नेताहरुको समायोजन र संयोजन सिटौलाले कसरी गर्छन्, त्यसले निर्णायक प्रभाव पार्नेछ । अर्थात्, सिटौलाको भूमिका चाबी जस्तो हुनेछ ।
आशा र विश्वाश गरौं– कृष्णप्रसाद सिटौला र उनीजस्ता नेताहरुले कांग्रेसलाई बाटो देखाउनेछन्, कांग्रेसमा पुर्नजागरण ल्याउनेछन् ।
