अनुपम शर्मिला––
काठमाडौं । राजनीतिक दलहरु प्राय निर्वाचनको बेला मात्र जनताको घरदैलोमा पुग्ने गर्छन । त्यो पनि भोट माग्न । त्यहाँ पुगेर थुप्रै आश्वासन बाँड्छन् । फर्कन्छन् । त्यो बीचमा जनताले के चाहन्छन्, त्यो बिर्सिसक्छन् ।
त्यहि भएर बेला बेला दलहरुलाई ‘खोलो तरेर लौरो बिर्सीएको’ आरोप पनि लाग्ने गरेको छ । जनता माझ जाँदापनि विकास निर्माणका काम कुरा भन्दा दलहरुले एक अर्काको विरोधमै बढी समय खर्चिन्छन् ।
तर, पछिल्लो समय दलहरुमा जनता माझ पुग्ने होडबाजी नै चलेको देखिन्छ । दलहरु जनतामाझ जानु कुनै नौलो विषय भने होइन ।
एमालेको मेची महाकाली राष्ट्रिय अभियान
एक समय तत्कालिन नेकपा एमालेले आफूलाई तराईमा स्थापित गराउन ठूलै कसरत गरेको थियो । एमाले र केपी शर्मा ओलीलाई तराईमा प्रवेश निषेध झैं को अवस्था थियो । यस्तो परिस्थितीमा एमालेले मेची–महाकाली राष्ट्रिय अभियान चलाएको थियो ।
मेची–महाकाली अभियान एमालेले जे भनेर सञ्चालन गरेपनि, त्यसको भित्री पाटो भनेको एमालेले आफू छाँयामा परेको महशुस गरेकाले हो । यता सत्तापक्षले लोडसेडिङ हटाएर वाहवाही पाएको थियो ।
उता प्रतिपक्षमा बसेको एमालेलाई भने तराईमा सास फेर्न पनि आदेश कुर्नुपर्ने अवस्था आएपछि त्यो सह्य हुने विषय नै थिएन । एमाले छाँयामा परेको थियो । त्यसको लागि केही न केही लोकप्रियता कमाउने काम गर्नु नै थियो ।
यता एमालेले भने आफूलाई तराई–मधेस विरोधी भन्नेहरुको भ्रम चिर्न अभियान चलाएको भन्दै स्पष्ट पारेको थियो । र नतिजा– एमालेले त्यसपछि आउँदै गरेको चुनावमा माओवादीसँग मिलेर झण्डै दुई तिहाई मत ल्यायो ।
राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा
गत फागुन १५ गतेबाट कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेको थियो । सरकारलाई दबाव दिन र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै अभियानको थालनी भएको थियो । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा त गत चैतमा सकियो । तर हिन्दु राष्ट्रको माग गरेर के कति स्वाभिमान प्राप्त भयो, त्यसको लागि चुनाव नै कुर्नुपर्ने हुन्छ ।
बल्ल कांग्रेसको राष्ट्रिय जागरण अभियान
गत सोमबार नेपाली कांग्रेसले एक महिने राष्ट्रिय जागरण अभियानको घोषणा ग¥यो । काँग्रेसको भनाइलाई आधार मान्ने हो भने, सो अभियानको १४ वटा मुख्य उद्देश्यहरु छन् । काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माका अनुसार अभियानको उद्देश्यमा सरकारको अधिनायकवादलाई खबरदार गर्ने देखि मधेशको माग पूरा गराउने सम्मका कुराहरु छन् ।
त्यस्तै निर्मला हत्याकाण्ड लगायतका घटनाको छानबिन, विपद्मा क्षति पुगेकाहरुको पुनस्र्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने लगायतको विषय समेत जागरण अभियानमा उठाइने उनको भनाइ छ ।
अभियानले कांग्रेसलाई कहाँ पु¥याउला ?
कांग्रेसले निकै राम्रा नारा बोकेर अभियान त चलाउने भयो, तर यो पनि एमाले–राप्रपा जस्तै छाँयामा परेपछि कांग्रेसले चालेको कदम होइन भनेर भन्न सकिँदैन । किनकी केहि महिना यताको नेपाली सञ्चारमाध्यमहरु हेर्ने हो भने नै काँग्रेस छाँयामा परेको स्पष्ट देखिन्छ । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका पनि निभाउँन सकेको छैन ।
यसैपनि आन्तरिक विवादमै अल्झीएको कांग्रेस आफैलाई जागरण आवश्यक छ ।
२००७ साल, ०४७ साल, ०६३ सालदेखि ०७० सालको चुनावसम्मै पनि कांग्रेस नायकको भूमिकामा थियो । अहिले कांग्रेस हराएको छ । अवस्था कस्तो छ भने, कांग्रेसले न त सरकारमा ‘स्पेस’ पाएको छ, न त सञ्चारमाध्यममा नै ‘स्पेस’ पाएको छ ।
कांग्रेस भन्दा राजपा बलियो प्रतिपक्ष बनेर सरकारलाई बेला बेला घोचिरहेको हुन्छ । सञ्चारमाध्यममा पनि छाइरहेकै छ । त्यसैले पनि यो अभियान अरु राजनीतिक दलको झैं आफू छाँयामा परेपछि गरिएको ‘पब्लिसिटि स्टन्ट’ हो भनेर भन्न सकिने ठाउँ पर्याप्त छ ।
किनकी अभियानले न त निर्मलालाई न्याय दिनेवाला छ, न त राजनीतिक कार्यक्रम गर्नाले विपद्मा परेकाहरुको घर नै बन्ने छ । बरु चुनावसम्म कुरियो भने, पक्कै यस अभियानले कांग्रेसलाई एक–दुई सिट भएपनि बढी जिताउन सक्छ ।
