असीम तिमल्सिना--
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यङ्ग्य गरेका छन् । नेकपा, ज्योतिषिले भनेको भरमा टुक्रने पार्टी नभएको भन्दै उनले देउवामाथि व्यङ्ग्य गरेका हुन् ।
‘केही ज्योतिषिले भने, यो पार्टी एकीकरण हुँदैन भनेर । एकीकरण भएपछि टुक्रिने संकेत गर्दै आज हो कि भोली हो पनि भने । तर यो पार्टी ज्योतिषिले बोकेको पार्टी होइन । दुई करोड ८० लाख जनताले बोकेको पार्टी हो’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले प्रतिपक्ष भएको हिसाबमा देउवामाथि जाइ लाग्नु सामान्य नै हो । ओलीको प्रहारसँगै देउवाको ज्योतिष प्रेम एकाएक चर्चामा आएको छ ।
देउवाको ज्योतिष प्रेम
शेरबहादुर देउवा धेरै जसो काममा ज्योतिषिको मुख ताक्ने गरेका छन् । अघिल्लो पटक प्रधानमन्त्री भएर बालुवाटार सर्ने बेलामा उनले ज्योतिषिसँग साइत जुराएर मात्र बालुवाटार सरेका थिए ।
उपयुक्त साइत नभएको भन्दै बालुवाटार सराईमा उनले १२ दिन ढिलाइ गरेका थिए ।
देउवा करिब नौ महिना प्रधानमन्त्री रहेका थिए । देउवाले प्रधानमन्त्री पद छाड्नुपर्ने भयो तर ज्योतिषले उनलाई नौ महिना पुग्नु अगावै प्रधानमन्त्री निवास वालुवाटार छाड्न सल्लाह दिए । त्यसैले उनले नौ महिना पुग्न केही दिन पहिले नै वालुवाटार निवास त्यागेको निकट नेताहरु बताउँछन् ।
भन्ने नै हो भने, शेरबहादुर देउवालाई लिएर भएको एउटा ज्योतिषि काण्ड त चर्चित नै छ । आफ्नै गृह जिल्ला डडेलधुरामा उनले ज्योतिषिले आफूलाई सात पटकसम्म प्रधानमन्त्री बन्छ भनेको घोषणा गरे । देउवाको घोषणाले एक समय देशमा ठूलै हास्यव्यङ्ग्यको काम गरेको थियो ।
आज ज्योतिषिको प्रसग निकालेर ओलीले व्यङ्ग्य गर्नुको कारण यिनै घटनाले गर्दा हुन सक्छ ।
ओलीपनि कम छैनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई कटाक्ष गर्नुमा मुख्यतया दुई कारण छन् ।
पहिलो कुरा त उनी कम्युनिष्ट हुन् । सामान्य बुझाइ छ– कम्युनिष्टहरु धर्म मान्दैनन् । कम्युनिष्टहरु तारा र ग्रहले भविष्य बताउने कुरा पनि मान्दैनन् ।
उनीहरु हरेक कुरालाई विश्वास गर्न गतिलो स्रोत माग्छन् । स्रोत बिनाको कुरामा विश्वास गर्दैनन् । ज्योतिष शास्त्रले खोजे जसरी स्रोत दिन सक्दैन । त्यसैले कम्युनिष्टहरु ज्योतिष शास्त्रमा विश्वास गर्दैनन् ।
दोश्रो त देउवा र ओली एक अर्काका राजनीतिक प्रतिद्वन्दी भएर पनि हो । प्रतिपक्षलाई सत्तापक्षले पेल्न खोज्नु नौलो कुरा नै होइन ।
तर अनौठो त के छ भने, ज्योतिषिले बोकेको पार्टी होइन, ज्योतिषिको भविष्यवाणिले बनेको पार्टी होइन भन्दै अरुको आलोचना गर्ने ओली आफैं भने बेला बेला ‘स्वघोषित भगवान’हरुबाट आशिर्वाद थाप्न जाने गरेका छन् ।
धेरै टाढा जानै पर्दैन । १०–१२ दिन अघिमात्र केपी ओली एउटा कार्यक्रममा सहभागि भएका थिए । त्यहाँ पुगेर उनले भाषण गर्न थाले । ओलीको भाषण मन नपराउने को होला र ? सबैजना मन्त्रमुग्ध हुँदै सुन्न थाले ।
उनी बोल्दै गए । बोल्दा बोल्दै भनिदिए– ‘यिनको प्रतिभा विज्ञानका लागि चुनौती हो ।’
ज्ञान प्राप्तिका अनेक स्रोत भएपनि बिना स्रोतको ज्ञान प्राप्त भएको भन्दै उनले विज्ञानको लागि चुनौती भएको बताएका थिए । अघि नै भनियो कम्युनिष्ट स्रोत बिनाको कुरामा विश्वास गर्दैनन् । तर प्रधानमन्त्री ओली त स्रोत बिनाको ज्ञानमै विश्वास गर्न लागे । त्यहाँ उनको आदर्श र भाषण फरक भयो ।
तिनमा के कति प्रतिभा छ ? विज्ञानले कसरी चुनौती ग्रहण गर्छ ? त्यो छुट्टै पाटो हो ।
तर स्रोत बिनाको ज्ञानले हानी ग¥यो भने के गर्ने ? कम्युनिष्टले स्रोत बिनाको ज्ञानलाई विश्वास नगर्नुको पछाडी मुख्य कारण पनि यहि हो– स्रोत बिनाको ज्ञानले हानी गर्छ भनेर ।
विद्यार्थी फेल भएभने शिक्षकलाई कारवाही गर्ने नीति ओलीकै पालामा आयो । तर ओलीले अभूतपूर्व प्रतिभा भनेको, विज्ञानलाई चुनौती हुने भनेको व्यक्ति ‘फेल’ भयो भने कारवाही कसलाई गर्ने ?
यसलाई कसरी बुझ्ने ? स्रोत बिना ज्ञान हासिल गरेकाले उनको कुराले र उनको कार्यले जति हानी गरेपनि हुन्छ ? ओलीले भन्न खोजेको यहि होला शायद ।
अन्त्यमा,
खैर जो कारवाहीको भागिदार भएपनि त्यो फरक पाटो थियो । ओली आफैं स्रोत बिनाको ज्ञानमा विश्वास गर्दा रहेछन्, त्यो थाहा भयो । तर ओली आफैं स्रोत बिनाको ज्ञानमा विश्वास गर्ने भएर आफैंले शेरबहादुरलाई कटाक्ष गरे । यो कुरा ओलीको आदर्शसंगत रहेन ।
ओली विरोधीको तालु खुइल्याउन बाठा छन् । भाषणकलामा माहिर छन् । तर ओलीले भन्छन् एक थोक, गर्छन् अर्काे थोक भन्ने गरिएको हल्ला कतै सहि त हुने होइन ? ओलीको आजको भाषणबाट एउटा गम्भिर प्रश्न उठेको छ ।
र अन्त्यमा, ओलीले अरु जे जे भनेर प्रतिपक्षको विरोध गरेपनि ज्योतिषि प्रशंग निकालेर विरोध गर्न चाँहि नमिल्ने देखिएको छ ।
