डा. विरेन्द्र तिवारी -
नेपाली वैज्ञानिकहरु आफू पढेकै विदेशी मुलुकमा काम गर्छन् र स्वदेश फर्कन चाहँदैनन् भन्ने खालका विचार तथा समाचार मिडियामा देख्न, सुन्न तथा पढ्न पाइन्छ । यसबारे केही विमर्श आवश्यक भएको छ ।
गरिब, पिछडिएको, र विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा भविष्य खोज्न जानु खासै नौलो हैन । संसारभर नै यो प्रकृया निरन्तर चलिरहेको छ । नेपालभन्दा धेरै गुणा ठूलो अर्थतन्त्र भएका र विकास र समृद्धिमा धेरै नै अघि बढिसकेका चीन र भारत जस्ता मुलुकका पनि करोडौं नागरिक विश्वका विभिन्न मुलुकमा रोजगारका लागि गएका छन् ।
विदेशमा नेपाली
विकसित देशमा रोजगारका लागि जादैमा मानिसहरु आफ्नो मुलुक फर्कन चाहँदैनन् त ? के उनीहरु आफ्नो मुलुकमा अवसर हुँदाहुँदै पलायन भएका हुन त ? केही मुलुकहरुको आ–आफ्नै प्रकारका विशिष्ट समस्या हुन्छन् तथापि विदेश पलायनका लागि आर्थिक विषय नै पहिलो कारण हो ।
कुनै पनि मुलुकको आर्थिक विकास हुन त्यस मुलुकको सर्वांगिण क्षेत्रको समानान्तर विकास हुन जरुरी हुन्छ, त्यसका लागि स्थिर र सुष्पष्ट राजनीतिक अवस्था जरुरी हुन्छ । हरेक नागरिकले आफ्नै मुलुकमा आफ्नो भविष्य देख्नसक्ने अवस्था हुनुपर्छ । त्यसो भयो भने ‘देश फर्क’ भनिरहन पर्दैन ।
केही दशक अगाडि नेपालबाट विदेशिनेहरुमा ठूलो संख्या अर्धदक्ष जनशक्ति हुन्थ्यो तर आज अवस्था फरक छ । आज विश्वका धेरै मुलुकमा वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर तथा अन्य विभिन्न क्षेत्रका दक्ष जनशक्तिका रुपमा नेपालीको उपस्थिति छ । सबभन्दा धेरै विप्रेशण संयुक्त राज्य अमेरिकाबाट नेपाल भित्रनु त्यसको संकेत हो ।
यो पंक्तिकार कार्यरत रहेको विश्वको एउटा सानो क्यारेवियन क्षेत्रका अमेरिकी मेडिकल कलेजहरुमा मात्रै २५÷३० जना नेपाली प्राध्यापक कार्यरत छन् । आजको विश्वमा सबभन्दा ठूलो परिवर्तन भनेको संचार क्षेत्र हो, आज इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै मुलुकमा आफ्नो पहुच स्थापना गर्न सकिन्छ । संसारले दक्ष र सिर्जनशील मानिस खोजिरहेको हुन्छ । त्यस्ता दक्ष र सिर्जनशील मानिसको प्रत्यक्ष अप्रत्यक्ष भूमिकाबाट कुनै पनि मुलुकले आर्थिक कायापलट गरिरहेको हुन्छ ।
दक्ष जनशक्ति आफ्नो मुलुकमा तान्ने अहिलेको प्रतिस्पर्धात्मक अवस्थाबाट कसरी नेपाल जस्ता मुलुकले आफ्नो जनशक्ति जोगाउन र फर्काउन सक्छ ? यो सानो लेखमा यसका समग्र पक्ष केलाउन सम्भव नहोला तर केही त्यस्ता क्षेत्र छन जसमा नेपालका नीति निर्माताहरुको ध्यान जान जरुरी छ ।
वैज्ञानिक खोज र अनुसन्धान
कुनै पनि देशको विकासका लागि आफ्नो मुलुकमा भएका प्राकृतिक स्रोतहरुको समुचित प्रयोग पहिलो आवश्यकता हो । जल, जमिन, जङल, कृषि पैदावार, जडिबुटि आदि हाम्रा अमूल्य स्रोत हुन् । यिनिहरुबाट विभिन्न बस्तु उत्पादन गरेर संसारभरका वजारमा पुराउन सके देशले आर्थिक फड्को मार्नेछ । तर त्यो कसरी सम्भव छ ? के जुनसुकै वस्तु सजिलै विश्व बजारमा पुराउन सकिन्छ ? अहँ, सकिँदैन ।
त्यसका लागि वस्तुको आवश्यकता र त्यसको गुणस्तर पहिलो सर्त हो । उदाहरणका लागि आज संसारभर क्यान्सरजन्य रोगबाट धेरै मानिसको मृत्यु हुन्छ । हालसम्म पनि क्यान्सरको भरपर्दो उपचार छैन । भनिन्छ– नेपालका कैयन जडिवुटीमा क्यान्सर निको पार्ने औषधीय तत्व छ, त्यसबाट औषधीको पहिचान गरी उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा पुराउन सके केही वर्षमा नै हामीले ठूलो उन्नति गर्न सक्छौ । तर, त्यसका लागि वैज्ञानिक खोज र अनुसन्धान अनि निरन्तर अनुसन्धान गर्नुपर्ने हुन्छ ।
अनुसन्धानका धेरै चरणबाट निस्केका वैज्ञानिक तथ्य र निचोडका आधारमा उत्पादित वस्तुहरु उच्च क्रयशक्ति भएका धनी मुलुकहरुका लागि स्वीकार्य बनाउन सके प्रतिफल प्राप्त हुन्छ । तर, यस्ता अनुसन्धान धेरै मात्रामा कहाँ हुन्छन त ? जहाँ वैज्ञानिक, प्राध्यापक र स्कलरहरु अथवा भनौ अनुसन्धानकर्ताहरु कृयाशील रहन्छन्, खासमा ती ठाउँ भनेका विश्वविध्यालयका अनुसन्धान केन्द्र हुन् ।
विश्वविद्यालय खोल्न पाइँदैन
नेपालले राजनितिक रुपमा फड्को मारेको भएपनि वैज्ञानिक र प्राविधिक क्षेत्रको विकासमा अपरिहार्य उच्च शिक्षाको क्षेत्रमा पूरानै सामन्ती र निजी नाफाखोर पद्धति अवलम्वन गरेको देखिन्छ । नीति निर्माण तहमै बसेका मानिसहरुको बुझाई र त्यहाँ बाझिएको स्वार्थका कारण आज मुलुकले यस क्षेत्रमा प्रगति गर्न सकेको छैन ।
संसारका धेरै विकसित मुलुकहरुमा हेर्यो भने उत्कृष्ट विश्वविद्यालयहरु अधिक संख्यामा गैरनाफामूलक निजी वा परोपकारी सामाजिक संस्थाहरुको अगुवाइमा निर्माण र प्रवद्र्धन गरिएका हुन्छन् । तर, आजका दिनसम्म पनि नेपाल एउटा यस्तो मुलुक हो जहाँ परोपकारी, गैरनाफामूलक समाज कल्याणकारी संस्थाहरुको अगुवाई र लगानीमा विश्वविध्यालय खोल्न दिन मिल्ने कुनै कानूनी व्यवस्था छैन । यो अति नियन्त्रणमुखी छ ।
कसैले विश्वस्तरको नमूना विश्वविद्यालय वनाउँछु, स्रोत आफैं जुटाउँछु भनेर आयो भने पनि नेपालमा यो कार्य गर्न सम्भव छैन । विशिष्ट प्रकृतिका कलेज खोल्न पनि धेरै वर्ष कुरेर पूराना विश्वविद्यालयहरुबाट सम्बन्धन लिनुपर्ने हुन्छ, तर यसो गर्दा विश्वस्तरको उत्कृष्ट प्रणाली अवलम्वन गरेर आफ्ना कार्यक्रम सञ्चालन गर्न पाइँदैन, पूराना र परम्परागत पद्धति अवलम्वन गर्नुपर्ने हुन्छ ।
अनि सम्बन्धन लिँदाका कठिनाई र त्यसका लागि आवश्यक प्रकृयामा हुने आर्थिक चलखेलको पाटो झन कहालीलाग्दो छ ।
नाफामुखी शिक्षा क्षेत्र
भनिन्छ हजारौं माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । तर, गणतन्त्र र संघीयताका केही वर्षमा पनि नेपालले यो क्षेत्रमा पहिलो पाइला सुरु गरेको छैन । अहिले पनि विश्वविद्यालयका पढाधिकारी सरकारले नियुक्त गर्छ । विश्वविद्यालयको नेतृत्वमा अहिले पनि सरकार प्रमुख रहने व्यवस्था छ । शिक्षा क्षेत्र पूरै नाफामुखी निजी क्षेत्रको नियन्त्रणमा छ । यो अवस्थाबाट माथि उठ्न सरकारी तहवाट खासै सार्थक प्रयास भएका छैनन् ।
केही महिना अगाडि शिक्षा मन्त्रालयले एउटा शिक्षा आयोग वनाएको थियो, त्यस आयोगको प्रतिवेदनमा केही प्रगतिशील सुझावहरु प्रस्तुत गरिएको कुरा समाचारमा आएको थियो तर सुझाव अनुसारको कानून निर्माण प्रकृया अझ पनि सुरु गरिएको छैन ।
हामी सबैलाई थाहा छ नेपालमा अहिले रहेका विश्वविद्यालयहरु ज्यादै दुरावस्थामा छन् । यस्ता रुग्ण अवस्थामा रहेका संस्थाहरुबाट मुलुकको भविष्य र समृद्धि निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन होला भन्न गाह्रो छ ।
ठूलो संख्यामा वैज्ञानिक, प्राध्यापक र स्कलरहरु कार्यरत रहनुपर्ने पूराना संस्थाहरु वेथिति नै वेथिति हुने अनि नयाँ संस्था खुल्दै नखुल्ने भएपछि विदेशमा रहेका नेपाली वैज्ञानिकहरु कसरी स्वदेश फर्कन्छन् ?
‘फर्क फर्क वैज्ञानिक’
चीनबाट सिकौं, हिजो आज ‘१००० ट्यालेन्ट’ कार्यक्रम अन्तर्गत विदेशमा रहेका चिनियाँ वैज्ञानिकहरुलाई मुलुक फर्कन आहान गरिएको छ । उनीहरुलाई उत्कृष्ट चिनियाँ विश्वविद्यालयमा प्राध्यापक पद र लाखौं चिनियाँ युआन अनुसन्धान अनुदान दिने सुनिश्चतता सहितका विज्ञापन दिनहुँ विश्वविद्यालयहरु र संसारभरका वैज्ञानिक वेवसाईटहरुमा देख्न सकिन्छ ।
नेपालमा केहीसय जना प्राध्यापकका लागि विज्ञापन खुलोस् र अनुसन्धानवृत्तिको व्यवस्था गरियोस्, कति मानिस फर्कन्छन् ? एउटा संस्थाले केहि समय पहिला ‘फर्क फर्क वैज्ञानिक’ भनेर प्रचार गरेको थियो, केहि वैज्ञानिकहरु फर्के पनि । उक्त संस्थाले मासिक २५÷३० हजार रुपैयाँको जागिर दिएर उनीहरुलाई व्यवस्थापना गर्यो तर केही महिनापछि उनीहरु पुन पहिलाकै मुलुक फर्किए । यस्ता खालका सस्ता प्रचारले वैज्ञानिक फर्किन्नन् र फर्के पनि टिक्दैनन् ।
आजका दिनसम्म लगभग वार्षिक एक लाखको संख्यामा युवा विधार्थी विदेशिएका छन्, जब वैज्ञानिक–प्राध्यापक स्वदेशमा टिक्दैनन्, युवा विधार्थीहरुमा त्यसको प्रत्यक्ष असर पर्छ, उनीहरुले पनि स्वदेशमा आफ्नो भविष्य देख्दैनन् ।
ढिला नगरौं
माथि उल्लेख गरिएको अवस्था विद्यमान रहेसम्म विदेशिएका वैज्ञानिक, प्राध्यापक, र प्राविधिकहरु स्वदेश फर्कने छैनन् । अझ देशमा रहेकाहरु पनि विदेशिने क्रम जारी रहनेछ, यो क्रम रोकिने छैन । यसको सीधा असर देशको विकास र समृद्धिमा पर्ने कुरामा दुईमत छैन ।
सरकारको नेतृत्व गरिरहेका र प्रतिपक्षमा रहेका राजनितिक पार्टीहरुको नेतृत्व र नीति निर्माण तहमा रहेका सरकारी पदाधिकारी, जनप्रतिनिध र सम्पूर्ण सचेत जनताको तहसम्मले यो अवस्था वुझेर जति सक्यो छिटो त्यो अनुरुप नीतिगत तथा कानूनी व्यवस्था गरौं । हजार माइल यात्राको पहिलो पाइला सार्न ढिला नगरौं ।
( डा. विरेन्द्र तिवारी सैन्टजेम्स स्कुल अफ मेडिसिन, याङगुला, व्रिटिश वेष्टइन्डिजमा प्राध्यापन गर्छन् )
