असीम तिमल्सिना -
डा. बाबुराम भट्टराईले नेपालमा जातीय आन्दोलन उठाउन ठूलो मेहेनत गरेका छन् तर जातीय आन्दोलनको नेता बन्न कहिले पाएनन् । जहिले पनि उनलाई अरुले उछिनिदिए ।
जनयुद्धकालीन माओवादीको जनपरिषद प्रमुख रहेका बाबुरामले जातीय मोर्चाहरु बनाउन आफूले विचार दिएको बताउने गरेका छन् । जनयुद्धपछि पनि विभिन्न जातीय समूहहरुलाई जन्माउन र हुर्काउन बाबुरामले ठूलो योगदान गरे, तर, ती समूहहरु उनको साथमा रहेनन् ।
संविधानसभामा जातीय मुद्दा स्थापित गर्न बाबुरामले ठूलो भूमिका निर्वाह गरे । संविधान सभाको संवाद समितिको सभापति रहँदा उनले नेपालको नाम र राष्ट्रिय झण्डा फेर्ने एजेण्डालाई बढावा दिएर जातीय समूहहरुको मन जित्न खोजेका थिए । त्यसमा पनि उनी असफल भए ।
राष्ट्र विखण्डनको मुद्दा बोकेर नेपाल आएका सिके राउत र उनको मुद्दालाई राष्ट्रिय स्तरमा उठान गराइदिन पनि बाबुरामले ठूलो सहयोग गरेका थिए । त्यसबेला कसैले नाम नसुनेका सिके राउतलाई संवाद समितिको वैठकमा बाबुरामले बोलाए । सिकेले धुँवाधार विखण्डनकारी विचार प्रस्तुत गरे । संविधानसभाको समितिमा विखण्डनकारी विचार राख्न पाएपछि रातारात चर्चित भएका थिए सिके राउत । त्यसपछि सिकेले विखण्डनकारी अभियान चर्काए ।
सिकेलाई विखण्डनकारी अभियान चर्काउन पनि बाबुरामले सहयोग गरे । सिके गिरफ्तार हुँदा बाबुराम रिहाईका लागि माग गरिहाल्थे । तर, बाबुराम यसमा पनि असफल भए । सिकेको विखण्डनकारी मुद्दा निस्तेज हुँदै गयो । अन्तत उनले विखण्डनकारी मुद्दा नै छाडिदिए ।
भविष्यमा नेपाल कता जान्छ, विश्व राजनीति कता जान्छ भन्ने बाबुरामको विष्लेशण भयानक त्रुटीपूर्ण ठहरियो । यो कारण पनि बाबुरामको राजनीति ओरालो लाग्यो । उनलाई नेपालमा जातीय भीडन्त हुन्छ, राजनीति पूरै जातीय हुन्छ भन्ने लागेको थियो । पश्चिमा र भारतीयहरुले नेपालमा जातीय राजनीतिलाई बढावा दिने भएकाले त्यही बाटो लाग्नुपर्छ भन्ने बाबुरामको बुझाई थियो भन्ने उनको राजनीतिक गतिविधिले प्रष्ट पाथर््यो । तर, यो मामिलामा विदेशीहरु असफल भए, जातीय राजनीति गर्न हुँदैन भन्ने कांग्रेस र एमाले सफल भए ।
बाबुरामलाई नेपालमा संविधान बन्छ भन्ने विश्वाशै थिएन । विदेशीले जे चाहन्छन् नेपालमा त्यही हुन्छ भन्ने भ्रममा परे । विदेशीहरु नेपालमा जातीय राजनीति चाहन्छन्, संविधान बनोस् भन्ने चाहँदैनन् भन्ने बाबुरामले बुझे । त्यसैले उनले संविधान बनाउने काममा यथासक्य अवरोध गरे ।
संविधान बन्ने अन्तिम क्षणमा भारतीय विदेश सचिव एस जयशंकर नेपाल आए । उनले केपी ओलीदेखि प्रचण्ड र सुशील कोइराला सम्मलाई भेटेर संविधान जारी नगर्नु भनेर धम्काए । बाबुरामलाई लाग्यो– भारतले नै धम्काइसकेपछि अब संविधान बन्दैन । त्सपछि उनले भारतीय विदेश सचिवको नेपाल प्रवक्ता झैं भूमिका निर्वाह गरे । संविधान जारी गर्ने हो भने नेपालमा २४ घन्टाभित्र जे पनि हुनसक्छ भनेर धम्काए ।
यसमा पनि बाबुराम असफल भए ।
संविधान जारी भएपछि बाबुरामको टेक्ने र समाउने ठाउँ नेपालमा रहेन । पार्टीभित्र उनी एक्लो भए । उनका सारा विष्लेशण गलत सावित भए । राजनीति उनले सोचेको बाटोमा गएन । तर, एउटा चाहिँ बाबुरामले चाहे अनुसार नै भयो– भारतले नाकावन्दी लगाइदियो ।
भारतले नाकावन्दी लगाएको बेला पारेर उनले तत्कालीन माओवादी केन्द्र त्यागे । नाकावन्दी र मधेस आन्दोलनलाई सघाउन तराई झरे । पहाडका जनजाति र मधेसी मिलेर नेपालको राज्यसत्ता ध्वंश गर्नुपर्छ भन्ने विचार उनले दिए । तर, उनले पहाड र मधेसका जातीय समूहहरुलाई एकीकृत गर्न सकेनन् । दुवैतिरका जातीय समूहहरुले उनलाई विश्वाश गरेनन् ।
त्यसपछि बाबुरामले नाम चलेका मानिसहरु भेला पारेर ठूलो खर्चमा नयाँ शक्ति पार्टी खोले । नेपालको इतिहासमा सबैभन्दा ठूलो रकम खर्चेर खोलिएको पार्टी भनेर बाबुरामले कीर्तिमान बनाए । पार्टी खोल्नलाई करोडौं रुपैयाँ खर्च गरेर विज्ञापन गरिएको थियो । ठूलो तामझामसाथ पार्टी खोलियो । तर, ‘चारआनाको मासुमा बाह्र आनाको मसला’ भनेजस्तो भयो । पार्टीले हावा खायो ।
गत आम चुनावमा बाबुराम तत्कालीन एमालेमा पस्ने निश्चित भयो । एमालेको सूर्य चिन्हमा चुनाव लड्ने पनि भए तर एमालेसँग गठवन्धन गरेको तत्कालीन माओवादीले बाबुरामलाई गोरखामा सीट छाड्न मानेन । त्यसपछि कांग्रेसको समर्थनमा बाबुराम चुनाव लडे । जिते ।
आफू सांसद बन्ने मामिलामा भने बाबुराम सफल भइछाडे तर बाँकी केहीमा पनि सफल भएनन् । निरन्तर असफल भए ।
नाकावन्दीपछि नेपालमा भारतको प्रभाव घट्यो, चुनावपछि जातीय राजनीतिको ज्वरोबाट मुलुक निको हुन थाल्यो । बाबुरामले जेमा भविष्य दखेका थिए, जुन रणनीतिलाई आफ्नो उभिने जमिन बनाएका थिए, त्यो जमिन नै भास्सियो । त्यसपछि बाबुरामका सामु विलाउनु र विलय हुनु दुईमध्ये एक उपाय छान्नुपर्ने अवस्था आयो ।
बाबुरामले विलय छाने । अहिले उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम प्रवेशको तरखरमा छन् । यद्यपि यो प्रवेशलाई पार्टी एकता भनिँदैछ । विगतमा पनि उनले फोरम प्रवेश गर्न चाहेका थिए तर अशोक राईहरुले दिएका थिएनन् । फोरम प्रवेश निश्चित जस्तै भइसकेपछि पनि परिस्थिति भाडिएको थियो ।
अहिले नयाँ शक्ति र फोरमको पार्टी एकता अर्थात् बाबुरामको फोरम प्रवेश सफल हुन्छ कि भाडिन्छ ? उत्सुकताको विषय बनेको छ ।
