राजकुमार रेग्मी -
नेपालमा अघिल्लो दिन ‘हास्य दिवस’ भयो, भोलिपल्ट ‘लज्जा दिवस’ भयो । विषय र प्रसंग हो राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको ‘मेरो सरकार’ को ।
राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अत्यन्त सामान्य विषय हो । सामाजिक सञ्जाल, चिया पसल, चौतारामा राम्रै उडन्ते विषय हुनसक्ने खालको कुरा हो यो । समाजलाई हल्काफुल्का उडन्ते विषय पनि चाहिन्छ, उडन्ते विषय भएन भने इन्टरनेट आधारित सामाजिक सञ्जाल चलायमान पनि हुँदैन ।
शुक्रबार नीति तथा कार्यक्रम आएपछि ‘मेरो सरकार’ शब्दावली उपर तीन खाले मानिसले टिप्पणी गरे । एकखाले मानिसले नबुझेर विरोधमा टिप्पणी गरे । अर्का खाले मानिसले विरोधको कुनै बहाना नपाइरहेको बेला ‘मेरो सरकार’ बहाना बन्न सक्ने देखेर विषय उछाले । अनि, अर्काखाले मानिस चाहिँ नकारात्मक परिवेशमा मात्र रमाउने बानी परेका हुन्छन्, उनीहरुले पनि ‘मेरो सरकार’ उपर धुँवाधार टिप्पणी गरे ।
र, यति अर्थहीन र हलुका विषयमा टिप्पणी गरेर देशमा हास्य दिवस मनाइयो ।
अब भोलिपल्टको कुरा गरौं । भोलिपल्ट अर्थात् नीति तथा कार्यक्रम आएको भोलिपल्ट बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीहरुसँग अन्र्तक्रिया गरे । एकजनाले फ्याट्टै सोधे– ‘राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न लगाउँदा किन ‘मेरो सरकार’ भन्न लगाएको ?’
सोही अन्र्तक्रियामा एकजनाले मन्त्रिमण्डल कहिले पुर्नगठन हुन्छ भनी सोधेका थिए, प्रधानमन्त्रीले जवाफ दिएनन् । ‘मेरो सरकार’ उपरको प्रश्नमा पनि जवाफ नदिएको भए हुन्थ्यो तर दिए । लामै जवाफ दिए ।
मार्मिक थियो जवाफ । एकखाले ठूलाठालु र मिडियाहरुले पनि उछालेको विषय हुनाले प्रधानमन्त्रीले ‘मेरो सरकार’ विषयमा जवाफ दिएका होलान् ।
यतिसम्म कुरा ठिकै थियो, बेलाबेलामा उछालिने हास्यास्पद विषयका रुपमै यो कुरा सीमित होला भन्ने ठानिएको थियो । तर, त्यतिबेला ‘लज्जा दिवस’ बन्यो जतिबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘मेरो सरकार’ शब्दावली संशोधन गर्न प्रतिनिधिसभामा संशोधन प्रस्ताव राख्ने निर्णय गर्यो । यति हलुका विषयमा प्रमुख प्रतिपक्षीको संशोधन !! यो लज्जाको विषय हो ।
कांग्रेसका आशलाग्दा भनिएका विश्वप्रकाश शर्मा, धनराज गुरुङ र गगन थापाहरुले समेत ‘मेरो सरकार’ विषयमा टिप्पणी गरे । बिहान उठेर आज कुनकुन विषयमा टिप्पणी ठोक्दा चर्चा पाइन्छ, कुनकुन विषय ‘हिट’ हुन्छ भनेर जोखाना हेर्ने शैली एकथरी चर्चितहरुले अपनाएको देखिन्छ । विश्वप्रकाश, गगन र धनराजहरु पनि यही कोटीमा देखिन थालेका छन् ।
यो हलुका विषय मात्र होइन, ठेट नेपालीमा भन्नपर्दा तात्तो न छारोको विषय पनि हो । कांग्रेस जस्तो पार्टी यस्तो हलुका विषयलाई महान मुद्दा बनाइरहेछ ।
राष्ट्रपति र राजा
संसदीय शैली अपनाएका मुलुकहरुमा राष्ट्रपति या राजा आलंकारिक राष्ट्राध्यक्ष हुन्छन् । उनीहरुले ‘मेरो सरकार’ भन्छन् । अमेरिकाका कार्यकारी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘माई गर्भनमेन्ट’ अर्थात् ‘मेरो सरकार’ भन्छन् ।
यस लेखकाे भिडियाे टिप्पणी पनि हेराैं -
‘मेरो सरकार’ भन्ने चलन पृथ्वीभर छ, नेपाल मंगल ग्रहको देश होइन ।
विगतमा राजाले ‘मेरो सरकार’ भनेका हुनाले अहिलेका राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न हुँदैन भन्नु तर्क होइन कुतर्क हो । जति तर्कको जलप लगाए पनि कुतर्क भनेको कुतर्क नै हो । राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि वर्तमान सरकार विद्यादेवी भण्डारीको मात्र हुने, बाँकी नेपालीको चाहिँ नहुने अर्थ लगाउनु हास्यास्पद हो । र, यस्तो हास्यास्पद कुतर्कलाई कांग्रेसले मूल मुद्दा बनाएको छ ।
राष्ट्रपतिलाई कुनै मान मर्यादा नदिने हो त ? राष्ट्राध्यक्षलाई दिइने मानमर्यादा व्यक्तिलाई दिइएको होइन, राष्ट्रपतिलाई दिइएको मानमर्यादाले देशको गौरव बढाउँछ, देशको इज्जत राख्छ भन्ने सामान्य तथ्यवोध पनि नगर्ने त ?
अहिले प्रधानमन्त्री पदमा केपी शर्मा ओली छन् । जो व्यक्ति प्रधानमन्त्री छ उसको सरकार भन्ने चलन छ । अर्थात् अहिलेको सरकारलाई ‘ओली सरकार’, ‘केपी ओलीको सरकार’, ‘नेकपाको सरकार’ आदि पनि भनिन्छ–लेखिन्छ । ‘ओली सरकार’ नलेख्ने मिडिया शायद छैनन् होला । ‘ओली सरकार’ भन्दा यो सरकार केपी ओलीको मात्र बुझिन्छ र ? ‘नेकपाको सरकार’ भन्दा नेकपाको कार्यकर्ताको मात्र सरकार बुझिन्छ र ?
‘मेरो सरकार’लाई मूल मुद्दा बनाउनेहरुको एकमात्र तर्क छ– हिजो राजाले भन्थे, आज राष्ट्रपतिले किन भनिन् ? हिजो राजाले जेजे गर्थे ती कुनै पनि काम राष्ट्रपतिले गर्न नहुने हो त ?
प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँगको अन्र्तक्रियामा भने– संसदको दुवै सदनले विधेयक पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाएपछि मात्र कानून बन्छ । सही भने उनले । त्यति धेरै जनप्रतिनिधिले पारित गरेपछि राष्ट्रपतिले किन लालमोहर लगाउनुपर्यो भनेर प्रश्न उठाए भइहाल्यो नि भने ओलीले ।
ओलीको यो भनाईमा पनि एउटा रोचक पक्ष छ । उनले ‘लालमोहर’ शब्द प्रयोग गरे । अहिले लालमोहर लगाइँदैन, प्रमाणिकरण गरिन्छ । प्रधानमन्त्रीले राजाकालीन ‘लालमोहर’ शब्द किन उच्चारण गरे ? प्रमाणिकरणलाई लालमोहर किन भने ? यसो भन्दै प्रश्न उठाउन सकिन्छ । तर, यस्ता वेतुकका प्रश्नको अर्थ केही हुन्छ र ?
राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा प्रश्न उठाउनु पनि वेतुकको कुरा हो । अर्थहीन र हावादारी कुरा हो । उडन्ते कुरा हो । देशको महत्वपूर्ण समय यस्ता अर्थहीन र उडन्ते कुरामा खर्च गर्न हुँदैन । बास्तवमा यो ‘तात्तो न छारो’ विषय हो । यति हलुका विषयमा पनि लामै लेख लेख्नुपर्ने वाध्यता आइलागेको छ । तात्तो न छारोको विषय उछालेर देशलाई तताउन खोजिएपछि लेख्नैपर्ने भयो ।
अब कुरा कांग्रेसको
वाम गठवन्धनको चुनाव घोषणापत्रमा तीन वर्षभित्र काठमाडौंं उपत्यकामा विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्यायोजना लागू गर्ने लेखिएको छ । यो काममा नीति तथा कार्यक्रममा के गरिएको छ ? कता जानुपर्ने नीति तथा कार्यक्रम कता गयो ? हुनुपर्ने नीति तथा कार्यक्रम यस्तै हो ? यस्तै होइन भने कस्तो हो ? कांग्रेसले यस्ता विषयमा प्रवेश गर्नुपर्ने हो । अनेक कोणबाट वैचारिक बहस उठान गरेर ओली सरकारलाई आच्छुआच्छु पार्नुपर्ने हो । यस्तै कामका लागि जनताले कांग्रेसलाई प्रमुख प्रतिपक्षीको जिम्मेवारी दिएका हुन् ।
उठाउनुपर्ने विषय नउठाउने, रचनात्मक र सकारात्मक बहस नगर्ने, हल्काफुल्का तथा स्तरहीन विषयमा केन्द्रीत हुने कांग्रेसको शैली ऊ स्वयंका लागि पनि घातक छ, देशका लागि पनि घातक छ ।
कांग्रेसले उठाउनुपर्ने विषय अनेक छ । अर्थ न वर्थको विषय उठाएर कांग्रेसले आफूलाई नालायक प्रतिपक्षी सिद्ध गर्दैछ ।
नकारात्मक युग
नेपालमा राणा युग थियो, अन्तरिम युग थियो । पञ्चायत युग थियो । बहुदलीय युग आयो । त्यसपछि दस वर्ष रक्तपातपूर्ण जनयुद्धको युग आयो । त्यसपछि जातीय र धार्मिक अन्धता र उन्मादको युग आयो । जातीय, धार्मिक तथा क्षेत्रीय उत्तेजनामा देशले दस वर्ष बितायो । संविधान बनेपछि नयाँ युग आएको छ, विकास र स्थिरताको युग आएको छ । तर, यो युग तथा अहिलेको कालखण्डलाई ‘नकारात्मक युग’ बनाउन खोजिँदैछ । नकारात्मक र अर्थहीन हल्काफुल्का कुरामा रमाउने पुस्ता तयार गरिँदैछ । तिललाई पहाड बनाउने, असली मुद्दाहरुलाई ओझल पारेर नक्कली र कृत्रिम मुद्दाहरुलाई चर्काउने काम गरिँदैछ । जसरी हिजो विभिन्न कृत्रिम मुद्दाहरुमा देश र जनताको मूल्यवान समय बरवाद पारियो, अब पनि नकारात्मक र कृत्रिम मुद्दाहरुमा देशको समय बरवाद पारिँदैछ ।
नकारात्मक युगको एउटा उदाहरणीय घटना हो ‘मेरो सरकार’लाई उछाल्नु । भविष्यमा पनि यस्ता अर्थहीन र तात्तो न छारोका अनेक मुद्दाहरु उठाइनेछन् । यस्ता नक्कली मुद्दाहरुबाट जोगिँदै सक्कली मुद्दाहरुमा प्रवेश गरौं ।
