सृजना शर्मा -
केही दिनदेखि मौसम राम्रो थिएन । पोखरा पुग्दासम्म पनि सफा निलो आकास देखिएन त्यसैले सुन्दर नगरी पोखरामा टलक्क टल्किएर उभिएको माछापुच्छ्रे देख्न नपाउँदा मन खिन्न भएको थियो । के नपुगे जस्तो भइरहेको थियो तर हाम्रो यात्रा मुक्तिनाथ सम्मको भएकाले नजिकबाट हिमाल हेर्ने आशा जिवितै थियो । पोखरामा एकछिन बसेर खाजा खाएर हामी पर्वतको कुश्मातिर लाग्यौं । सडक चौडा बनाइँदै रहेछ । निर्माणपछि पक्कै यात्रा सहज होला तर हामीले चाहिँ खाल्डाखुल्डी छल्दै मोटर अगाडि बढाउनुपर्यो ।
सुन्दर र सफा कुश्मा बजार हाम्रो स्वागतमा उभिएझैं थियो । पर्यटकीय सम्भावना बोकेको कुश्मामा रहेको नेपालकै लामो झोलुंगे पूल, नेपालकै अग्लो स्थानमा रहेको झोलुंगे पुल र निर्माणाधीन बन्जी जम्पिङ साइट हेर्दै पर्वतको रुग्दी पुग्यौं । पोखरामा देख्न नपाएको माछापुच्छ्रेलाई रुग्दीबाट हेर्न पाउँदा प्रफुल्ल भयौं ।
कुश्मामा दुई दिनको विश्रामपछि हाम्रो यात्रा फेरि सुरु भयो– मुक्तिनाथ तर्फ । कुश्मादेखि म्याग्दीको बेनीसम्म खाल्डाखुल्डी भएपनि पिच सडकमै गुड्न पायौं तर बेनीदेखि कागबेनीसम्म चाहिँ कच्ची सडकमा गुड्यौं । पहाडको साँघुरो, उकालो र भिरालो कच्ची बाटो । यात्रा जोखिमपूर्ण छ तैपनि प्रकृतिप्रेमी र दर्शनार्थीहरुको लस्कर नै देखियो बाटोभरी ।
म्याग्दीमा रहेको तातोपानी कुण्डको पोल्ने पानी र रुप्से झरना हेर्दाको आनन्दले अप्ठेरो बाटो बिर्साउँदो रहेछ । घासा प्रवेशसँगै चिसो हावाले मुस्ताङ प्रवेशको आभास दियो । घासाबाट लेते पुग्दासम्म खुलेको आकास मुनि मनै लोभ्याउने गरी लहरै सेतै मिलेका धौलागिरी र अन्नपूर्ण हिमालका दृश्य देख्दा आखा, मन, मस्तिष्क र आत्मा सबै रमायो ।
हिमालको सुन्दरता शब्दमा वयान गर्न सकिन्न ।
लेतेमा मीठो खाना खाएपछि हामी अघि बढ्यौं मार्फा पुग्दा बाटोको देब्रेतिर फूल लागेका स्याउ बगान देख्दा छुट्ठै आनन्द आयो । विगतमा यातायात सुविधा नहुँदा स्याउ खेर जान्थ्यो, कुहिएर जान्थ्यो । तर, यातायात भएपछि स्याउ खेर जादैन रहेछ । मुस्ताङको मीठो स्याउ देशभर पुगिरहेछ । बगानमा नै लिन पुग्दा रहेछन ठेकेदारहरु ।
बाटोमा देखिएका रमणीय दृश्य क्यामेरामा कैद गर्दागर्दै जोमसोम पुगेको पत्तै भएन ।
सुन्दर, शान्त, सानो जोमसोम बजार हामी दिउँसो साढे एकमा पुग्यौं । हावा निकै चल्ने । विहान दस बजेपछि हल्का हावा लाग्न सुरु भई वेलुकै सम्म हावा चल्ने रहेछ । निरन्तर चलेर रुखका हाँगाहरुलाई सधैं एकैतर्फ धकेल्नाले हाँगाहरु एकातिर मात्र फर्केको देख्दा आश्चर्य लाग्यो । समस्याका आँधी तुफान सहेर, झेलेर, लडदै, उठ्दै गरेको मानिस जति वलियो साहसी र सफल हुन्छ त्यस्तै ती रुखहरु पनि हावाको वेगलाइ झेल्दै आफूलाइ वातावरण अनुसार स्थापित बनाउन सफल भएका होलान् । मनमा यस्तै तर्कनाहरु आइरहे ।
जोमसोम बजारमा रहेका प्राय लजका झ्यालबाट हिमालका दृश्य देखिने रहेछन । झ्यालबाट निलगिरी हिमाल र अन्नपूर्ण हिमाल हेर्न पाउँदा यात्राको थकान र जीवनका दुःख पीडा सारा बिर्सन पुगियो ।
जोमसोम कस्तो सुन्दर नगरी ! शायद यही हो स्वर्गपुरी । यहाँ अविचलित हिमालहरुले साहस र शान्तिको सन्देश छरिरहन्छन । हिमालबाट बगेर आउने कञ्चन, निर्मल र स्वच्छ पानीले जीवन दिइरहन्छन । अहा, तपोभूमि मेरो देश ! स्वर्गपुरी मेरो देश ! यी भावले मन खुशीले गदगद भइरह्यो ।
प्रत्येक वर्ष दशै र तिहारको समयमा जोमसोममा पर्यटकको ओइरो नै लाग्ने रहेछ । त्यसमा पनि आन्तरिक पर्यटकहरुको चाप धेरै हुने रहेछ । लजका कोठा सबै भरिएर बाहिर टेन्टमा वस्नुपर्ने अवस्था हुने रहेछ ।
धम्व ताल जोमसोमको अर्को आकर्षण रहेछ । जाडो महिनामा तालको पानी जमेर मान्छे उभिन मिल्ने बन्छ । जोमसोमलाई क्यामेरामा कैद गर्दैगर्दा राज्यले यहाँसम्म पुग्ने बाटो सहज बनाइदिएको भए नेपालीमा विकास हुदै गएको घुम्ने संस्कारले विदेशभन्दा नेपाल नै पहिला रोज्थ्यो होला । यति अप्ठयारो बाटो हँुदा त दिनकै हजारौं नेपाली संख्यामा मुक्तिनाथ पुगिरहेछन् । सहज भए कति पुग्थे होलान ? समृद्धिका लागि अब आन्तरिक पर्यटनलाई एउटा दरिलो माध्यम बनाउन अब ढिला गर्न हुँदैन ।
एकदिनको जोमसोम बसाईपछि भोलिपल्ट मुक्तिनाथ दर्शनको यात्रा सुरु भयो । कागवेनीमा श्राद्ध गर्नेहरुको निकै घुइँचो थियो । कागवेनीबाट मुक्तिनाथ सम्मको १२ किलोमिटर सडक कालोपत्रे देख्दा भने मन आनन्दित भयो । हामी दुई हजार ८०४ मिटरको उचाइमा थियौं । मन्दिर पुग्न अझ नौ सय मिटर उकालो चढ्नु थियो । उकालो बाटो भएकाले गाडीहरु बिस्तारै जाने रहेछन् ।
मुक्तिनाथ नाम जस्तै ठाउँ पनि अति सुन्दर । मन्दिर सम्म पुग्न आधा घण्टा हिड्नुपर्छ । हिँड्न नसक्ने र रहर गर्नेहरु तीन सय रुपैयाँ तिरेर घोडामा जान पनि सक्छन् । घोडामा बसेर फोटो खिचेको चाहिँ सय रुपैयाँ लाग्ने रहेछ ।
मन्दिरमा एकसय आठ जल धारा छन् । पाप कुण्ड र धर्म कुण्ड नामका दुइ कुण्ड पनि छन् । ती कुण्डमा नुहाएर एकसय आठ धारामा नुहाएपछि मोक्ष प्राप्त गरिन्छ भन्ने भनाइ रहेछ । मन्दिरबाट उत्तर फर्कँदा सुन्दर हिमाल देखिन्छ । दक्षिण फर्कंदा मुस्ताङका मिलेका डाँडा तथा खर्कहरु देखिन्छ । ती हिमाल, डाँडा र खर्कहरु हेरेर आखाँ थाक्दैन, मन, मष्तिष्क र शरीर थाक्दैन । जहाँ कणकणमा इश्वरको वास छ जहाँ स्वर्गको आभास छ । शायद हाम्रा पुर्खा यहीँ आएर तपस्या गरेर ज्ञान आर्जन गरी विश्व सामु छर्थे होलान् ।
मुक्तिनाथसम्मको यात्रा गर्दा त्यो बाटोमा गाडी गुडाउने चालकहरु प्रति मेरो उच्च सम्मान रह्यो । पहाडको साँघुरो, उकालो र भिरालो बाटोमा सहजता साथ गाडी गुडाइरहेका उनीहरु सुन्दर स्थानमा गाडी रोकेर गाइडको काम पनि गर्छन् ।
मुस्ताङ जानेक्रममा बाटोमा हेलिकप्टरबाट विमारीको उद्धार गरिएको देख्दा भने मन चसक्क भयो । यति सुन्दर ठाउँमा सुविधा सम्पन्न अस्पताल भए यसरी जनताले खर्च गर्नुपर्ने थिएन । स्वास्थ्य, शिक्षा, बाटोे पूलको व्यवस्था यी सुन्दर स्थानहरुमा पुराइ त्यहाँ जीवनलाइ सहज बनाउन जरुरी छ ।
उपल्लो मुस्ताङको यात्रा बाँकी राखेर हामी फर्कियौं । आशा गरौं– अब उपल्लो मुस्ताङ कालो पत्रे बाटोमा सररर जान पाइयोस् ।
