दयालबहादुर शाही––
काठमाडौं । केही दशक अघिको कुरा हो, नेपालमा कम्युनिष्टलाई कमै मात्र बिश्वास गरिन्थ्यो । कांग्रेसको सहयात्री वा सहायक भन्दा माथि उठेर वामपन्थीहरु वैधानिक र लोकतान्त्रिक ढंगले राष्ट्यि राजनीतिको मियो बन्न सक्नेमा कमैमा मात्र बिश्वास थियो ।
किनकी कम्युनष्टि पार्टी आफै गुटबाद र फुटवादले थलिएको थियो । त्यसमाथि नेपालको धरातलीय यथार्थ भन्दा पृथक राजनीतिक कार्यव्रmम, अक्कड नेता र सीमित दायराको कार्यकर्तापंत्ति जस्ता समस्याहरु सँग सबै बामघटकहरुले जुध्नु परेको थियो । २०४६ सालपछि स्थितिमा बदलाब आयो ।
मूलतः झापा बिद्रोहको राप र तापबाट खारिएको माले एमाले धारलाई मदन भण्डारीले चिन्तन, संगठन र जनसमर्थनको पोषण दिएर उठाएपछि नेपालको मूलधारको राजनीतिमा राजा, कांग्रेस र कम्युनिष्ट बीच त्रिपक्षीय शक्ति सन्तुलन कायम भयो । विचार, जनाधार र सदाचारको जब्बर धरातलमा एमालेले लय पव्रिmएकै बेला जनयुद्धको उठानदेखि सुरक्षित अवतरसम्म पुष्पकमल दाहाल प्रचण्डले मोलेको जोखिमले नेकपा चरम उत्कर्षमा पुग्न सक्यो ।
समस्या नेपाल कम्युनिष्ट आन्दोलनका दुई ठूला भँगाला एमाले र माओवादीलाई भैसीको मासु सिँगको अचानो गरेर जोरिपारीले आगामी केही दशकसम्म लाभ उठाइरहने फुटवादको कमजोर कडीनेर थियो ।
गत वर्ष जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि वामपन्थी बीचको फाटोमा फाटो गुजारा चलाउनेको रोजीरोटी गुमेको छ । हिजोसम्म एमालेलाई रोक्न सक्ने माइकालालको खोजी गर्नेले माओवादी भेटाउथे भने माओवादीलाई रोक्ने पहलमानको खोजी गर्नेले एमाले भेटाउथे ।
अब नेकपाले आफ्नो शक्ति ऐठन पार्ने आफ्नो आन्तरिक कमजोरीमाथि पूर्णरुपले विजय हासिल गरेको छ । एक आशलाग्दो, रहरलाग्दो र भरलाग्दो शक्ति केन्द्रका रुपमा नेकपाले विराट सम्भावनाहरुको भ्रूण बोकेको छ ।
विचार, जनाधार, सदाचारको त्रिवेणी हुनसक्नु जस्तो सन्तुलनमा रहेर आधुनिक नेपाललाई सवल नेतृत्व प्रदान गर्नु नेकपालाई इतिहासले सुम्पिएको कार्यभार हो ।
खारिएको नेतृत्व
एउटा राजनीतिक शक्तिले विराट संभावनाहरु बोकेको भए पनि यदि खारिएको नेतृत्व छैन भने स्थितिले उल्टोपाल्टो मोड लिएर अनुकूलता प्रतिकूलतामा फेरिन समय लाग्दैन ।
उदाहरणका रुपमा लिनु पर्दा पृथ्वीनारायण शाहले बडो दुःखले गोर्खाबाट उठाएर काठमाडौंमा अवतरित गेरको शासन सत्ता उनका छोरा प्रतापसिंह शाहका लागि कागलाई बेल पाके सरह रहेको र गिरिजाप्रसाद कोइरालाको अवशानपछि कांग्रेसले लय गुमाएको घटनालाई लिन सकिन्छ ।
नेकपाले आगामी केही दशकसम्म नेतृत्वको संकट बेहोर्नु पर्ने छैन । बरु आन्तरिक बेमेल र नेतृत्वको व्यवस्थापनमा नेकपाले आफूलाई तेजकरार सिद्ध गर्न सक्नुपर्ने चुनौती छ ।
खारिएको नेतृत्वको भण्डार नै नेकपाको अटल सौभाग्यको सूचक हो । प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री जस्ता संवैधानिक एबं राजकीय भूमिकामा रहेका दर्जन नेता एउटा दलका लागि चानचुने प्राप्ती होइन ।
राज्य र पार्टीको महत्वपूर्ण पदमा नरहे पनि निष्ठा, निरन्तरता र धैर्यका त्रिआयामिक रत्नहरुको खानी नेकपासँगै छ । अतिरिक्त खेलाडी जस्ता पद नभए पनि कद उठाउनमा पारंगत आस्थाका इस्पातहरुले नेकपाको भरथेग गर्दै आएको सिलसिला छ ।
अध्ययन, वहश, प्रशिक्षण संस्कृतिको बलियो जग बसेको छ । विचारको विविधता, विचार र सिद्धान्त बीच प्रतिष्पर्धा र वैचारिक नेताहरुको उपलब्धता छ ।
अहिलेको मौनता त आँधी आउनु अघिको सन्नाटा मात्र हो । निकट भविष्यमा विचार बिमर्शका हिसाबले चलायमान पार्टी पनि नेकपा नै हुनेछ ।
राजनीति, संगठन, प्रचार युद्ध र कूटनीति हरेक क्षेत्रमा अब्बल मझौला पुस्ता र युवा पुस्ता नेकपासँग रहेको अमोघ शक्ति हो । जनताभन्दा धेरै अघि वा धेरैपछि होइन जनताबाटै सिक्ने र जनतालाई नै सिकाउने संस्कार छ ।
व्यवहारकुशल हुँदै गर्दा सिद्धान्त बिर्सने वा संशोधनवादी हुने र सैद्धान्तिक जडताका नाममा अक्कड र रुखो भएर जनताबाट अलगथलग रहने खतराबाट जोगिनमा पारंगत पार्टीपंति रहेसम्म प्रतिष्पर्धाको मैदानमा नेकपाले पिठ्यु फर्काउनु पर्ने छैन ।
सुसंगत विचार सिद्धान्त
नेकपासँग सुसंगत विचार सिद्धान्त छ । झापा विद्रोहदेखि जनयुद्धसम्म र संविधानसभादेखि संसदसम्मका उतारचढाव र भोगाईले मानमाथिको भुक्तमान भएको यो दलसँग विचारहरु बीचको प्रतिष्पर्धालाई सहज रुपमा लिने सद्गुण छ । जनताको वहुदलीय जनवाद, एक्काइसौं शताब्दिको जनवाद र जनताको जनवाद माथि बहश खुला छ ।
सामन्तवादको अन्त्य, दलाल नोकरशाही पूँजीवाद सँगको संघर्ष, साम्राज्यवादी र प्रभूत्ववादको शोषण र हस्तक्षेपको बिरोधको जनवादी सारको पक्षपोषण गर्दै माक्र्सवाद र संसदीय प्रणाली बीचको सेतुको रुपमा प्रतिपादन गरिएको जनताको वहुदलीय जनवाद यस्तो रक्षाकबच हो, जसले छात्तीमा अधिनायकवादीको बिल्ला भिराएर समाप्त पार्ने षडयन्त्रबाट नेकपालाई बचाउने छ । जबजको विकल्पमा अवलम्न गरिने विचार सिद्धान्त पनि जवजभन्दा सुसंगत नै हुनेछ ।
जवजमा अन्तरनिहित यी चार वटा मूलभूत विशेषतालाई विस्थापन गरेर होइन आत्मसाथ गरेर मात्र नयाँ विचार सिद्धान्तको बिकास गरिने छ ।
देशभक्तिको लय
नेपाललाई सुडान बनाउने षडयन्त्र रच्ने र सिंगापुर बनाउने सपना देख्ने दुई खाले शक्ति बीच द्वन्द्व छ । दुई दुई वटा संविधान सभा प्रयोजनहीन बनाउने चलखेल र राजनीतिलाई समर्पणको लिकमा उभिन नदिएर जीन र धनको कठपुतली बनाउने जोडबल जनताको सचेतनाले गर्दा विफल भएका छन् ।
नाकाबन्दीको बेला हस्तक्षेपका अगाडिको झुकाइ र सहकार्यको राजनीतिप्रतिको अरुचिले नेपाली कांगे्रसलाई राष्ट्रिय राजनीतिको शिखर भूमिकाबाट हातधुन बाध्य पारिदियो । आज कांग्रेसका पाका नेताहरुको ढल्दो उमेर र चमत्कारिकढंगले युवानेताको उदयको क्षीण संभावनाले पनि घुमाउरो रुपले नेकपालाई नै सघाएको छ ।
नाकाबन्दीको बेला जनता र देशको नेतृत्व प्रदान गर्नु त कता हो कता पक्षमा पनि नउभिएर कांगे्रसले मैदान खाली गरिदिएपछि तरबार उठाएर तोपसँग मुकाबिला गरेर देश बचाउने पुर्खाको बिरासत रक्षा नेकपाले गर्न सक्यो ।
कम्युनिष्टहरु जनतासँग मिल्न सक्तैनन्, विपक्षीप्रति सहिष्णु हुँदैनन्, अधिनायकवादी हुन्छन् आदि विश्वव्यापी स्यालहुइयाँलाई नेकपाले जनताको काखमा रहेर तथा जनताको साथ लिएर व्यवहारिक ढंगले नै प्रतिवाद गर्न सकेको छ ।
जनआन्दोलन हाँक्ने सवालमा होस् कि शान्ति प्रव्रिmयालाई टुंगोमा पुगाउने सवालमा, राज्यसंयन्त्रको मियो बन्ने सवालमा होस् वा आधुनिक लोकतान्त्रिक, देशभक्त एबं प्रगतिशील विश्व समुदायसँग भाइचारा कायम गर्नमा नेकपाले आफूलाई सक्षम साबित गरेको छ ।
जागेका जनताको शक्ति र जनादेशको अधीनमा रहेसम्म नेकपालाई जनताको दिलबाट उखेलेर भिरको डिलमा मिल्काउने कुनै पनि षडयन्त्र सफल हुने देखिदैन ।
स्थिरता, सुशासन र समृद्धि
पेट पाल्न मुस्किल भएकाले विलासिताको पछाडि दौडनु, जिउ नै भारी भएकाले उफ्रिन खोज्नु र राष्ट्रिय अस्मिता नै जोखिममा परेको मुलुकले एकाएक समाजवाद साम्यवाद लागू गर्न खोज्नु एउटै खाले हतारोका अभिव्यक्ति हुन् ।
एउटा खुट्टो दरिलो गरी नटेकी हतारमा अर्को पाइला चाल्ने गल्तीबाट जोगिदै सर्वप्रथम त नेकपाले आम जनताको हुन नसकेको राज्य संयन्त्रलाई राजनीतिक स्थिरताको खुराक दिएर जगैदेखि बलियो बनाउनु छ ।
एक वर्ष यताको सीमित प्रकारको स्थिरताले के देखाएको छ भने देश विगतका धेरै दशकदेखि मुट्ठीभर टाठाबाठाहरुको लागि लैनो भैसी बनेको रहेछ । छिमेकी भारत र चीनले हासिल गरेको तीब्र बिकाससँग लय मिलाउन नेपालसँग राजनीति स्थायित्व र सुशासनको बिकल्प छैन ।
अटल र निडर नेतृत्वले संकटलाई अबसरमा बदल्न सक्छ । सकारात्मक परिणाम सतहमा आइसकेको छ । दुबै छिमेकी बीच पारवहन सुबिधा र बन्दरगाह उपयोगमा दिनमा देखिएको होडबाजीले नेपालले भोग्दै आएका हस्तक्षेपका पीडाहरु अब दन्त्य कथा बन्दै छन् ।
तीनै तहको चुनाव सम्पन्न भएर अस्थिरता र अन्योलता अन्त्य भएको छ । जनादेश प्राप्त तीनै तहका सरकार गृहनिर्माणमा जुटेका छन् । जनप्रतिनिधि र दलका गतिविधिलाई जागेको जनताको निगरानी र परीक्षण जारी छ । त्यसैले नेकपाले धेरै जादु देखाउनु पर्दैन ।
मुलुकले आफ्नो सामथ्र्यले भ्याए जति गर्ने काममा नियतवश गल्ती र गडबढी नगरिदिए पुग्ने छ । स्थायित्व, सुशासन र समृद्धिको यात्रामा नेतृत्वले आफू बाधक होइन साधक बनिदिए पुग्छ ।
एक दुर्लभ अवसर
नेपालको इतिहास हेर्ने हो भने एउटै राजनीतिक दल वा नेताले वैधानिक ढंगले सुबिधाजनक ढंगले सरकार संचालन गर्न पाएका उदाहरण छैनन् । पाएका दुर्लभ अवसरको सदुपयोग हुन नसक्दा देश बर्बादीको भागिदार बनेको लामो सिलसिला छ ।
२०१५ सालमा जनादेशको वलमा प्रधानमन्त्री बनेका विश्वेश्वरप्रसाद कोइराला र जननिर्वाचित प्रधानमन्त्री हाराहारीकै संवैधानिक हैसियत रहेका राजा महेन्द्र बीचको टसलले देश दशकौं पछि धकलिन पुग्यो ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र मदन भण्डारी नेतृत्वको एमाले बीच पनि समझदारीको बिकास हुन नसक्दा देश चाँडै गृहयुद्धतिर धकलिन पुग्यो । एकदशकपछि पुष्पकमल दाहाल प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको मेलबाट देशले त्राण पाउन सक्थ्यो ।
नेपालमा भरपर्दा शक्तिलाई मिल्न नदिने तत्व त्यहाँनेर पनि सफल भयो । कोइरालालाई जब तत्वबोध भयो तब आफ्नै जीर्ण शरीरले साथ दिएन ।
मिल्न सकेर तथा मिलाउन सकेर देशलाई सही लिकमा उभ्याउन सक्ने दुर्लभ अवसर महेन्द्र र वीपी, मदन र जीपी, प्रचण्ड र जीपीपछि प्रचण्ड र केपीसामु आज उपलब्ध छ ।
यस दुर्लभ अवसरको सदुपयोग गरेर नेकपाले देश र जनताको पोल्टामा सौभाग्य थमाउने मात्र छैन कि स्वयं आफैलाई न्याय गरेर दिगो दरिलो र भरपर्दो शक्तिका रुपमा स्थापित गर्ने छ ।
