--सुवास देवकोटा
चार दिनअघि सातौं चरणको चुनावपछि भारतीय टेलिभिजनहरुले प्रशारण गरेको एक्जिट पोलको अनुमान अनुसार नै अहिले भारतीय चुनावको नतिजा आइरहेको छ । जस अनुसार, भारतीय जनता पार्टी र उसको गठवन्धनले २०१४ मा भएको निर्वाचनभन्दा गतिलो प्रदर्शन गरेको देखिएको छ । केही दिनदेखि गरिएको अनुमान अनुसार नै आगामी ५ वर्षका लागि भारतमा नरेन्द्र मोदी अझ बलियो आधारसहित पुनः प्रधानमन्त्री बन्नेछन् ।
एक्जिट पोलको अनुमान टेलिभिजनहरुमा प्रशारण हुँदा भारतीय जनता पार्टीका तमाम बिपक्षीहरुले त्यसको विश्वसनीयतामा शंका गरेका थिए । बिपक्षी नेताहरुले त कहाँसम्म भने, एक्जिट पोलको अनुमान भोटिङ मेशिनलाई बिगारेर नतिजा भाजपाको पक्षमा पार्ने षड्यन्त्र अनुसार ल्याइएको आरोप लगाए । तर, निर्वाचन आयोगको स्पष्टिकरण र मतगणनास्थलको सुरक्षा बन्दोबस्तमा सुधार गरिएपछि मतगणना निर्विघ्नरुपमा अघि बढ्यो ।
अपवादबाहेक भारतीय निर्वाचनमा एक्जिट पोलको अनुमान प्राय सही सावित हुँदै आएको छ । स्वराज इन्डियाका नेता तथा नामी चुनावी विश्लेषक योगेन्द्र यादवले एक्जिट पोल आउनासाथ नै त्यसको दिशा सही भएको तथा मोदीको नेतृत्वमा भारतीय जनता पार्टी तथा उसको गठवन्धनले जित्ने निश्चित रहेको बताएका थिए । उनका अनुसार, एक्जिट पोलले जित्ने देखाएको पार्टीले त्योभन्दा बढि सीट ल्याउने सम्भावना रहन्छ । उनले भने अनुसार नै भारतीय जनता पार्टी र उसको गठवन्धन एनडीएले सहज बहुमत पाउने लक्षण देखाएको छ ।
विजयका तीन हतियार
अरु विश्लेषक र उनै योगेन्द्र यादवका अनुसार, भारतीय जनता पार्टीले चुनावमा यो मात्रामा सीट जित्नुमा उनीहरुका तीन हतियार सबैभन्दा महत्वपूर्ण कारण रहे, ती हुन्, मोदी, मिडिया र मनि । हुन पनि, बिपक्षका नेताको तुलनामा मोदीको व्यक्तित्व यति बृहत देखियो कि प्रधानमन्त्रीका रुपमा भारतीय जनताले अरु कसैलाई देख्न चाहेनन् । भारतीय टेलिभिजनहरुमा प्रशारित सर्वेक्षणका अनुसार,प्रधानमन्त्रीका रुपमा मोदीलाई देख्न चाहनेमा२०१४ को तुलनामा भारतीय जनता पार्टीलाई मतदान गर्ने मात्र होइन, अरु पार्टीलाई मतदान गर्नेहरुको संख्या पनि अहिले बढेको थियो । भारतीय मिडियाले कतिसम्म भनेका छन् भने, भारतीय जनता पार्टी र उसको गठवन्धन चुनाव लडेका सबै क्षेत्रमा मोदीलाई नै उमेद्वारका रुपमा प्रस्तुत गरिएको थियो तथा मतदान गर्नेले पनि त्यो क्षेत्रमा उठेका उमेद्वारको नाम र कामभन्दा मोदीलाई नै हेरेर मतदान गरे ।
कुनै बिबाद छैन कि, २०१४ को लोकसभा निर्वाचनदेखि नै भारतीय मूलधारका मिडिया मोदीपक्षीय थिए । आफ्नो ब्यापारका लागि दर्शक अर्थात ‘टीआरपी’ आवश्यक पर्ने टेलिभिजनहरुले बहुमत दर्शक मोदीलाई हेर्न चाहने भएकाले पनि हुन सक्छ वा बिज्ञापनलगायत अरु सहुलियत पाउने लोभमा पनि हुनसक्छ, बितेका पाँच वर्ष नै मुख्यतया, टेलिभिजनहरु मोदीको व्यक्तित्वलाई थप बृहत बनाउन लागिपरे । जसका कारण, मोदीको व्यक्तित्वको आकार अरु बढ्यो र परिणाम योरुपमा आउन सम्भव भयो ।
त्यसो त, भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले विगत ५ वर्षमा फैलाएको संगठनको तुलनामा कांग्रेस सांगठनिकरुपमै कमजोर रहेको थियो । परिणाम नआउँदै पनि भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कांग्रेसको उपस्थिति कमजोर हुने मानिएको थियो । त्यसो हुँदा ती राज्यमा कांग्रेसका अध्यक्ष राहुलको प्रभाव कम हुने नै भयो । त्यस्तोमा ती राज्यमा त्यहीका क्षेत्रीय दलका नेताहरुले मोदीको व्यक्तित्वसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । र, एउटा राज्यमा मात्र सिमित दलको नेतालाई जनताले प्रधानमन्त्रीका रुपमा नपत्याउनु पनि स्वाभाविक हुने भयो ।
भारतीय मिडियामा यो चुनावमा भारतीय जनता पार्टीले अकूत रकम खर्च गरेको तथा सरकारी एजेन्सीहरु परिचालन गरेर बिपक्षको पैसालाई नियन्त्रण गर्न सफलता पाएको पनि चर्चा चलेको छ । औपचारिकरुपमा नस्विकारिएपनि निर्वाचनमा पैसाको महत्व रहनेमा कसैले बिबाद गर्दैनन् । आफ्नो पक्षलाई हौशला दिन र बिपक्षलाई अत्याउन गरिने ठूला ठूला सभाका लागि, कार्यकर्ता परिचालन र मिडियामा महङ्गो बिज्ञापन नगरी अहिलेको निर्वाचनमा प्रतिस्पर्धा गर्न र जित्न सम्भव छैन भन्ने ज्ञात भएकै विषय हो । भारतीय निर्वाचनमा यो परिणाम आउनुमा यीसहित अरु पनि केही महत्वपूर्ण कारण मानिएको छ ।
जस्तो, भारतीय जनता पार्टीले तुलनात्मक कमजोर क्षेत्रीय दलहरुलाई पनि महत्व दिएर सकेसम्म बृहत गठवन्धन बनाउने सफलता पायो । पछिल्लो समय बिच्किन लागेको शिव सेनालाई समेत उसले महाराष्ट्रमा गठवन्धनमा सामेल गरायो भने बिहारमा जनता दल युनाइटेडलाई बढि महत्व दिएर आफूसँग राख्यो । पंजाबमा कमजोर बनिसकेको अकाली दललाई भारतीय जनता पार्टीले धेरै सिट दिँदा कांग्रेसले भने धर्म निरपेक्ष विचार राख्ने बलिया क्षेत्रीय पार्टीहरुलाई गठवन्धनमा ल्याउन सकेन ।
जसका कारण, उत्तर प्रदेशमा उसका उमेद्वारहरुले समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठवन्धनका उमेद्वारलाई हराउन भूमिका खेले, पश्चिम बंगालमा त्रृणमूल कांग्रेससँग त कांग्रेसले गठवन्धन बनाएन नै, कमजोर बनेका कम्युनिष्टहरुलाई समेत समेटेन । कहाँसम्म भने, दिल्ली र हरियाणामा शून्य सीटमा समेटिन उ तयार भयो, तर आम आद्मी पार्टीसँग गठवन्धन गर्न मानेन ।
जात भर्सेस धर्म
मध्य प्रदेशको भूपालमा कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहविरुद्ध चुनाव जित्ने निश्चित भएपछि त्यहाँकी भाजपा उमेद्वार साध्वी प्रज्ञा ठाकुरले मतदातालाई धन्यवाद दिनुबाहेक धेरै बोलिनन् तर, उनका वरिपरि रहेका कार्यकर्ताहरुले ‘जय श्री राम’ को नारा निरन्तर दोहोर्याइरहे । कतिसम्म भने, निर्वाचनको प्रचारका बेलासम्म कतिपय भारतीय जनता पार्टीका उमेद्वारहरुले मतदाताको प्रश्नको उत्तर दिनुको साटो त्यही ‘जय श्री राम’ को नारा दोहोर्याएको पनि देखियो ।
अति हिन्दू धर्मवादलाई आधार बनाएर संगठित भएको भारतीय जनता पार्टीले भारतीय मतदातालाई आफ्नो विचारमा समाहित गर्न पूरै सफलता पाएको यो निर्वाचनमा देखिएको छ । उत्तर प्रदेश र बिहारमा उसले यस्तो सफलता २०१४ को चुनावमै पाएको थियो, कुनै बेला कम्युनिष्टहरुको बलियो प्रभाव रहेको पश्चिम बंगालमा ममता बनर्जीको त्रृणमूल कांग्रेसलाई पनि उसले यही अति हिन्दूवादको हतियार प्रयोग गरेर कमजोर बनाउने सफलता पायो । त्रृणमूललाई मुश्लिम पक्षीयकोे आरोपभाजपाले लगाएपछि ममताले राजनीतिक खपतका लागि मन्दिरहरुमा गएर पूजाआजा गरेपनि गेरुवस्त्रधारी मोदी र अमित साहका चेलाहरुबाट प्रशिक्षित मतदाताले पत्याएनन् ।
मुश्लिमहरुलाई शत्रू चित्रण गर्दै अति हिन्दूवादलाई जगाउने भाजपाको चर्काे श्वरमा पहिले उत्तर भारतमा प्रभावी देखिएको जातीय जोडघटाउको राजनीति निरस्त भएको देखियो । उत्तर प्रदेशमा समाजवादी र बहुजन समाज पार्टीले निर्माण गरेको गठवन्धन मुश्लिम, यादव र दलितको समिकरण थियो । बिहारमा पनि लालु यादवका छोरा तेजश्वी यस्तै जातीय समिकरणको आडमा भाजपालाई रोक्न खोजेका थिए । जुन, पूर्णत असफल बन्यो ।
मोदीको यो विजयमा उनको सरकारले विगत पाँच वर्षमा गरेका विकास निर्माण र कल्याणकारी कामको योगदानको चर्चा कतै सुनिदैन । उनी र भाजपाका नेताहरुले यी विषयमा चुनाव प्रचारको क्रममा कमै मात्र चर्चा गरेका थिए । मोदी र भाजपाका नेताहरुले हिन्दूत्व र पाकिस्तानविरोधलाई प्रमुख मुद्धा बनाएका थिए । मोदीले बिपक्षलाई कमजोर निकम्मा र आफूलाई साहासी बहादुरका रुपमा प्रस्तुत गरेका थिए । मोदी र भाजपाले चुनावमा निर्माण गरेको यही न्यारेटिभ नै चुनाव जिताउने प्रमुख हतियार बन्न पुग्यो ।
नेपालमा प्रभाव
अघिल्लो पाँच वर्षको मोदीको कार्यकाल भोगेको नेपालले उनको दोश्रो कार्यकालमा कस्तो व्यवहार पाउने हो भन्ने हेर्न केही समय पर्खनुपर्नेछ । तर, निश्चित छ, उनको पहिलो कार्यकालमा जस्तो नेपालले नाकाबन्दी बेहोर्नुपर्ने छैन । किनभने, नेपालमा पनि स्थिर र बलियो सरकार रहेकाले विगतमा जस्तो भारतीय सरकारले कुनै विषयमा देखिनेगरी दबाब दिने सम्भावना कम छ ।कमजोर सरकार हुँदा नै बिदेशी दबाब र प्रभाव पर्ने हो ।
चीनसँगको अनेकौं सहमति र सम्झौताका कारण नेपाल पहिलेभन्दा रणनीतिकरुपमा बलियो अवस्थामा पुगेको छ र यो विषय भारतीय सस्थापनले पनि राम्रोसँग बुझेको छ । छिमेकी बिच्क्याएको आरोप पहिल्यै बेहोरिसकेका मोदीले त्यस कारण पनि नेपाललाई हैरानी दिएर पर पुर्याउने खतरा नमोल्न सक्छन् । तर, पहिलेभन्दा बलियो सरकार बनाउन आँटेका अनुभवि मोदीको आगामी व्यवहार हेर्न केही समय भने पर्खनैपर्छ ।
