दिनेश कोइराला-
कांग्रेस नेतृत्व वर्गले गम्भीर आत्ममन्थन गर्यो ? आफूले जानाजान तथा अन्जानमा गरेका भुलगल्तीहरुप्रति जनता तथा कार्यकर्तासँग क्षमा माग्यो ? आफ्नो स्वार्थभन्दा माथि उठ्छु, परिवारको घेराबाट माथि उठ्छु भनेर वाचाकसम खायो ? अहँ हामीले खाएनौं । हामीले यस्ता वाचाकसम नखाई राष्ट्रिय जागरण अभियान चलायौं ।
‘हिमाल ,पहाड, तराई–मधेस, नेपाली कांग्रेस : राष्ट्रिय जागरण अभियान’ नाम दिइएको यो अभियानको पहिलो चरण समापनको बाटोमा जाँदै गर्दा कैयन प्रश्न उठाउनुपर्ने भएको छ ।
नेपाली कांग्रेसले जागरण नाम दिएर यो तीन दशकमा धेरैपटक धेरै खालका अभियानहरु चलाइसकेको छ । कहिले पार्टीभित्रको जागरणको नाममा त कहिले देश जगाउने नाममा । पार्टीभित्रका विभिन्न समूहहरु, खासगरी युवा नेतृत्व भनिने वर्गले पनि बेलाबखत विभिन्न खाले अभियान चलाउने गरेका छन् । विगतका जागरण शैलीका विभिन्न त्यस्ता अभियानहरुको उपलब्धी केके भयो भन्ने हामीले कहिले पनि समीक्षा गरेनौं ।
लगभग निश्चित छ– अहिलेको अभियानको पनि केही निष्कर्ष निस्कने छैन । किनभने कांग्रेसले विगतमा चलाएका अभियानहरुको पनि कुनै निष्कर्ष निस्किएको थिएन । अभियानको उपलब्धी के भयो भनी कहिल्यै समीक्षा गरिएन ।
यहाँनेर के स्पष्ट पार्न पर्छ भने कांग्रेसलाई कस्तो खालको अभियान चाहिएको छ भन्ने नै कहिल्यै पहिचान गरिएन । यसबारे वैचारिक वहस नै चलाइएन । सोलोडोलो राजनीतिक परिवेशलाई सम्वोधन गर्न सतही अभियानमा मात्र कांग्रेस रमाउने गरेको छ । त्यसैले जागरण या अन्य नामका अभियानहरु जनता र कार्यकर्ताको मनमा बस्न सकेन ।
अहिलेको जागरण
कांग्रेसले चलाएको अभियानलाई गलत या अनावश्यक भन्न मिल्दैन । तथापि यो अपूर्ण छ । कांग्रेसलाई अहिले चाहिएको आन्तरिक जागरण हो । अर्थात्, जागरण अभियानको दुईटा पाटा हुनुपर्थ्याे, एउटा पाटा राष्ट्रिय जागरण र अर्काे पाटा आन्तरिक जागरण । आन्तरिक जागरणलाई कांग्रेस जागरण पनि भन्न सकिन्छ ।
कतिपयले राष्ट्रिय जागरणले नै आन्तरिक जागरण या कांग्रेस जागरणको काम गर्छ भनेको पनि सुनिन्छ । यो गलत हो । राष्ट्रिय जागरण कार्यक्रम जसरी ल्याइएको छ, जुन मोडालिटीमा ल्याइएको छ, त्यसले कांग्रेसको आन्तरिक जागरणको अभीष्ट बोकेको देखिँदैन । यसो भन्दैमा अहिले चलिरहेको राष्ट्रिय जागरण अभियान अर्थहीन छ भन्न खोजिएको होइन । राष्ट्रिय जागरण अभियान निक्कै प्रभावकारी भएको छ, कांग्रेसले प्रतिपक्षीको धर्म शशक्त ढंगले निर्वाह गर्न खोजेको सन्देश र संकेत यसले दिएको छ । तर, यति नै पर्याप्त छैन ।
हुनुपर्थ्याे के ?
नेताले बोल्ने, उपदेश फलाक्ने अनि कार्यकर्ताले सुन्ने काम युगौंदेखि भयो । पार्टीमा जागरण ल्याउने हो भने कार्यकर्ताले बोल्ने र नेताले सुन्ने मात्र होइन मनन समेत गर्ने र त्यस अनुसार व्यवहार गर्ने कार्यक्रम अब दिनुपर्छ ।
अहिलेको समस्या के भने नेतृत्वप्रति कार्यकर्ताको असन्तुष्टि छ । केन्द्रदेखि जिल्ला र गाउँसम्मकै नेतृत्वप्रति कार्यकर्ताको असन्तुष्टि कुनै लुकेको कुरा होइन । गत स्थानीय चुनावमा कांग्रेसले अपनाएको गलत रणनीति र त्यसपछि केन्द्र र प्रदेशको चुनावमा पराजयका कारण नेतृत्वप्रति कार्यकर्ताको असन्तुष्टि हुनु अस्वाभाविक होइन ।
समग्रमा भन्ने हो भने कांग्रेसमा एकप्रति अर्काेको असन्तुष्टि छ । जिम्मेवारी कसैले नलिने, अरुको टाउकोमा मात्र दोष थोपर्ने, आफ्नो दोष कसैले नदेख्ने रोगले कांग्रेस ग्रसित छ । यस्तो रोग केन्द्रदेखि गाउँ जिल्लासम्म फैलिएको छ । अरुलाई दोष लगाउनु कुनै समाधान होइन । कांग्रेसमा अहिले जरुरी छ– आफैलाई भित्रबाटै परिवर्तन गर्ने अभियान । आफैलाई भित्रबाट फेर्न सकिएन भने पार्टीलाई पनि रुपान्तरण गर्न सकिन्न, देशलाई पनि जागृत गराउन सकिन्न ।
देशमा समस्या छ, यो सत्य हो । कम्युनिष्ट सरकारका कारण समस्या बढ्दै गएको छ, यो पनि सत्य हो । मुलुकका यावत समस्याहरुको दीर्घकालीन समाधान कांग्रेसले मात्र दिन सक्छ भन्ने पनि उत्ति नै सत्य हो । यो सत्यको बीचमा अर्काे एउटा सत्य कांग्रेसको राष्ट्रिय जागरण अभियानले पहिचान गर्न सकेन । मुलुकलाई जागरण दिने र मुलुकका यावत समस्याहरुको समाधान दिने हो भने सबैभन्दा पहिले कांग्रेसभित्रै जागरण आउनुपर्छ ।
कांग्रेसभित्र जागरण नआई कम्युनिष्ट अतिवादको प्रतिकार गर्न सकिँदैन । दुई तिहाईको सरकार अहिले जसरी गलत बाटोमा लागेको छ, यसलाई खबरदारी गर्न र सच्याउन पनि कांग्रेसभित्र जागरण चाहिएको हो ।
अतः राष्ट्रिय जागरण अभियानको समानान्तर रुपमा कांग्रेस जागरण अभियान चलाइनुपर्छ । यही हो समाधान ।
नसुध्रने नै हो त ?
अहिले देशभरीका कार्यकर्ताले सबै तहका नेतृत्वलाई प्रश्न सोधिरहेका छन्– नसुध्रने नै हो त ? चुनावमा पराजयपछि नेताहरु सुध्रिएलान् भन्ने आशा गरिएको थियो । त्यो आशा निरासामा परिणत भइसकेको छ ।
नेपालमा नेता भन्नासाथ मुखले एउटा कुरा बोल्ने, मनमा अर्काे कुरा राख्ने अजीव प्राणीका रुपमा चिनिन्छन् । अहोरात्र आफ्नो व्यक्तिगत स्वार्थको चिन्ता गर्ने, परिवार र नातागोताको उन्नति प्रगति र समृद्धिको मात्र चिन्ता गरिरहने मनोवृत्ति नेताहरुमा छ । कतिसम्म भने गुटको पनि खासै चिन्ता छैन नेताहरुलाई, पार्टीको चिन्ता त परको कुरा भयो ।
आफू र परिवारभन्दा माथि उठ्न नसक्ने नेताहरुले विगतमा जानाजान गल्ती गरेका छन् । अन्जानमा मानिसबाट गल्ती हुन्छ । तर, जानाजान गरिएका गल्तीहरुका कारण नेपाली कांग्रेसको यो अवस्था भएको तथ्य कसैबाट छिपेको छैन । यो तथ्यले के प्रष्ट पारेको छ भने नेताहरु आत्माभित्रैबाट नसुध्रिएसम्म कांग्रेस सुध्रने छैन ।
सत्य के हो भने गल्ती एकजनाले मात्र गरेका छैनन्, धेरैजनाले गरेका छन् । माथिबाट गल्ती तलतल फैलँदै गएको छ । त्यसैले कांग्रेसभित्रै जागरणको आवश्यकता परेको हो । हरेक नेताले भुलगल्ती सुधार्नका लागि जागरण अभियान चाहिएको हो । कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुन अढाई महिना जति समय बाँकी छ । यो अवधीमा सम्पूर्ण नेताहरुले आत्मसमीक्षा गर्ने, माफी माग्ने र आम कार्यकर्ताजनले माफी दिने र समग्र कांग्रेसलाई सुधारको बाटोमा अगाडि बढाउने हो की ?
