भगवती न्याैपाने -
धेरैका जीवन कथा पढियो । यो देशमा राजनीतिक व्यवस्था परिवर्तन गर्न कैयौंले बलिदानी इतिहास सुनियो । कोही आफ्नो इतिहास बताउन सक्छन, लेख्छ पनि सक्छन् र अरुलाई लेखाउन पनि सक्छन् । तर, लाखौं मानिस यस्ता छन जसले देशलाई असीम माया गरे, परिवर्तनप्रति विश्वास गरेर कैयौं हण्डर खाए, इतिहासका अनेकौं कालखण्डमा भएका आन्दोलनमा कुर्वानी गरे । यिनले न आफ्नो इतिहास लेख्न सक्छन्, न लेखाउन सक्छन्, त्यसैले आज गुमनाम छन ।
पद पाउनेहरु मात्रै त्याग र समर्पणका प्रतिमूर्ति होइनन् । राजकीय जिम्मेवारीमा हुनेहरु मात्रै अदभूत क्षमताका धनी होइनन् । लेखिएको इतिहास त हामी पढ्छौं , कतिका आत्मवृत्तान्त पनि पढ्छौं । पढ्दा पढ्दै अँखाबाट आँसु खसाल्छौं, मुटु भकानिन्छ अनि मनमनै सलाम गर्छौं । त्यतिबेला बिर्सन्छौं आफ्नै दुख दर्दपीडा अलिखित भोगाइहरु । कैयौं ज्ञानी मानिसहरु छन यो देशमा जसले बलिदान गर्न जाने, देशलाई रगत र पसिना दिन माने तर कहिल्यै पद र प्रतिष्ठको आकांक्षा राखेनन् ।
त्यसैले पद प्रतिष्ठा आर्जन गर्नेहरुलाई, राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहनेहरुलाई एउटा सुझाव छ । तपाईंहरुले आन्दोलनमा रगत र पसिनाले नेपाली धर्ती सिञ्चित गर्ने कयौं वीर विरांगनाहरुले हाम्रो कर्मलाई नियाली रहेका छन् भन्ने सोच्न जरुरी छ । संघिय लोकतान्त्रिक गणतन्त्रलाई हसाउने कि रुवाउने तपाईंहरुको हातमा छ । नेपाली जनताले चाहेका छन् खुशीले मुसुक्क मुस्कुराएको, अनुहार चम्किलो भएको गणतन्त्र । त्यही गणतन्त्र नेपाली जनताको घरघरमा पुग्न सकोस्, दुखी गरिब जनताको छाप्रोमा पुग्न सकोस्, उपेक्षित, उत्पीडित र सिमान्तकृतहरुको बस्तिमा पुगोस् । गाउँमा सडक, बत्ती र पिउने पानी लिएर जाओस्,दक्ष जनशक्ति उत्पादन गर्ने वैज्ञानिक शिक्षा लिएर, अस्पताल, उद्योगधन्दा कलकारखाना लिएर, सीप नहुने युवाहरुका लागि सीप लिएर, सीप हुनेका लागि रोजगार लिएर, आधुनिक कृषि प्रणाली लिएर देशभर जताततै पुगोस् गणतन्त्र ।
त्यसैका लागि नेपाली जनताले सबैभन्दा बढी भरोसा गरेको पार्टीलाई करिब दुई तिहाई मत दिएका छन् । विदेशीसँग कमिशन खाएर नेपाल र नेपालीलाई ठग्ने नोकरशाहीको ठगी धन्दा अन्त्य होस, बिना परिश्रम शासकहरुलाई रिझाएर कमिशन र भ्रष्टाचारमा निर्लिप्त दलालहरुको खेति समाप्त होस्, त्यस्तो हो हामीले खोजेको गणतन्त्र ।
हाम्रो देश प्रकृतिको सुन्दर सृष्टि हो । हामी केमा कम छौं ? छैनौ , सबै कुरामा धनी छौं, सम्पदामा सम्पन्न छौं । त्यसैले इच्छा शक्ति देखाउँ, दृढ संकल्प गरौं ।
यो देशलाई समुन्नत बनाउने सर्तमा हामी सडकमा बसिरहन तयार छौं, गुमनाम बन्न तयार छौ । हामीले अरु केही मागेका छैनौं सुन्दर देशलाई समृद्ध बनाइमागेका हौं ।
जब कम्युनिष्टको नेतृत्वमा सरकार बन्छ तब अनेकौं खालका प्रपञ्चहरु रचेर चुनौतिका पहाडहरु खडा गरिन्छ । षड्यन्त्रका जाल बुन्दै जनतालाई भ्रममा पार्ने कोशिस हुन थाल्छ । तर हामीलाई स्मरण छ सबै खालका गलत हर्कतको सामना गरेर पनि मनमोहन अधिकारी नेतृत्वको सरकार र सोही सरकारले गरेका जनमुखी कार्य आज पनि जनताको मन मस्तिष्कमा अमिट छापको रुपमा रहेको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकार त्यतिकै सानदार रुपमा सफल भएको थियो र जताततै केपी ओली हाईहाई बन्ने अवस्था बनेको थियो । अहिले सरकारले जब केहि काम गर्न खोज्छ, जनतालाई परिवर्तनको आभास दिन खोज्छ, सरकारका विरुद्ध अनेकौं नक्कली आरोप लगाएर विष बमन गर्न सुरु गरिन्छ ।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको सत्ता सञ्चालनको योग्यता धेरै पटक परिक्षण भइसकेको छ । सधैं वीपी कोइरालाको राष्ट्रवादको चर्चा गरेर मात्रै परिवर्तन सम्भव थिएन र हुँदैन । वीपीको पालाको कांग्रेस इतिहास बन्यो । जनताले आजको कांग्रेसको अनुहार हेर्छन परिवर्तनको कुनै दृष्टिकोण नभएको, इषर््या, प्रतिशोध र कुण्ठाले भरिएको देख्छन् । त्यसैले कांग्रेस आज गणतन्त्रको अनुहारमा खुशीको बहार ल्याउन होईन यो सरकारलाई कहाँबाट छिरेर प्रहार गर्न सकिन्छ र असफल बनाउन सकिन्छ त्यही गर्ने पक्षमा देखिन्छ । देशले यो सरकारको नेतृत्वमा उज्यालो पाउँदा आफ्नो भविष्य अँध्यारो हुने देखेर त्रसित बन्छ कांग्रेस ।
सरकार विरुद्ध मिडियामा चलाइने गरेको समाचार अभियान सुन्दा र पढ्दा अचम्म लाग्छ र भन्न मन लाग्छ– ‘कसको गिद्दे दृष्टि पर्यो बरै मेरो सुन्दर देशमाथि ।’ मिडियाले न्यायको आवाज बोल्ने हो , तथ्यमा टेकेर सत्य कुरा बाहिर ल्याउने हो तर सुन्दर विषयमा समेत दुषित रंग पोतेर जनतालाई भ्रम सिर्जना गर्नु, अराजकता र अस्थिरतालाई मलजल हुने गरी समाचार दिनु पत्रकारिताको धर्म होइन । यस्ता कुराले देशलाई समुन्नत बनाउने कुरामा योगदान गर्न सक्दैन बरु उल्टै देश बर्बाद बनाउँछ । त्यसैले यो देश हामी सबैको साझा हो भन्ने सोच्ने हो भने सबैको सोच सकारात्मक बन्नु पर्दछ ।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचन परिणामबाट हामीले एउटा पाठ सिक्न जरुरी छ । संमृद्धिको गाडी हाँकेर हिंडदा यात्रा क्रममा आइलाग्ने अनेकौं अवरोधलाई छिचोल्दै अगाडि बढ्न सक्ने सामर्थ्य बटुल्नै पर्छ । गलत नियत राखेर गरिने बिरोधले कुनै अर्थ राख्दैन ।
अन्त्यमा
कसका लागि गणतन्त्र, किन ल्याइयो गणतन्त्र र कसरी आयो गणतन्त्र भन्ने विषयमा एकपटक सबैले घोत्लिन जरुरी छ । शहीदको रगत सम्झौं, जनताको कुर्वानी र बलिदानी स्मरण गरौं । अनि मात्र हामीले गणतन्त्र चिन्छौं, बुझ्छौं र यसको मर्म आत्मसात गर्न सक्छौं ।
