संजिव वाग्ले -
प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत र यूरोप भ्रमण अहिले चर्चामा छ । बिगत तीन दशक यता भारत र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क जानेबाहेक नेपालका प्रधानमन्त्रीले अन्य देशको औपचारिक भ्रमण खासै गरेका छैनन् ।
केही महिना पहिले राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क गएको बेला प्रम ओलीले कोष्टारिकाको पनि भ्रमण गरेका थिए । सो भ्रमणको कतिपयले आलोचना समेत गरेका थिए । तर, सरकार प्रमुखले कुनै देशको भ्रमण गर्नुलाई ‘घुमघाम’ गरेको अर्थमा मात्र बुझ्नु हुँदैन ।
विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन स्वीट्जरल्याण्ड गएका प्रम ओलीले नेपालको कूटनीतिक सम्बन्धलाई फराकिलो बनाउँँदै केही समय पहिले भियतनाम र कम्बोडिया भ्रमण गरे । दक्षिणी चीन सागरसँग जोडिएको तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा औपचारिक भ्रमण गरे भने हनोइबाट प्रधानमन्त्रीले भियतनामको छिमेकी देश कम्बोडियाको दुई दिने भ्रमण गरे । प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया गएका थिए ।
आम सर्वसाधारणका नजरबाट खासै महत्वको नदेखिने यस्ता भ्रमणको महत्वपूर्ण कूटनीतिक अर्थ र संदेश हुन्छ । मुलुकको दिर्घकालीन हित र अस्तित्वलाई यस्ता भ्रमणले कति ठूलो योगदान गरिरहेको हुन्छ भन्ने आम नेपालीलाई बुझाउनु परेको छ । नेपालीको खासै सम्बन्ध र व्यापार नभएका देशमा नेपालका प्रधानमन्त्री औपचारिक भ्रमणमा जानुको पनि खास र महत्वपूर्ण अर्थ हुन्छ ।
तीन दशक यता नेपालको विश्वसँगको कूटनीतिक सम्बन्ध संकुचित हँुदै गएको थियो । यो संकुचनलाई विस्तारित गर्ने अभियानमा प्रम ओली लागिपरेको देखिन्छ ।
त्यसो त, प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणको विषय शान्तिका अग्रदूत भगवान गौतम बुद्धसँग जोडिएको थियो । लुम्बिनीमा जन्मिएका बुद्धको सम्मान र सम्झनामा संयुक्त राष्ट्रसंघले सन् २००० देखि बेशाक दिवस मनाउँदै आएको छ। अघिल्लो वर्ष श्रीलंकामा भगवान बुद्धसँग सम्बन्धित यस्तै कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकोमा यस वर्ष सो दिवस संयुक्त राष्ट्रसंघको आयोजनामा भियतनाममा मनाइएको थियो ।
त्यसमा बुद्ध जन्मेको देशका प्रधानमन्त्रीलाई सम्मानका साथ बोलाइनु नेपालका लागि खुसी र गौरबको विषय हो। अन्तराष्ट्रिय सामुदायमाझ नेपालको सम्मानको बिषय पनि हो । प्रधानमन्त्रीको सो भ्रमणले अर्को वर्ष तय गरिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बौद्ध धर्मावलम्बीको आगमन बढाउने एउटा कडी बन्न सक्छ । पछिल्लो समयमा चीनबाट नेपाल आउने पर्यटकको संख्या बढिरहेको छ, बौद्धमार्गीको ठूलो संख्या रहेको भियतनाम, कम्बोडिया तथा आसपासका एसियाली देशहरूबाट नेपालले पर्यटक आकर्षित गर्न पहल गर्नुपर्छ । यसमा प्रमको भ्रमणले बल पुराउने कुरालाई नकार्न सकिन्न ।
हुन त नेपाल भित्रै कतिपयलाई नेपालले अहिले अवलम्बन गरिरहेको असंलग्न परराष्ट्र नीति र नेपालले विश्व समुदायसँग थालेको स्वतन्त्र कूटनीतिक सम्बन्ध मन परेको छैन । कसैलाई मन परेन भन्दैमा राष्ट्रले आफ्ना गतिबिधि गर्न छाड्दैन । देशको हितका लागि काम गर्न चाहनेले यस्ता औपचारिक भ्रमण गर्छन र गर्नु पनि पर्छ ।
तत्कालीन राजा बीरेन्द्रको शैलीलाई पच्छ्याउँदै प्रम ओलीले गरेको भियतनाम र कम्बोडिया भ्रमणको बिशेष महत्व र अर्थ छ । अहिले उनले गरेको यूरोप भ्रमणलाई सामान्य रुपमा लिन हुँदैन । कूटनीतिमा राष्ट्र प्रमुख र सरकार प्रमुखले गरेका हरेक गतिविधिको अर्थ र महत्व हुन्छ । त्यसमा प्रमले गरेको औपचारिक भ्रमणको अर्थ र महत्व नहुने भन्ने कुरै भएन ।
सामान्यत नेपाली घरेलु राजनीतिमा प्रम ओली नेतृत्वको सरकारले गरेका काम र गतिविधिसँग यो पंक्तिकार असहमत छ । तर, परराष्ट्र मामिलामा ओली सरकारले अबलम्बन गरेको नीतिप्रति भने सहमत छु । नेपालको विदेश सम्बन्ध सञ्चालनमा ०४६ साल पछिका सरकारहरु नराम्ररी चुकेकै कारण आज देश संकटपूर्ण आवस्थामा उभिएको छ । नेपाल जस्तो भूराजनीतिक परिस्थितिमा भएको देशले आफ्नो स्वतन्त्र अस्तित्व जोगाइराख्न र विश्वमा आफ्नो अस्तित्वको सन्देश दिन यस्ता कूटनीतिक भ्रमणको खास महत्व हुन्छ । यस्ता भ्रमणलाई ‘फजुल खर्च’ भन्नु किमार्थ ठिक होइन ।
नेपाल भित्र र बाहिर रहेका नेपालीहरुमा नेपालको परराष्ट्र नीति संचालनमा दुई किसिमका अतिबादी धारणा देखिन्छ । एउटा अति दक्षिणबादी धारको वकालत गर्छन् भने अर्को पक्षले अति उत्तरबादी धारको वकालत गरिरहेको देखिन्छ । दक्षिण एशियाको यो भूगोलमा रहेको नेपालको अवस्थितिले न त पूरै दक्षिण ढल्कन अनुमति दिन्छ न पूरै उत्तर ढल्किन छुट दिन्छ । ‘दुई ढुंगा बीचको तरुल’ को उत्तर र दक्षिणका दुईतिर फर्केर बसेका भीमकाय छिमेकीसँग सन्तुलनमा रहने नीति लिएन भने ’दुई ढुंगा बीचको तरुल’ को संज्ञा पाएको यो मुलुकले दवाब धान्न सक्दैन । नेपालले अन्तराष्ट्रिय समुदाय र अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो बलियो उपस्थिति देखाउन सकेन र मुलुकमा आइपर्ने आन्तरिक र बाह्य दबाब धान्न सकेन भने बिदेशी दबाब र स्वार्थले देशको अस्तित्व नै संकटमा पर्न जान्छ ।
नेपालको स्वतन्त्र अस्तित्वको सन्देशसँग जोडिएर आउने यस्ता बिषय र प्रसंगमा प्रम ओलीले गर्ने भ्रमण सही छ र यो सरकारले लिएको विदेश नीति ठिक छ । नेपालको कूटनीतिक दायरा फराकिलो बनाउने अवसरको रुपमा रास्ट्र प्रमुख र सरकार प्रमुखले यस्तो भ्रमण गरिरहनुपर्छ ।
नेपालको औपचारिक वैदेशिक सम्बन्धको पछिल्लो इतिहास दुई सय ५० बर्ष भन्दा लामो छ । नेपाल र वेलायत बीच दौत्य सम्बन्ध स्थापना हँुदा दक्षिण एशियाका कुनै पनि देशसँग नेपालको कूटनीतिक सम्बन्ध थिएन । किनभने त्यस समयमा दक्षिण एशियामा कुनै पनि देश स्वतन्त्र थिएनन् । नेपालको बेलायतसँग कूटनीतिक सम्बन्धको इतिहास दुई शताब्दी भन्दा लामो छ । बेलायतसँग दौत्य सम्बन्ध स्थापना भएको एक सय ३१ बर्ष पछि अमेरिका र त्यसको चार बर्ष पछि मात्र भारतसँग नेपालको औपचारिक कूटनीतिक सम्बन्ध जोडिएको थियो । नेपालको कूटनीतिक इतिहासमा सबैभन्दा पूरानो सम्बन्ध रहेको मित्रराष्ट्र बेलायतका राष्ट्र प्रमुख तथा राजपरिवारका सदस्यहरुले पटकपटक नेपाल भ्रमण गरेका छन् ।
बिसं १९०७ मा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए । उनी नै बेलायत र फ्रान्सको भ्रमण गर्ने नेपालको पहिलो कार्यकारी प्रमुख हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय बर्षभन्दा लामो अवधीमा नेपालका राष्ट्र प्रमुख र सरकार प्रमुखले पटकपटक वेलायत भ्रमण गरेपनि बेलायतका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन् । यस अवस्थामा प्रधानमन्त्री ओलीले बेलायतका प्रधानमन्त्रीलाई औपचारिक नेपाल भ्रमणमा ल्याउन प्रयास गर्नुपर्छ ।
नेपाल बेलायत सम्बन्धका अनेक आयाम छन् । ऐतिहासिक घटनाक्रम र विकास निर्माणको परियोजनामा सहयोग तथा गोर्खा सैनिक जस्ता कुराले नेपाल बेलायत सम्बन्धलाई विशेष बनाएको छ । नेपाल र बेलायत बीच भएको १९२३ को सन्धीले नेपाललाई एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो भनी परिभाषित गरेको थियो ।
नेपाली युवाहरु बेलायतको सेनामा भर्ना भएर काम गर्ने परम्परा आज पर्यन्त छ । पुरानो कूटनीतिक सम्बन्ध भएको बेलायतसँग नेपालले बेलायतसँग जोडिएर आइपरेका आफ्ना समस्या र अवसरमा केन्द्रीत भएर सघन छलफल गर्नुपर्छ । बिकासमा फड्को मार्न खोजेको नेपालले आर्थिक लगानीका लागि वेलायतलाई मनाउन सक्नुपर्छ । ब्रिटिस गोर्खा सैनिकहरु माथिको विभेद सदाका लागि अन्त्य गर्न बेलायती समकक्षीसँग प्रधानमन्त्रीले पहल गर्नुपर्छ । बेलायतलाई नेपालले आफ्नो पक्षमा उभ्याउन प्रयास गर्नुपर्छ । प्रधानमन्त्रीले वेलायतसँगै फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमणमा विश्व शान्तिका लागि नेपाल जस्ता साना देशहरुको राजनीतिक र आर्थिक सुरक्षामा जोड दिनुपर्छ । अन्तराष्ट्रिय मञ्चमा नेपाललाई साथ र समर्थनका लागि सशक्त लबिंङ गर्नुपर्छ ।
नेपालका प्रधानमन्त्रीले पनि विश्वका विभिन्न मुलुकको औपचारिक भ्रमण गर्ने सामथर््य राख्छन् भन्ने तथ्य पुर्नस्थापित हुँदैछ । यो भ्रमणलाई नेपालभित्र व्यक्ति केपी ओलीको भ्रमणको रुपमा टिप्पणी गर्नेहरु पनि देखिँदै छन् । नेपालका प्रधानमन्त्रीले विदेश भ्रमण गर्नु भनेको फजुल खर्च गर्नु हो, विलाशी बन्नु हो भन्ने खालका हलुका टिप्पणी पनि भइरहेको छ । प्रधानमन्त्री तहबाट हुने यस्ता भ्रमणको प्रत्यक्ष देखिने ठोस उपलब्धी नहुन पनि सक्छ तर त्यसले राष्ट्रको जीवन र अस्तित्वमा दिर्घकालीन प्रभाव पार्छ भन्ने बुझ्नुपर्छ । नेपालका प्रधानमन्त्रीले मुलुकको स्वतन्त्र अस्तित्व र हैसियत देखाउँदै विश्वसँग सम्बन्ध राख्न हुँदैन, विदेश भ्रमणमा जान हुँदैन भनी कतिपयले चाहिँ नियतवस नै विरोध गरिरहेको देखिन्छ ।
नेपालको प्रधानमन्त्री पदमा केपी ओली बसुन् या अरु कोही बसुन्, उनले विदेश भ्रमण गर्नुपर्छ । विश्वका विभिन्न मुलुक भ्रमण गरेर नेपालको कूटनीतिक आयाम विस्तारित गर्नुपर्छ । बुझौं– कुनै पनि देशको भ्रमणबाट हुने आर्थिक लाभभन्दा कूटनीतिक लाभ सयौं गुणा मूल्यवान हुन्छ । यो कुरा बुझेरै प्रधानमन्त्री ओलीले घरेलु राजनीतिको दवाब र अवरोध झेल्दै विभिन्न मुलुक भ्रमण गरिरहेको प्रष्टै देखिन्छ ।
