सनराइज खबर संवाददाता
काठमाडौं । लेखिका शान्ता चौधरीले आजबाट सनराइज खबरमा ‘शान्ताको मनका कुरा’ स्तम्भ थालनी गर्ने भएकी छिन् ।
नेकपा संसदीय दलकी सचेतक समेत रहेकी शान्ताले आफ्नो स्तम्भ लेख्नेछिन् भने भिडियोमा पनि बोल्नेछिन् । उनको भिडियो अभिव्यक्ति सनराइज खबर अनलाइनका साथै सनराइजको फेसबुक पेज र यूट्यूब च्यानलबाट पनि प्रसारण हुनेछ ।
‘कमलरीदेखि सभासद्सम्म’ कृतिकी लेखिका शान्ताले विभिन्न पत्रपत्रिकामा लेख लेख्ने गरेकी छिन् । सनराइज खबरमा पनि स्थापनाकालदेखि नै लेख लेख्दै आइरहेकी छिन् । आजबाट उनी स्तम्भकारका रुपमा सनराइज खबर परिवारमा आवद्ध भएकी हुन् ।
राजनीतिक जिम्मेवारीका कारण आफ्ना मनका कुरा खुलेर राख्न नपाएकाले ‘शान्ताको मनका कुरा’ स्तम्भ थालेको उनले बताइन् । स्तम्भकार बनेपछि सनराइज खबर संवाददातासँग उनले भनिन्– ‘राजनीतिक जिम्मेवारीबाट माथि उठेर लेखक तथा स्तम्भकार बनेर देश र जनताका लागि सकारात्मक विचार राख्न आवश्यक देखें ।’
उनले भनिन्– ‘राजनीतिक घेरा तथा विभिन्न स्वार्थबाट माथि उठेर देश तथा जनताको भलाईका लागि लेख्ने बोल्ने संस्कृति विकास गर्न आवश्यक छ । समाजमा नकारात्मक विचार तथा भावनाको बोलवाला हुन थालेको हुनाले सकारात्मक तथा रचनात्मक विचार प्रसार हुन आवश्यक छ भनेर स्तम्भ थालनी गरेकी हूँ ।’
