गोविन्द थापा -
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण कूटनीतिको सुन्दर प्रयोग गरिरहेको देख्न सकिन्छ । पछिल्ला केही दशकदेखि भ्रमण कूटनीतिको विश्वव्यापी प्रयोग भइरहेछ । भ्रमण कूटनीतिमा नेपाल पछि पर्दै आइरहेको थियो । तर, अहिले आएर नेपाली समाजले पनि सरकार प्रमुख तथा राष्ट्र प्रमुखको विदेश भ्रमणको महत्व बुझ्न थालेको छ ।
भ्रमण कूटनीति प्राचीन कालदेखि चल्दै आइरहेछ । एउटा कबिलाका प्रमुख अर्काे कबिला समूहकोमा भ्रमणमा गएर सत्रुता न्यूनीकरण गर्ने तथा सम्बन्ध विस्तार गर्ने काम हुन्थ्यो । कालान्तरमा ससाना राज्यहरुको विकास भयो । ती राज्यका प्रमुखहरु एकअर्काे राज्यमा भ्रमण गर्थे । प्रमुखहरुको भ्रमणलाई अत्यन्त महत्वको ठानिन्थ्यो ।
नेपालकै सन्दर्भमा हेर्दा पनि भ्रमण कूटनीतिको लामो इतिहास र परम्परा रहेको पाइन्छ । पृथ्वीनारायण शाह युवराज हुँदा भक्तपुर भ्रमणमा गए । त्यहाँका राजाका छोरासँग मीत लगाए । यो भ्रमण कूटनीतिले कालान्तरमा महत्वपूर्ण परिणाम ल्यायो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न चलाएको अभियानको एक किसिमको प्रस्थान विन्दू नै त्यो भ्रमण बनेको थियो ।
नेपालको इतिहासमा अति महत्वको ठहरियो तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले गरेको वेलायत र फ्रान्स भ्रमण । सो भ्रमणले नेपालको स्वतन्त्र र सार्वभौम छवी स्थापित गर्न ठूलो सघाउ पुरायो । सो भ्रमणपछि युरोपेली विकास तथा कानूनी प्रणाली केही मात्रामा भए पनि नेपाल भित्रियो ।
जंगबहादुरले वेलायत र फ्रान्स दुवै देशको भ्रमण गर्नु असामान्य थियो । नेपालबाट जंगबहादुर मूलत वेलायतको निमन्त्रणामा गएका थिए तर फ्रान्स पनि गए । त्यसबेला फ्रान्स र वेलायत सत्रु देश जस्ता थिए । तैपनि फ्रान्स जाँदा वेलायत रिसाएन । वेलायत र फ्रान्स दुवै देशलाई सन्तुलनमा राख्न जंगबहादुर सफल भए । जंगबहादुरको त्यो सफलता कालान्तरमा नेपालको विदेश नीतिको एक सफल उदाहरण बन्न पुग्यो ।
राणाकालको एक सय वर्ष नेपालले भ्रमण कूटनीतिको खासै सदुपयोग गर्न सकेन ।
०७ सालको क्रान्तिपछि
०७ सालपछि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जान थाले । पछि टंकप्रसाद आचार्य प्रधानमन्त्रीका रुपमा चीन गए । नेपालका प्रधानमन्त्रीको चीन भ्रमण कूटनीतिक इतिहासमा उल्लेख्य विषय बन्न पुग्यो । त्यसपछि वीपी कोइराला चीन गए । नेपालले दक्षिणी द्धार मात्र खोलेको थियो, उत्तर ढोका पनि खोल्न थाल्यो ।
पञ्चायतकालीन तीस वर्षमा राजा नै मुलुकको कार्यकारी जस्ता बने । उनको विदेश भ्रमण मूलत राजतन्त्रको गौरव बढाउने उद्देश्यले प्रेरित हुन्थ्यो । तथापि, उनको भ्रमणले मुलुकको विश्व सम्बन्ध विस्तारित भएको तथ्यलाई नकार्न सकिँदैन ।
०४७ पछि
बहुदलीय व्यवस्था आएपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्यो तर नेपालको विश्व सम्बन्ध भने पञ्चायतकालको भन्दा माथि उठ्न सकेन, बरु तल झर्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत र चीन भ्रमण गरे । त्यसबाहेक राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका गए ।
निर्धारित बहुपक्षीय औपचारिक कार्यक्रममा जाने बाहेक गिरिजाप्रसाद तथा त्यसपछिका प्रधानमन्त्रीहरुले विभिन्न मुलुकको भ्रमण गर्न खासै चासो दिएनन् । अर्काे शब्दमा भन्नपर्दा आँट गरेनन् । विश्व सम्बन्ध बढाउन विगतका प्रधानमन्त्रीहरुले किन आँट गरेनन् ? यो बेग्लै प्रश्न हो तर विगत कालखण्डमा नेपाल आफैंभित्र खुम्चिएको, सीमित सम्बन्धहरुमा रमाएको या रमाए जस्तो गर्न वाध्य भएको भने पक्कै हो ।
र, अहिलेको कालखण्ड भारतले नेपाललाई नाकावन्दी लगाएपछि नेपालले विदेश सम्बन्धमा नयाँ क्षितिज उघार्नुपर्ने भयो । त्यसपछि नेपालले विश्व सम्बन्धमा नयाँ युग थालनी गर्यो । त्यसबेला पनि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नेपालको विश्व सम्बन्धलाई नयाँ उचाईमा उठाउने काम थाले ।
वाम गठवन्धनले चुनाव जित्नुको एउटा मुख्य आधार यसले लिएको विदेश नीति पनि हो । विश्व समुदायसँग सम्बन्ध राख्ने, छिमेकी देशहरुलाई प्राथमिकता दिने, नेपालको स्वार्थलाई केन्द्रमा राख्ने तर वैदिशक सम्बन्धमा गुटगत पक्षधरता नलिने नीति वाम गठवन्धनले लियो । सो नीतिलाई अहिलेका प्रधानन्त्रीले सटिक ढंगले कार्यान्वयन गरिरहेका छन् ।
नेपालले स्वतन्त्र, तटस्थ र गुट निरपेक्ष असंलग्न परराष्ट्र नीति अंगाल्छ भन्ने तथ्यवोध विश्व समुदायलाई हुन थालेको छ । यसका साथै नेपालले आफ्नो सार्वभौमिकता, अखण्डता र प्रतिष्ठा प्रवद्र्धन गर्न विश्व समुदायसँग घनीभूत सम्बन्ध राख्नुपर्ने हुन्छ । यही वैचारिक आलोकमा प्रधानमन्त्रीको हालैको युरोप (स्वीट्जरल्याण्ड, वेलायत र फ्रान्स) भ्रमणलाई बुझ्नुपर्ने हुन्छ ।
सीमित देशहरुसँग सम्बन्ध राख्ने, बाँकी विश्वसँग खासै सरोकार नराख्ने देशले प्रगति र उन्नति गर्न सक्दैन । माथि नै चर्चा गरियो– जंगबहादुरले वेलायत यात्रा गरेपछि नेपालमा केही सुधार भएको थियो, व्यवस्थित विकासको प्रारम्भिक झल्को मिलेको थियो ।
दोस्रो प्रधानमन्त्रीत्व कालमा भारत, चीन, अमेरिका, कोष्टारिका, कम्बोडिया, भियतनाम, वेलायत, फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमणमा ओली गएका छन् । यी भ्रमणले के उपलब्धी गर्यो ? सर्वसाधारण नेपालीले प्रश्न सोध्न सक्छन् । स्वाभाविक हो यस्तो प्रश्न ।
सरकार प्रमुखको विदेश भ्रमणको दूरगामी अर्थ हुन्छ भन्ने बुझ्नुपर्छ । एउटा मुलुकले अर्काे मुलुकसँग राख्ने सम्बन्धमा तत्कालीन लाभ विरलै हुन्छ, दिर्घकालीन लाभ महत्वपूर्ण हुन्छ । यस्तो भ्रमणले नेपाल जस्ता देशको आत्मविश्वाश बढ्छ, विदेशी लगानी आउने वातावरण बन्छ, नेपाललाई हेर्ने विश्व दृष्टिकोण फेरिन्छ । यस्तो भ्रमणको प्रभाव सुक्ष्म हुन्छ तर दिर्घकालीन हुन्छ ।
वर्तमान सरकारको रणनीति के देखिन्छ भने विश्व सम्बन्धलाई विगतको भन्दा प्रभावकारी बनाउने । नेपालमा विकास गर्ने हो भने विदेशी लगानी चाहिन्छ । विदेशी लगानी आफैं ओइरिँदैन, त्यसका लागि विभिन्न तरिकारले वातावरण बनाउनुपर्ने हुन्छ । विदेशी लगानीका लागि वातावरण बनाउने सबैभन्दा प्रभावकारी माध्यम हो सरकार प्रमुखको भ्रमण । प्रधानमन्त्री ओलीको भ्रमणलाई यही सन्दर्भमा हेरिनुपर्छ ।
भावी नेपाल
विश्व समुदाय विगतभन्दा धेरै नै सघन बन्दै गइरहेको छ । देशहरु बीच सम्बन्ध झनै घनीभूत हुँदैछ । विगतमा साँध जोडिएका देश बीच मात्र अन्र्तघुलन हुन्थ्यो, आपसी कारोबार र व्यवहार हुन्थ्यो । अब त्यो अवस्था रहेन । आगामी दिनमा विभिन्न मुलुकहरु बीचको सम्बन्ध झनै घनीभूत हुँदै जानेछ । आपसमा सत्रुता भएका देशहरुबीचमा पनि अनेक आयाममा सुसम्बन्ध रहनैपर्ने वाध्यात्मक परिस्थिति सिर्जना भइसकेको छ ।
यस्तो अवस्थामा नेपाल ‘आइसोलेसन’ मा बसिरहन सक्दैन । सीमित देशहरुसँग मात्र सम्बन्ध राखेर नेपालले विकास र समृद्धिको लक्ष्य पाउन सक्दैन । यो तथ्यवोध गरेरै प्रधानमन्त्रीले विश्वका विभिन्न मुलुकहरुको भ्रमण गर्न थालेको प्रष्ट बुझ्न सकिन्छ ।
भावी विश्व समाजमा नेपालको भूमिका र हैसियत के हुने ? यसका लागि अहिले देखि नै चिन्तन गर्दै तयारी थाल्नुपर्ने हुन्छ । आगामी दिनमा विश्वको स्वरुप जे हुनेछ, त्यसमा नेपालको उपस्थिति र भूमिका प्रभावकारी बनाउन सरकार प्रमुखले निरन्तर भ्रमण गर्नुपर्ने हुन्छ । नेपालले मात्र होइन, अन्य देशले पनि आआफ्ना देशका सरकार प्रमुखलाई विश्वका विभिन्न मुलुकको भ्रमणमा पठाइरहेछन् । सरकार प्रमुखहरुले विभिन्न मुलुकको भ्रमण गर्ने क्रम निकै बढेको छ ।
हाम्रै छिमेकमा हेरौं, भारत र चीनका सरकार प्रमुख विश्वका विभिन्न मुलुकको भ्रमणमा गइरहन्छन् । भ्रमणले उनीहरुको देशलाई पक्कै लाभ भएको छ । नेपालका प्रधानमन्त्रीले पनि यही कुरा बुझेर विभिन्न देशको भ्रमण गर्दै विश्व सम्बन्धलाई अझ प्रभावकारी र दह्रिलो बनाउन खोजेको देखिन्छ । प्रधानमन्त्रीको यो प्रयासलाई जनस्तरबाट साथ र समर्थन दिन आवश्यक छ ।
