प्रकाश अधिकारी -
काठमाडौं । ‘यो सरकारले अहिले जेजति विकास निर्माणका योजनाहरु, भविष्यका कार्यक्रमहरु ल्याएको छ, त्यो पूरा हुने हो भने सरकारलाई सयमा सय अंक दिए हुन्छ’ नेपाल जेसिजका पूर्व अध्यक्ष प्रकाश अधिकारी भन्छन्– ‘अहिले चाहिँ सयमा ८० अंक दिन्छु ।’
यो सरकारले विकास निर्माणका अनेक योजनाहरु ल्याएको चर्चा गर्दै उनले जन अपेक्षा धेरै भएको बताए । ‘विभिन्न राजनीतिक परिवर्तनपछि नेपाली जनताले धेरै नै सपना देखेका छन्’– सनराइज खबरकी अनुपम शर्मिलासँगको अन्र्तवार्तामा प्रकाश भन्छन्– ‘राजनीतिक परिवर्तन पछि जनअपेक्षा धेरै थियो । ती अपेक्षाहरु तुहिन्छ कि भन्ने खालको त्राश जनतामा थियो । यो सरकारले त्यस्तो त्राश घटाएको छ।’
सनराइज खबरले थालेको ‘यो सरकार कस्तो लाग्दैछ ?’ श्रृङखलामा प्रकाशको भनाई छ– ‘यो सरकार बने पश्चात विभिन्न योजना बनिरहेछ, विकास निर्माण भइरहेछ । कार्यान्वयन पक्ष सुरुआत भएको छ, योजना बनाइए अनुसार लागू गर्ने प्रयास भइरहेछ । सरकारले जेजति गर्ने चाहना राखेको देखिन्छ, ती सबै कार्यान्वयन हुने हो भने जनताको अपेक्षा पूरा हुन सक्छ ।’
चालीस पचास वर्ष अघि जापान कोरियाको अवस्थाको चर्चा गर्दै प्रकाश भन्छन्– ‘अहिले उनीहरु स्वर्गमा छन् ।’ नेपालले द्रुत गतिले विकास गर्न आवश्यक रहेको चर्चा गर्दै उनले रेल, विमानस्थल, उद्योग, बाटोघाटोका सरकारी योजनाहरु कार्यान्वयनमा जान थाल्नु सुखद भएको बताए ।
‘अरु देशको इतिहास हेर्दा जसरी विकास गर्यो, नेपालले पनि योजना बनाइरहेछ, अपेक्षा पूरा हुन्छ । सरकारलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ’– प्रकाश भन्छन् ।
नेपाल धेरै वर्ष वेथितिबाट गुज्रिरहेको भन्दै उनले ठूला विकासका परियोजनाहरु सरकारले थाल्न नसकेको गुनासा गरे । ‘महत्वाकांक्षी भनिए पनि ल्याइएका विकास योजना तथा कार्यक्रमहरु राम्रा छन् । लागू हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । जात, धर्म, लिंग र पार्टीका कुरा तथा स्वार्थ जोडेर विकासमा अवरोध गर्न नहुन विचार उनको छ ।
‘स्वार्थ राख्ने मानिसहरुले बिगार्छन् कि भन्ने चिन्ता छ । त्यस्तो अनुभूत गर्न नपरोस् । सकारात्मक ढंगले सरकारले काम गरोस्’– प्रकाशको भनाई छ ।
प्रकाशले सरकारको १६ महिनाको काम कारवाहीको सबल र दुर्बल पक्षको चर्चा गरिसकेपछि शर्मिलाले सोधेकी छिन्– ‘यो सरकारलाई कति अंक दिनुहुन्छ ?’
जवाफमा प्रकाश भन्छन्– ‘सरकारले देश निर्माण गर्ने, विकास गर्ने कुरा, समृद्ध बनाउने कुरा गरेको छ । एक दुई वर्षमा उलटपुलट हुँदैन । सरकारले जेजति योजना ल्याएको छ, सकारात्मक छ तर कार्यान्यन चुनौतीपूर्ण छ । यी सारा चुनौती पार गरे सयमा सय नै अंक दिनुपर्छ । तर, अहिले चाहिँ ८० अंक दिन्छु ।’
