दिनेश कोइराला -
नैतिक विचलनले सैद्धान्तिक विचलन ल्याउँछ । सैद्धान्तिक विचलनले नैतिक विचलन ल्याउँछ । नैतिक विचलन र सैद्धान्तिक विचलन एकै सिक्काको दुई पाटा हुन् । राजनीतिक दलमा आउने सैद्धान्तिक तथा नैतिक विचलनले मुलुक कसरी पीडित हुन्छ भन्ने विभिन्न उदाहरण हामीले देखिसकेका छौं । जस्तो कि सैद्धान्तिक र नैतिक विचलनको पराकाष्ठा थियो तत्कालीन एकीकृत नेकपा माओवादी । त्यो पार्टी तत्कालीन एमालेसँग मिसिएर नेकपा बनेको छ । तत्कालीन माओवादीको सैद्धान्तिक नैतिक विचलन अहिले नेकपाभित्र ओथारो बसेको छ र अस्थिरता र अशान्तिको अण्डा कोरल्न प्रयास गरिरहेको छ ।
नेपाली राजनीतिमा विभिन्न समस्या छन् । सबै खाले समस्यारुपी वृक्षमा लाग्ने फल भने एउटै हो, राजनीतिक अस्थिरता । २००७ सालदेखि नेपाली राजनीति निरन्तर अस्थिरतामा छ । खासगरी लोकतान्त्रिक प्रजातान्त्रिक कालखण्ड निरन्तर अस्थिरतामा रह्यो । ०७ सालदेखि ०१६ सालसम्म राजनीतिक अस्थिरता रह्यो । वीपी कोइराला नेतृत्वमा नेपाली कांग्रेसको सरकार बनेपछि मुलुकले स्थिरता पायो तर त्यसलाई टिक्न दिइएन ।
०४७ सालपछि क्षणिक स्थिरता प्राप्त भयो तर त्यसलाई पनि टिक्न दिइएन । अहिले राजनीतिक स्थिरता प्राप्त भएको छ, बहुमतप्राप्त पार्टीको सरकार छ । पाँच वर्षका लागि सरकार बनेको छ । तर, यो स्थिरता कायम रहन्छ ? प्रश्न उठ्न थालेको छ ।
नेपालको अविकासका विभिन्न कारणमध्ये मुख्य कारण राजनीतिक अस्थिरता हो । राजनीतिक अस्थिरताको कारण के हो ? यसका पनि विभिन्न कारण छन् । मुख्य कारण चाहिँ बहुमत प्राप्त दलको आन्तरिक विग्रह नै हो । राजनीतिक स्थिरतामा पहिलो प्रहार बहुमत प्राप्त राजनीतिक दलभित्रैबाट हुने गरेको तीतो यथार्थ हामीले भोगिसकेका छौं ।
अहिले पनि अवस्था त्यस्तै देखिन थालेको छ । गत साता काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले गरेको गोष्ठीमा नेपाली कांग्रेसका अग्रणी नेता कृष्णप्रसाद सिटौलाले यो सरकार कसैले गिराउन सक्दैन, सक्छ भने नेकपाले मात्र सक्छ भनेर जुन अभिव्यक्ति दिए, त्यसलाई नेकपाका कार्यकर्ताहरुले मनन गर्नुपर्ने देखिन्छ ।
रहस्यमय तमसुक
नेकपाले गत चुनावमा बहुमत ल्याएको होइन । तत्कालीन नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्यो । दोस्रो ठूलो पार्टी कांग्रेस बन्यो र तेस्रो ठूलो पार्टी तत्कालीन एकीकृत नेकपा माओवादी बन्यो । नेपाली राजनीतिमा पछिल्लो दुई दशक यता अस्थिरता र हिँसाको कारक बन्दै आएको माओवादी पार्टी एमालेसँग मिसियो र नेकपा बन्यो । एमाले र माओवादीको एकीकरणका कारण बहुमत प्राप्त दलको सरकार बन्न सम्भव भएको हो ।
तर, यो एकीकरण मुलुकलाई राजनीतिक स्थिरता दिनका लागि नै भएको हो त ? प्रश्न उठ्न थालेको छ । यो प्रश्नको मूल आधार नेकपा भित्रको एउटा गुटका नेता पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति तथा गतिविधि नै हो । प्रचण्डका केही अभिव्यक्ति तथा गतिविधि यस्तो देखियो कि केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा भित्रबाट, खासगरी प्रचण्डबाटै खतरा छ भन्ने देखियो ।
प्रचण्डले भारतमा गएर ओलीसँग सरकार आलोपालो चलाउने सहमति भएपछि पार्टी एकीकरण भएको अभिव्यक्ति दिए । नेपाली राजनीतिको यति रहस्यपूर्ण कुरा भारतमा गएर सार्वजनिक गर्नुको अर्थ पक्कै केही होला ।
त्यसपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका बेला प्रचण्डले तमसुकको रहस्य खोले । उनले ओलीसँग आलोपालो सरकार चलाउने तमसुक भएको र त्यो तमसुक अनुसार काम नभए ठिक नहुने चेतावनी सार्वजनिक गरे ।
तमसुकको अपराध
प्रधानमन्त्री पद दुईजना बीच गोप्य तमसुक गरेर लेनदेन गर्न खोज्नु अपराध हो । लेनदेन गरेर पाइने वस्तु पनि होइन । प्रधानमन्त्री पद सीधै राजनीतिक स्थिरतासँग जोडिएको विषय हो । राज्यको कार्यकारी पद कालो कोठाभित्र तमसुक गरेर लेनदेन गर्न खोज्ने दुस्साहस आश्चर्यलाग्दो छ ।
तमसुक किन भयो होला ? कारण जेसुकै होस्, कारणका बारे कि केपी ओलीले व्याख्या गर्न सक्लान्, कि प्रचण्डले सक्लान् । उनीहरुले जस्तो व्याख्या दिए पनि त्यो मान्य हुन सक्दैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत केपी ओली नेतृत्वको सरकार पाँच वर्ष चल्नुपर्ने धारणा अगाडि सारेको अवस्था हो । यस्तो अवस्थामा बीचैमा सरकार परिवर्तन गर्ने गरी नेकपाभित्र तमसुक हुनु कसैका लागि पनि मान्य हुन सक्दैन ।
अहिलेको परिस्थितिमा तमसुक अस्वीकार गर्दा केपी ओलीलाई फाइदा हुनसक्छ । तर, यसको अर्थ ओलीको सरकार सञ्चालन शैलीलाई समर्थन हो भनेर बुझिन हुन्न । केपी ओलीको सरकार सञ्चालन शैली वेठिक छ भन्ने तथ्यले स्थापित गरेको कुरा हो । यति हुँदाहुँदै पनि यो सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने मान्यता गलत हुन सक्दैन ।
यो तमसुक काण्डले नेकपाको एकीकरण मुलुकलाई स्थायित्व दिनका लागि नभएर व्यक्तिगत स्वार्थ पूर्तिका लागि मात्र भएको देखिन्छ । नेपाली राजनीतिको दर्दनाक सत्य हो व्यक्तिगत तथा पारिवारिक स्वार्थ पूर्ति । व्यक्तिगत तथा पारिवारिक स्वार्थ पूर्तिका लागि मात्र नेकपाको एकीकरण भएको हो त ? नेकपाका कार्यकर्ताहरुले केपी ओली र प्रचण्डबीच भएको तमसुक च्यात्दै सोध्नुपर्ने भएको छ ।
निजी स्वार्थको राजनीति
जनयुद्धको नाममा बगाइएको रगत व्यर्थ छ, रक्तपातपूर्ण कम्युनिष्ट क्रान्तिले समाजलाई अधोपतन मात्र गराउँछ भन्ने विश्वले बुझिसकेको थियो तर नेपालले बुझेन । त्यसैले नेपालले दस वर्षसम्म रक्तपातपूर्ण जनयुद्ध भोग्नुपर्यो । जनयुद्ध केका लागि थियो ? हजारौं निर्दाेष मानिसलाई किन मारिएको थियो ? यसको जवाफ मुलुकले पाएन । जनयुद्धका नाममा मुलुकलाई हिंसामा होम्ने मुख्य नेता प्रचण्ड, बाबुराम, मोहन वैद्य लगायत थिए । उनीहरु अहिले के गर्दैछन् ? अथवा, उनीहरुको अहिलेको भूमिका के छ भन्ने हेर्नपर्ने हुन्छ ।
डा. बाबुराम भट्टराई साम्प्रदायिकता भड्काउन अहिले पनि उद्यत छन् । उनको कम्युनिष्ट सैद्धान्तिक राजनीति जातीय राजनीतिमा पतन भएको छ । मोहन वैद्यको राजनीति दुईटा डुंगामा छ । उनी जनयुद्ध गर्नुपर्छ पनि भन्दैछन् र शान्तिपूर्ण राजनीति पनि भन्दैछन् । मानिसको रगतले उनको पार्टी अघाएको हो कि होइन भन्ने अझै प्रष्ट भएको छैन । भट्टराई र वैद्यको उद्देश्य अष्पष्ट छ तर प्रचण्डको उद्देश्य प्रष्ट बुझिन्छ, देखिन्छ ।
प्रचण्डले देश र जनताको नाम जति भजाए पनि देश र जनताका लागि राजनीति गरेका होइनन् भन्ने प्रष्ट भइसकेको छ । उनले आफू र आफ्नो परिवार र नातागोताका लागि मात्र सोचेका थिए र सोचिरहेका छन् भन्ने छर्लंग भइसकेको छ । उनको पार्टी पहिलो चुनावमा पहिलो भयो, दोस्रो र तेस्रो चुनावमा तेस्रो भयो । चौथो चुनावमा के हुन्थ्यो ? यसको जवाफ प्रचण्डले पाइसकेका थिए । त्यसैले एमालेसँग एकीकरण गरे । एकीकरण गर्दा पनि निजी स्वार्थपूर्तिका लागि तमसुक गरेर मात्र गरे ।
निजी स्वार्थ नेपाली राजनीतिको प्रमुख समस्या नै हो । सत्तामा पुगेपछि राजनीतिक दलका नेताहरुले परिवार मात्र च्यापेको, परिवार र आफन्तलाई अवसर दिएको देखिएकै हो । यो मामिलामा कम्युनिष्ट पार्टी अग्रणी देखिन्छ । प्रचण्डको परिवार र आफन्त, बाबुरामको परिवार र आफन्त, सीपी मैनालीले पत्नीलाई मन्त्री बनाउनु, अन्य अनेक कम्युनिष्ट नेताहरुमा देखिएको आफन्तवाद दुनियाँ सामु लुकेको छैन । तर, प्रचण्डमा देखिएको व्यक्तिगत स्वार्थ र आफन्तवादले राजनीतिक स्थिरतामा बन्चरो प्रहार गर्दै आएको छ ।
केपी ओलीको अपराध
प्रचण्डसँग तमसुक गरेर केपी ओलीले एउटा अपराध गरिसकेका छन् । तमसुक पालना गरे भने दोस्रो अपराध पनि गर्नेछन् । केपी ओलीको दायित्व यो सरकारलाई पाँच वर्ष चलाउने हो । उनी आफै पार्टी अध्यक्ष पदमा पनि छन् । आफै पार्टी अध्यक्ष हुँदा पनि पाँच वर्ष सरकार चलाउन सक्दैनन् भने उनले राजनीति गर्नु बेकार छ ।
सत्तासीन नेकपामा प्रचण्डले थालेको अस्थिरताको धान रोपाईंको बाली खान पाइन्छ कि भनेर कसैले आश नगरे हुन्छ । विगतमा नेपाली कांग्रेसको बहुमतको सरकारले काम गर्न नसक्दा त्यसको लाभ दक्षिणपन्थीहरुले लिए, उग्र वामपन्थीहरुले लिए । अहिले नेकपाको सरकारले काम गर्न सकेन भने त्यसको लाभ नेपाली कांग्रेसले नभएर उग्रपन्थी, दक्षिणपन्थी तथा जातिवादीहरुले लिनेछन् । त्यसैले लोकतन्त्रको स्थायित्वका लागि निर्वाचित सरकारको स्थायित्व हुनुपर्छ भन्ने मान्यता कांग्रेसले बोकेको तथ्य कैसैले बिर्सन हुँदैन ।
यो सरकार गिराउने हिम्मत प्रचण्डलाई कहाँबाट आउँदैछ ? प्रचण्डले आजको नेपाल हिजोको त्रिशंकु संसदीय युगमा छैन, अगाडि बढिसक्यो भन्ने तथ्य किन बिर्संदैछन् ? अनि, राजनीतिक स्थिरता भत्काएर व्यक्तिगत लाभ लिने प्रचण्डको इच्छामा हिजोका कतिपय एमाले नेताहरुले किन साथ दिइरहेका छन् ? यस्ता प्रश्नको जवाफ खोज्ने काम सबैले गर्नुपर्छ र खासगरी नेकपाका कार्यकर्ताहरुले गर्नुपर्छ ।
एउटा तथ्य के हो भने प्रधानमन्त्री ओलीको विकल्प खोज्ने मौका सबैभन्दा धेरै कसैले दिएको छ भने स्वयं ओलीले नै दिएका छन् । ओलीले सुशासन दिएका थिए, प्रभावकारी सरकार सञ्चालन गरेका थिए भने प्रचण्डले चलखेलको हिम्मत गर्ने थिएनन् अनि पूर्व एमाले नेताहरुले प्रचण्डलाई काँधमा राखेर अस्थिरतालाई निम्ता दिन सक्दैनथे ।
