नेपालमा चार खालका प्रतिपक्षी छन् । पहिलो– सत्तापक्ष भित्रका प्रतिपक्षी । दोस्रो– वैधानिक प्रतिपक्षी । तेस्रो– विदेशी । चौथो– असन्तुष्ट मानिसहरु । यी चार खालका प्रतिपक्षीहरुको प्रवृत्ति, नियत र उद्देश्य फरकफरक देखिन्छ ।
यी चार खालका प्रतिपक्षी एक अर्कासँग अन्र्तसम्बन्धित छन् । यी चार प्रजातिका प्रतिपक्षी एक अर्काका परिपूरक पनि हुन् । नेपालको पौने शदीको अनुभवले भन्छ– चार खालका प्रतिपक्षी मध्ये सर्वाधिक खतरनाक हुन्छन् सत्तापक्षभित्रकै प्रतिपक्षी । ‘भाइ फुटे गवाँर लुटे’ उखान सत्तापक्षभित्रको प्रतिपक्षीलाई लक्षित गरेर नै सिर्जना भएको हुनुपर्छ ।
वैधानिक प्रतिपक्षी लोकतन्त्रको सौन्दर्य हो, प्राण वायु हो । सत्तापक्षभित्रको प्रतिपक्षीसँग यसले गहिरोसँग सहकार्य गरिरहेको हुन्छ ।
नेपालको दुर्भाग्य नै हो– यहाँ देशभित्रका राजनीतिक शक्तिका गतिविधिलाई हेरेर मात्र राजनीतिक विष्लेशण गरेर हुँदैन । विदेशी शक्तिहरुको चलखेल सुँघेर मात्र कुनै पनि राजनीतिक विष्लेशण अगाडि बढाउन सकिन्छ । विदेशी शक्तिले सत्तापक्षभित्रको प्रतिपक्षीलाई पहिलो प्राथमिकता दिन्छ, उचाल्छ, उकास्छ ।
जुनसुकै मुलुकमा असन्तुष्ट मानिसहरुको ठूलो जमात हुन्छ । नेपालमा पनि छन् । यो स्वाभाविक हो । असन्तुष्ट मानिसहरु पनि सरकारका प्रतिपक्षी हुन् ।
अब यी चार खालका प्रतिपक्षी बारे थप चर्चा गरौ–
सत्तापक्षभित्रका प्रतिपक्षी
सत्तापक्षभित्र प्रतिपक्षी सिर्जना हुने नेपालको पुरातन रोग हो । ०४७ पछि दुई पटक मुलुकले चुनावमा बहुमत प्राप्त पार्टीको सरकार बनाउने सौभाग्य पायो । सत्तापक्षभित्रकै प्रतिपक्षका कारण दुवै पटक असयममै सरकार गिर्याे । अस्थिरतामा मुलुक फस्यो । दुवै पटक बहुमत प्राप्त सरकार गिराएर नेपालमा प्रजातन्त्रले काम गर्न सक्दैन, राजाको सक्रिय शासन चाहिन्छ भन्ने बातावरण बनाइयो । अन्ततः प्रजातन्त्र मासियो, ०४७ सालको संविधान मारियो, मुलुकलाई घोर अस्थिरता र अशान्तिमा जाकियो, मुलुकले धेरै खालका दीर्घरोगहरु पायो ।
सत्तापक्ष भित्रको लडाईंले त्यो सबै गरेको थियो ।
सत्तापक्षभित्रको प्रतिपक्षको चरित्र र विदेशी प्रतिपक्षको चरित्र तथा कार्यशैलीमा धेरै समानता हुन्छ । दुवैले छद्म रुपमा काम गर्छन् । ‘मुखमा रामराम बगलीमा छुरा’ यी दुवैको कार्यशैली हो ।
अहिले पनि बहुमत प्राप्त पार्टीको सरकार छ । सत्तासीन नेकपाभित्र प्रतिपक्षी उत्पति भइसकेको छ । तर, अहिले नेकपाभित्रको प्रतिपक्षीले ‘मुखमा रामराम बगलीमा छुरा’ चरण पार गरिसकेको देखिँदैछ । अर्थात्, नेकपाभित्रको प्रतिपक्षले बगलीबाट छुरा बाहिर निकालेर खुलेआम प्रदर्शन गर्न थालेको प्रतीत हुन्छ ।
अहिले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबैभन्दा धेरै असहयोग कतैबाट भइरहेको छ भने पार्टीभित्रबाटै भइरहेको देखिन्छ । सरकार तथा प्रधानमन्त्रीको खुट्टा तान्ने कुनै पनि मौका पार्टीभित्रका प्रतिपक्षीले गुमाएको देखिँदैन ।
राजकुमार रेग्मीकाे याे लेखकाे भिडियाे टिप्पणी तलकाे लिंकमा क्लिक गरेर हेर्न सकिन्छ
ठाडै भने हुन्छ– पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेकपाका निर्णायक नेताहरुले आफ्नो पार्टीको सरकारको बचाउ गरिरहेको देखिँदैन । बरु, आफू वरिपरिबाट सरकार विरुद्ध प्रहार गराइरहेका छन् ।
यी चारै नेताका आआफ्ना गुट छन् । गुटको आकार ठूलो या सानो होला तर गुट चाहिँ छ । सरकार विरुद्ध पूरै गुटलाई उतार्ने प्रयत्नमा यी नेताहरु कम्मर कसेर लागिरहेको देखिन्छ । यी नेताहरुको ह्रदयबाट ‘यो सरकार पूरै पाँच वर्ष टिक्छ, टिक्नुपर्छ र टिकाउँछौं’ भन्ने वाक्य उत्पति भएर मुखबाट बोलिएको अहिलेसम्म सुनिएको छैन ।
तरकारीमा विषादी काण्ड पनि सत्तापक्षभित्रकै प्रतिपक्षबाट आविष्कार गरिएको मानिन्छ । वाणिज्य मन्त्री मातृकाप्रसाद यादव र कृषि मन्त्री चक्रपाणी खनालले मिलेमतोमै विषादी काण्ड रचाएको खुलिसकेको छ ।
विगतमा कांग्रेसको बहुमतको सरकार गिराउने प्रेत नेकपाभित्र पसेको आकलन गर्न गाह्रो छैन ।
विदेशी प्रतिपक्ष
नेपालमा भारत, चीन, अमेरिका, युरोपियन युनियन तथा अरु केही अत्याधिक सक्रिय छन् । नेपालको आन्तरिक मामिलामा यिनले यथासक्य खेल्ने गरेका छन् ।
खासखास किसिमका विदेशी शक्तिहरुका लागि नेपालको सरकार स्थायी प्रतिपक्षी हो, सत्रु हो । नेपालमा बलियो सरकार बन्न नदिने, बारम्बार सरकार गिराइरहने, स्थिरता हुन नदिने, संविधान समेत भत्काउन खोज्ने नियत भएका विदेशी शक्ति नेपालमा क्रियाशील छन् भन्ने कुनै लुकेको कुरा होइन । यस्ता शक्तिले सत्तापक्ष भित्रको प्रतिपक्षीलाई काँधमा बोक्ने गरेको छ ।
विदेशीहरुले नेपालको जनमतलाई भड्काउने, खरीद गरिएका मिडियाहरु मार्फत् भ्रम फैलाउने, जनताको असन्तोषलाई गलत बाटोमा लैजाने काम गर्ने गरेका छन् । नेपालका प्रभावकारी भनिएका प्रायजसो मिडिया सामाजिक असन्तोष भड्काउन उद्यत हुनु, अस्थिरता र अशान्तिको पक्षपोषणमा तल्लीन हुनुको मुख्य कारण विदेशी शक्तिको प्रायोजनलाई मान्न सकिन्छ । नेपालमा घृणा, निन्दा र असन्तोषको बातावरण सिर्जना गर्ने, तिललाई पहाड बनाउने, रहस्यमय एजेण्डाहरु उछाल्ने काममा कैयन मिडियालाई विदेशीले प्रयोग गरिरहेको सबैले बुझेकै कुरा हो ।
जसरी होस्, नेपालमा अस्थिरता सिर्जना गर्ने, नेपालमा कुनै पनि सरकारलाई स्थिर हुन नदिने, हिँसा अशान्ति र असन्तोष फैलाउने काममा लागेका विदेशी शक्तिहरु नेपालका खतरनाक प्रतिपक्षी हुन् ।
असन्तुष्ट मानिसहरु
हरेक देशमा, हरेक समाजमा असन्तुष्ट मानिसहरु हुन्छन् । सरकारप्रति सम्पूर्ण रुपमा सन्तुष्ट मानिस विश्वका कुनै पनि देशमा छैनन्, नेपालमा पनि हुनु असम्भव हो ।
असन्तुष्ट मानिसहरुको जमातलाई कुन बाटोमा लैजाने भन्ने खिचातानी चलिरहन्छ । सरकारले तिनलाई सन्तुष्ट बनाउने प्रयास गरिरहन्छ भने पार्टीभित्रका प्रतिपक्षी, विदेशी शक्ति र वैधानिक प्रतिपक्षी (हाल नेपाली कांग्रेस)ले झन धेरै असन्तुष्ट बनाउन प्रयास गरिरहन्छ ।
जनता भनेका संगठित इकाई होइनन् । इन्टरनेट आधारित सामाजिक सञ्जालका कारण असन्तुष्ट जनतालाई झन असन्तुष्ट बनाउन सजिलो भएको छ ।
खासखास खालका विदेशी शक्तिहरु नेपालका असन्तुष्ट जनतालाई राज्यप्रति द्रोह गराउने, नेपाल राज्यप्रति नै अविश्वाश सिर्जना गराउने, संविधान र राज्यप्रणालीप्रति वितृष्णा जगाउने काममा लिप्त छन् भन्ने जगजाहेर छ । यस्ता शक्तिले सरकार तथा प्रधानमन्त्री उपर प्रहार गरेजस्तो गरेर राज्य तथा राज्य प्रणालीप्रति नै घृणा फैलाउने प्रयास सुनियोजित रुपमा गरिरहेका छन् ।
असन्तुष्ट मानिसहरुमा विभिन्न खाले प्रवृत्ति हुन्छ, विभिन्न जत्था हुन्छ । कतिपय मानिसहरु पूरै नकारात्मक प्रवृत्तिका हुन्छन्, उनीहरुमा बुद्धि धेरै विवेक थोरै हुन्छ । बुद्धि धेरै विवेक थोरै भएका यस्ता मानिसहरु बुद्धिजीवी कहलाउँछन् र यस्ताहरु विदेशी एजेण्डा बोकेर हिँड्छन् ।
वैधानिक प्रतिपक्षी
वैधानिक प्रतिपक्षीका रुपमा नेपाली कांग्रेस रहेको छ तर उसले प्रतिपक्षी धर्म निर्वाह गरिरहेको छैन, बरु, अधर्म निर्वाह गरिरहेको छ । विदेशीहरुले आफ्नो हित तथा नेपालको अहितका लागि बारीमा तोरी छरे जसरी घृणा निन्दाको बीउ नेपाली समाजमा छरिरहेका छन् । अराजकतावादी तथा दक्षिणपन्थीहरुले प्रधानमन्त्री केपी ओली र यो सरकार विरुद्ध घृणा फैलाए जस्तो देखाएर लोकतन्त्र गणतन्त्र विरुद्ध नै घृणा फैलाइरहेका छन् । अहिले विरोधको जुन जमिन छ, त्यो घृणा निन्दाको जमिन हो । यो जमिन कांग्रेसले तयार पारेको होइन । यो जमिन विदेशीले, अराजकतावादीले, दक्षिणपन्थीहरुले तयार पारेका हुन् ।
अरुले तयार पारेको जमिन, अरुले गरेको खेतिबालीमा कांग्रेसले गोडमेल र मलजल गर्ने काम मात्र गरिरहेको छ । अर्थात्, सरकार विरोधी फाँटमा एजेण्डा सेटिङ अरुले नै गरिहेछ, कांग्रेस पुच्छर बनिरहेछ ।
याद गरौं, घृणा निन्दाको जुन माहौल तयार पारिएको छ, यसको सिकार कांग्रेस स्वयं हुनेछ ।
केही समय पहिले गुठी विधेयककाे विरोधमा ठूलो प्रदर्शन आयोजना गराइयो । त्यसमा पार्टीको झण्डा निषेध भनियो । सरकारको विरोधमा आयोजित जुलुसमा सत्तापक्षीय पार्टीको झण्डा हुने कुरा भएन । त्यसमा हुने झण्डा भनेको प्रतिपक्षी पार्टीको हो । सरकार विरोधी प्रदर्शन हुन्छ अनि त्यहाँ कांग्रेसको झण्डा कसैले बोक्लान् भनेर ‘पार्टीको झण्डा निषेध’ भन्दै आदेश जारी गरिन्छ । कांग्रेस विवश लाचार हुनुपर्ने अवस्था छ । यसले के संकेत गर्छ ? यसले गर्ने संकेत भनेको प्रधानमन्त्री र सरकारलाई खुला रुपमा घृणा निन्दाको सिकार बनाउने र त्यसको आडमा प्रतिपक्षी कांग्रेस र लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भइरहेछ । यति कुरा पनि नबुझ्ने नालायक प्रतिपक्षी छ । घृणा, निन्दा, गालीगलौज, चरित्रहत्या, झुठको खेति, भ्रमको व्यापार गरेर विरोधको जुन जमिन तयार पारिएको छ त्यसमा कांग्रेसको उभिने ठाउँ छैन । कांग्रेसको आधारभूत चरित्र यस्तो हुँदै होइन । तर, कांग्रेसका अहिलेका नेताहरु पाँच वर्ष प्रतिपक्षमा बस्नुपर्दाकाे पीडाले विक्षिप्त भएका छन्, विवेकविहीन बनेका छन् ।
कांग्रेस आफ्नो वैचारिक मार्गबाट कतिसम्म च्यूत भएको छ भने संसदका वैठक समेत अवरुद्ध गर्छ ।
निष्कर्षमा
नेपालमा विरोधको कुन शैली मौलाउने भन्ने निर्णायक विषय हो । अहिले झुठमा आधारित, भ्रमको खेति र व्यापारमा आधारित निन्दाको विरोध जुन चलेको छ, तिललाई पहाड बनाउने अभियान जो चलेको छ, यसले मुलुकलाई सही बाटोमा अगाडि बढ्न दिँदैन । केपी ओली र सरकारप्रति घृणा फैलाउने जुन सुनियोजित प्रयास भइरहेछ, यसको अन्तर्यमा लोकतन्त्र–गणतन्त्रप्रति नै घृणा फैलाउँदै नेपालको राष्ट्रिय अस्मितामा प्रहार गर्ने नियत लुकेको छ । मुख्य राजनीतिक दलहरुले, खासगरी कांग्रेस तथा सत्तापक्षभित्रका प्रतिपक्षीहरुले यो कुरा बुझ्न आवश्यक छ ।
माथि पनि लेखियो, यहाँ पुन लेखौं– लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि सबैभन्दा खतरनाक हुन्छन् सत्तापक्षभित्रका प्रतिपक्षी ।
