काठमाडौं । भाषा माध्यम हो । सम्पर्क सूत्र हो । भाषालाई सरलीकृत गर्ने हो, नकि जटिल । यो सर्वमान्य भनाइ हो । र, सत्य पनि ।
तर भाषालाई सरलीकृत गर्ने भन्दैमा भाषालाई नै बिगार्ने काम भइरहेको छ । जे–जसरी लेखे पनि बुझे भइगयो नि ! भनेर अहिले नेपाली भाषालाई नै कुरूप बनाउने प्रयत्न भइरहेको पाइन्छ ।
भाषालाई सामान्यतः दुई भागमा बाँड्दा लेख्य र कथ्य भाषा भनी बुझ्न सजिलो हुन्छ । सामान्य बोलीचालीमा प्रयोग हुने भाषा कथ्य भाषा हो । यसमा ठाउँअनुसार फरक पर्न सक्छ । जात–सम्प्रदायअनुसार फरक पर्न सक्छ । विभिन्न धर्मअनुसार पनि फरक पर्न सक्छ ।
तर लेख्य भाषा अपवादबाहेक देशैभर समान हुने गर्छ र हुनुपर्छ । भूगोल, समुदाय, जातजाति र धर्मअनुसार कुनै शब्दको अर्थ फरक हुन सक्छ । तर लेखाइ प्रायः समान हुन्छ र हुनुपर्छ ।
पंक्तिकार भाषाको विज्ञ होइन, न त भाषा सिकाउनै खोजेको हो । यो सामग्री तयार पार्नुको एउटै उद्देश्य भनेको नेपाली भाषा र त्यसमा पनि समाचार लेखाइमा एकरूपता कायम गर्न सकियोस् भन्ने मात्र हो ।
सञ्चारमाध्यमको भाषा
नेपाली भाषालाई बिगार्नेमा सबैभन्दा अग्रपंक्तिमा नेपाली सञ्चारमाध्यम देखिन्छन् । एउटा सञ्चारकर्मी हुनुको नाताले पंक्तिकारले पनि यसको जिम्मा लिनुपर्छ र लिन्छ पनि ।
रेडियो र टेलिभिजनमा लेखाइले खासै अर्थ राख्दैन । पढेर र बोलेर सामग्री प्रसारण गरिने हुँदा यहाँ के लेखियो भन्ने कुराले खासै महत्त्व राख्दैन । यहाँ के बोलियो र के पढियो भन्ने कुराले अर्थ राख्छ ।
तर पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमले भने लेखाइमा नै ध्यान पुर्याउन नसके पूरै सामग्रीकै भाषा बिग्रन्छ । र कतिपय अवस्थामा भन्न खोजेको कुरा नै उल्टो परिदिन्छ ।
हेर्दा सामान्य लाग्ने विषय हो । तर यसले विशिष्ट अर्थ बोकेको हुन्छ । त्यसकारण नेपाली शब्द लेखन र भाषा बनोटमा सामान्य ध्यान दिन सके भाषा सरल हुन्छ । सुन्दर हुन्छ । शुद्ध हुन्छ र एकरूप पनि हुन्छ ।
दुई सय शब्द याद गरे पुग्छ
नेपाली भाषामा सम्प्रेषित हुने पत्रिका अथवा अनलाइन सञ्चारमाध्यममा अधिकतम प्रयोग हुने शब्द दुई सय हाराहारी होलान् । साहित्य लेखनमा केही बढी शब्द प्रयोग हुन्छन् । जम्माजम्मी दुई सय वटा शब्द सम्झिन सके नेपाली लेखन धेरै मात्रामा शुद्ध हुन्छ ।
शब्दकोश हेर्न सकिन्छ
लेखाइमा कुनै शब्दमा दुविधा भए नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपाली बृहत् शब्दकोश’ लाई नै प्रामाणिक शब्दकोष मानिन्छ । यसैमा हेरेर पनि पुष्टि गर्न सकिन्छ ।
यसका लागि कुनै ठूलो मूल्य चुकाउनु पनि पर्दैन । गुगलमा निःशुल्क डाउनलोड गर्न पाइन्छ । पाँच मिनेट समय दिएर डाउनलोड गरेर राख्दा समाचार लेखाइ शुद्ध हुन्छ ।
सरकारी कार्यालयमै बिल्लीबाठ
नेपालको सरकारी कामकाजको भाषामध्येको मुख्य भाषा हो नेपाली । यसकारण पनि सरकारी कार्यालयमा प्रयोग हुने भाषा शुद्ध र सरल हुनुपर्छ ।
तर नेपालका कुनै पनि सरकारी कार्यालयमा प्रयोग भएको भाषा शुद्ध पाइँदैन । भाषा बिगारेर लेख्नेमा नेपाल प्रहरीदेखि संसद् हुँदै मन्त्रालयका वेबसाइटसम्म छन् ।
कतिपय सरकारी कार्यालयका वेबसाइट खोलेर हेर्ने हो भने त्यहाँ देखिन्छ भाषाको हुर्मत लिएको । कतिसम्म भने एकै लाइनमा लेखिएका दुई उस्तै शब्द पनि दुईखाले लेखिएको पाइन्छ । आफ्नै कार्यालयको नाम पनि शुद्धसँग लेखिएको पाइँदैन कतिपय कार्यालयले ।
कतिपय मानिसले कुनै शब्दमा दुविधा भए सरकारी कार्यालयको वेबसाइट हेर्ने र त्यसमा लेखिएकालाई सही मान्ने गरेको पाइन्छ । यस्तोमा नेपाली भाषा सिक्न चाहनेका लागि पनि गलत सिकाइ भइरहेको छ ।
हेरौं भाषामा गरिएको भाँडभैलोका केही उदाहरण :
आईतबार होइन, आइतबार हो । दुई वटै लेख्ने ? त्यो पनि एउटै समाचारमा ? अघिल्लो दिन चाहिँ आइत‘बार’ अनि भोलिपल्टै कसरी सोम‘वार’ भयो ?
ल हेर्नुस् यहाँ ब्रेकिङको हतार । यहाँ बाढीलाई बढी बनाइएको छ । जम्मा मर्ने ६५ भनेको छ । अनि २४ महिला र ३१ पुरुषले ५५ जना पुग्छ । बाँकी कुन लिंगी हुन् ?
अनि प्रायः सबैले समाचारमा यो ‘रहेको’ किन झुन्ड्याएका होलान् ? मृत्यु हुने यति जना महिला र यति जना पुरुष छन्’ मात्रै भने हुँदैन ?
शीर्षकमा ‘असरामा घुमेको टर्वाइन’ समाचारमा कतै पनि घुमेको देखिएन । शीर्षकमै ‘असार’ हुनुपर्नेमा ‘असरा’ लेखिएको छ भने ‘टर्बाइन’लाई टर्वाइन ।
यो समाचारमा भन्न खोजिएको के हो ? छोरा जन्माएकाले दयनीय लागेको ? छोरी जन्माएको भए ? अनि दयनीय लागेको कसलाई ?
कानून होइन, कानुन लेख्ने भनेको छ, प्रज्ञा प्रतिष्ठानको शब्दकोशले । कानून नै लेख्ने हो भने सबै ठाउँमा एउटै लेख्नुपर्यो नि !
बेपत्ता कि वेपत्ता ? एउटा मात्रै लेखेको भए पनि हुने । एउटै अनुच्छेदमा दुईखाले ?
शीर्षकमा ‘विदा’, समाचारमा बिदा ?
अत्याधिक होइन, अत्यधिक हो । त्यही पनि अत्यधिक भनेको अति अधिक अथवा ज्यादै बढी हो । अहिले अति बढी पानी परेको हो कि बढी मात्रै ?
आसपासका नागरिक भन्नुभन्दा बासिन्दा भन्दा राम्रो होला ।
सपथ भनेको के हो ? पद तथा गोपनीयताको कसम खाँदा त ‘शपथ’ हुन्छ होइन र ?
शर्त होइन, सर्त हो ।
आव्हान होइन, आह्वान हो । आह्वान गर्नु भनेको बोलाउनु हो । यहाँ बोलाएको हो कि आग्रह गरेको ?
कांग्रेसको केन्द्रीय समिति बैठकले असार २७ गते गहिरो दुःख व्यक्त गरेछ । अरू दिन चाहिँ दुःख लागेन ? फेरि बैठकलाई दुःख लागेको हो कि मान्छेलाई ?
प्रायः सबै सञ्चारमाध्यमले सुचारु शब्द प्रयोग गरेको पाइन्छ । सुचारु भनेको ज्यादै राम्रो, धेरै सुन्दर हो । यहाँ विमानस्थल सञ्चालन भएको हो कि सुन्दर ?
अन्त्यमा,
यस सामग्रीमा कुनै सञ्चारमाध्यमलाई तल पार्न खोजिएको होइन । यो वा त्यो अनलाइन र पत्रिकाको मात्रै समस्या होइन । आमसञ्चारमाध्यमको समस्या हो ।
पंक्तिकार आफैँ कार्यरत संस्थाबाट प्रकाशन हुने सामग्री पनि त्यसैगरी लेखिएका छन् । सुधारको प्रयास गरिँदै छ । एकरूपता ल्याउने प्रयास हुँदै छ ।
सबै सञ्चारमाध्यमले लेखाइलाई एकै रूपको बनाउन सके कति राम्रो हुन्थ्यो होला । तुरुन्तै हुँदैन । समय लाग्ला । तर असम्भव भने होइन । प्रयास गर्ने कि एकपटक !
