देशले इतिहासबाटै विभिन्न प्रकृतिका राजनीतिक नेतृत्व उत्पादन गर्दै आइरहेको छ । नेपाल एकीकरणपछिका सबै नेतृत्वहरु विभिन्न किसिमको उछालले बनाएको देखिन्छ ।
पृथ्वीनारायण शाहका छोरा तथा बुहारी र नातीहरुको टकरावले भिमसेन थापा, माथवरसिंह थापा हुँदैं जंगबहादुरको उदय भयो । राणाहरुको पारिवारिक सुखसयल र अन्तराष्ट्रिय विकासका कारणले राणाहरुको अन्त्यसंगै प्रजातान्त्रिक नेतृत्वको विकास भयो ।
प्रजातन्त्रमा विश्वास राख्ने विपि कोईराला, मातृकाप्रसाद कोईराला, गणेशमान सिंह, पुष्पलाल आदि नेतृत्वको स्वार्थ प्रेरित क्रियाकलापका कारण सक्रिय राजतान्त्रिक नेतृत्वको प्रारम्भ भयो । सक्रिय राजतन्त्रलाई २०४६ सालको जनआन्दोलनले संवैधानिक राजतन्त्रमा सीमित पारी २०४६ सालको आन्दोलनले पुनः प्रजातान्त्रिक धारका गणेशमानसिंह, कृष्णप्रसाद, मनमोहन तथा मदन भण्डारी जस्ता नेताहरुलाई स्थापित गर्यो ।
प्रजातान्त्रिक नेतृत्वले दलगत स्वार्थ र बिरोधीलाई सखाप पार्ने नीति लियो । समाजमा धनी र गरिबबीचको खाडल बढ्दै गयो । बढ्दो खाडलका कारण माओवादी विद्रोह तथा पुनः सक्रिय राजतन्त्रको उदय भयो २०६० को दशकमा । त्यसपछि त्यो नेतृत्व विरुद्ध पनि विद्रोह भयो र जनआन्दालनसँगै गिरीजाप्रसाद, माधवकुमार हुदै पुष्पकमलको उदय भयो ।
०६२/०६३ को आन्दोलनले आवरणमा गिरिजाप्रसाद र माधवकुमारहरुलाई नेतृत्वमा ल्याएको देखिए पनि एजेन्डागत रुपमा प्रचण्डलाई नै स्थापित गरेको हो । प्रचण्डलाई पनि उछालले नै नेतृत्वमा पुर्याएको हो । तर, उछालको चाहाना विपरित पारिवारिक सानो कोटरी, अकुत भ्रष्टाचार, व्यापार प्रेरित व्यवहार, द्धैध चरित्र आदिले उनलाई सतहमा अवतरण गराइ दियो ।
भारतीय नाकावन्दीका समयमा वर्तमान प्रधानमन्त्रीले राष्ट्रियता सम्बन्धमा देखाएको नेतृत्वकारी जिम्मेवारी देखाए । त्यो उछालले उनलाई पुर्यायो तर आफ्नालाई सोह्रै खत माफ तथा भ्रष्टाचारीहरुको पूर्ण संरक्षण दिनाले उनी पनि उछालबाट अवतरण हुने क्रममा छन् ।
जनताको आशा र भरोसाको शिखरमा रहेका वर्तमान प्रधानमन्त्री आफ्नै संकिर्ण सोंच र आफ्नाहरुको अस्तित्व विलय हुनसक्ने आशंका बीच आलोचनाको शिखरमा पुगेका छन् । उनलाई अझै पनि देङ स्याओ पिङ, डा. महाथिर मोहम्मद अब्राहम लिंकन, हो चि मिन्ह आदी जस्ता महान नेता बन्न सक्ने मौका छ । त्यसका लागि त्यागको खाँचो छ ।
उनलाई आफ्नै पार्टीका तीनतीन जना अनुभवी पूर्व प्रधानमन्त्रीको टाउकोमा खेल्न पाउने सौभाग्य छ । ओलीले आफ्नो छाती ठूलो बनाउन सक्नुपर्ने थियो देशका लागि । सम्पति र सन्तति दुवैको लोभ नभएका ओलीले पूर्वाग्रह बिहिन आत्माविश्वाश हुनुपर्ने हो तर उनको आत्मविश्वाश क्षीण हुंदै गएको आभास हुनथालेको देखिन्छ ।
देशमा स्थापित भएका सबै नेतृत्वहाई मानविय उछालले नै स्थापित गरेको हो । २००७ सालमा जहांनिय राणाशासनको विकल्पमा, २०१७ सालमा दलगत स्वार्थको विकल्पमा, २०४६ सालमा एकतन्त्रीय पञ्चायती व्यवस्था र मुठिभर मान्छेहरुको रजाईंको विकल्पमा र ०६३ मा गरिब र धनीबीचको खाडल पुरेर राजतन्त्रको अन्त्य गर्ने विकल्पका लागि उछाल आयो ।
यसरी एउटाको विकल्पमा अर्काे व्यवस्था तथा नेता आएपनि पुरानो कार्यशैली, सोच र व्यवहारमा खासै परिवर्तन आएको छैन । भ्रष्टाचार गरी नवधनाढ्य बन्नमा प्रर्तिस्पर्धा भइरहेको छ । हाल देशमा भएका सबै नेताहरु आआफ्नो अग्निपरिक्षामा असफल भइरहेका छन् ।
अब यी नेताहरुबाट परिवर्तन, न्याय, भ्रष्टाचारविहिन समाज र विकासको आकांक्षा पूरा हुने सम्भावना लगभग मरिसकेको छ । वर्तमान संविधान अनुसारको चुनाव प्रणालीले स्वच्छ छवी भएका उर्जाशील, कर्तव्यनिष्ठ, विकासप्रेमी, न्यायशील र भ्रष्टाचार निर्मूल पार्ने नेतालाई अगाडी आउनै दिँदैन ।
पूरानाहरुको मृत्यु नहुन्जेसम्म नेतृत्वमा सिण्डिकेट चल्ने तथा कार्टेलिङ रहिरहने भएकाले सक्षम व्यक्ति कहिले पनि नेतृत्वमा आउन पाउँदैन । राजनीतिबाट एकदिन निवृत्त हुनुपर्छ र नयाँ विचारलाई स्थान दिनुपर्छ भन्ने भावना नेताहरुमा छैन । नयाँ पुस्ताको चाहना अनुसार कार्य गर्नसक्ने क्षमता नयाँ नेतृत्वमा हुन्छ ।
अहिलेका नेताहरुमा आफ्नो विचार, सोच, क्षमता, जनचाहनाभन्दा पछाडिको भइसक्यो भन्ने भावना स्थापित नहुन्जेलसम्म मानवसागरको उछाल नयाँ व्यवस्था र नेतृत्वका लागि भइरहने छ ।
अब अर्काे चरणको उछाल सृजना भई नयाँ नेतृत्व तथा संविधानको व्यवस्था हुने सम्भावना देखिन थालेको छ । अबको एजेण्डा मुख्यगरी तीनवटा हुनसक्ने छ ।
पहिलो हो– राजतन्त्रको पुनःस्थापना । देशबाट सदाका लागि राजतन्त्रको अन्त्य भइसकेको छ तर वर्तमान नेतृत्वकर्ताहरुको गतिविधिबाट आश मारेका जनताले विकल्पका रुपमा राजतन्त्रलाई अघि सारेजस्तो भान हुन्छ । यसो गर्नुमा राजतन्त्रले राम्रो गर्छ भनेर होइन । राजतन्त्र फालेका शक्तिहरुको व्यवहार राजतन्त्रको भन्दापनि खराब भएर हो ।
दोस्रो एजेण्डा हो– अन्तराष्ट्रिय चलखेल खासगरी भारतीय चासो र हस्तक्षेप । भारतीय नेतृत्व छिमेकी मुलुकहरु सँधै आफ्नै छत्रछांयामा बसेको देख्न रुचाउँछ । उसको त्यो चाहाना पूरा गराउन नेपालकै पदलोलुप नेताहरु लागिपरेका छन् । आफ्नो स्वार्थका लागि भारतलाई निम्त्याउँछन् । भारतको प्रवेश यस अर्थमा स्वभाविक छ ।
अर्कालाई औल्याउनुभन्दा आफु सहि ठाउँमा हुनुपर्ने छ । नेपालमा भारतको हस्तक्षेप विरुद्धलाई पनि एजेण्डाको रुपमा लिएर उछाल सृजना हुनसक्छ तर सम्भावना न्यून छ । बरु त्यसको विपरित भारतमा विलय हुन खोज्ने तत्व धेरै सक्रिय हुनसक्ने देखिन्छ ।
तेस्रो एजेण्डा हो– विकास र भ्रष्टाचारको निर्मूलिकरण । यो एजेण्डा अहिलेका लागि बढि मजबुत र सम्भावना बोकेको हुनसक्ने देखिन्छ । वर्तमान नेतृत्व यो एजेण्डामा पूर्ण रुपमा असफल भएको छ । विगतमा गरिबको आर्थिक उन्नतिका लागि नेतृत्व गरीआएकाहरु ठूला व्यापारी र ठेकेदार भएका छन् । त्यस्ता नेताहरुले भ्रष्टाचार निर्मूल गर्दैनन् । नियन्त्रण गर्ने प्रयास समेत गर्दैनन् । त्यसैले अब देशमा ठूलो मानव उछाल आउँछ । त्यसले भ्रष्टाचार निर्मूल गरी हालका भ्रष्टाचारीहरुको सम्पत्ति राजस्वमा दाखिला गर्नेछ ।
सम्पूर्ण जनता समक्ष प्रण गरेर जनसागरले अनुमोदन गरेको नेतृत्व देशलाई आवश्यक छ । वर्तमान परिपाटीमा रहेका जनता समक्ष मैले एक पैसा पनि भ्रष्टाचार गरेको छैन भनी घोषणा गर्नसक्ने नयाँ नेतृत्वलाई अबको उछालले जन्माउन सक्छ ।
