छिमेक नीतिका आधार भनेकै हाम्रा रिसोर्स हुन् । आर्थिक, सामाजिक सांस्कृतिक सम्बन्ध नै हुन । यी सबैमा हाम्रो सम्बन्ध राम्रो बनाउनुपर्छ । यीभित्र विनविनको अवस्था सिर्जना गर्नु नै दुवै देशका लागि फाइदाको विषय हो ।
नेपाल–भारतबीच सम्झौता कार्यान्वयन नभएका धेरै विषयमध्ये मुख्य विषय भनेको जलस्रोत नै हो । यसमा पानीको बाडफाँड, दुवै देशको सीमा क्षेत्रमा भएका डुबान, बाढी नियन्त्रण, तटबन्ध व्यवस्थापनको समस्या र खुला सिमानाका कारण उत्पन्न भएका समस्या नै हुन् ।
दुई देशबीच २०१४ मा भएको पावर टे«ड एग्रिमेन्ट अनुसार अपर कर्णाली र अरुण तेस्रो प्रोजेक्टको भारतका प्राइभेट, पब्लिक डेभलपर्सबीच सम्झौता भएको थियो, जुन पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली निर्माण नहुँदा दुवै देशका जनताले फाइदा लिन सकेका छैनौँ । यसपटकको बैठकमा यी विषयमा सरकारले विशेष महत्व दिएर वार्ता गर्ने छ भन्ने हामीलाई विश्वास छ ।
२०१० मा भएको रेलवे इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अन्तर्गत जयनगर, जनकपुर, बर्दिवास, बिजलपुरा, जोगबनी र विराटनगर सेक्टर अहिले निर्माणाधीन नै छन् । भारतको सहयोगमा सञ्चालित र सम्पन्न भएका केही प्रोजेक्टहरु पनि छन् । जुन इन्टरमिडियट खालका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, इमेरजेन्सी एन्ड ट्रमा सेन्टर काठमाडौं, मनमोहन मेमोरियल पोलिटेक्निक धरान जस्ता प्रोजेक्टहरु पनि सम्पन्न भएका छन् ।
भारत हाम्रो ठूलो व्यापारिक सम्बन्ध रहेको देश हो, यसमा दुई मत छैन । त्यसका साथै तेस्रो मुलुक व्यापारका लागि नेपाललाई ट्रान्जिट सुविधा प्रदान गरेको देश पनि हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको इनिसियसनमा इपिजी निर्माण भएको थियो । प्रधानमन्त्रीले त्यसको प्रतिवेदन कार्यान्वयन हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । मलाई लाग्छ यसले अब निष्कर्ष पाउने बेला भएको छ । यसलाई सरकारले सशक्त ढंगले प्रस्तुत गर्ने छ र यस विषयमा कुरा उठाउने छ भन्ने मलाई विश्वास छ ।
परराष्ट्र नीतिबारेको एउटा संवादमा प्रधानमन्त्री ओलीले निक्कै महत्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो । ‘हाम्रो वैदेशिक सम्बन्ध र परराष्ट्र नीति साझा चासोको विषय हो । यस विषयमा सिंगो देशले एउटै नीति र भाषा बोल्नुपर्छ । हो हामीकहाँ स्थिर सरकार छ, हामी समृद्धिको बाटोमा छौँ । समृद्धिमा छिमेकीको भूमिका महत्त्वपूर्ण हुन्छ, छिमेकी भारतमा पनि मोदीको नेतृत्वमा स्थिर सरकार छ, मोदीजीको सरकारलाई ढिलै भए पनि बधाई दिन चाहन्छु ।
हामीले भारतसँग र मोदीसँगको व्यवहारमा सत्तापक्षमा छौँ कि प्रतिपक्षमा छौँ भनेर सोच्नु हुँदैन भन्ने मेरो धारणा छ । अहिले मोदीको जितलाई लिएर सत्तापक्ष विश्वस्त र प्रतिपक्ष आशंकित भएको जस्तो पनि देखिन्छ । प्रतिपक्षले पनि हिजो सत्तामा हुँदा राष्ट्रिय हित, छिमेकीप्रतिको विश्वास कायम गर्ने जुन सोच थियो, प्रतिपक्षमा हुनेबित्तिकै छिमेकीलाई आशंका गर्ने, राजनीतिक रुपमा अविश्वास गर्ने किसिमको सन्देश दिनुहुँदैन । किनभने भारतमा स्थिर सरकार हुनु भनेको नेपाललाई फाइदा हो । यसले नेपालको हितको रक्षा गर्न सक्छ । भारत होस् वा चीन बलिया छिमेकीले मात्र हामीजस्तो देशको हित गर्न सक्छन् । हामी बलियो भए उनीहरुको हित हुन्छ र उनीहरु बलियो भए हाम्रो हित हुन्छ । भारतमा स्थिरता र बलियो सरकार हुनु नेपाललाई कहिल्यै पनि बेफाइदा होइन ।
नेपालमा पनि बलियो सरकार मात्र भारतको फेबरमा हुन्छ । भारतमा पनि बलियो सरकार नेपालको फेबरमा हुन्छ । यसो हुँदा नेपालले धेरै फरकफरक शक्तिसँग डिल गर्नुपर्दैन । एउटा फर्मल र अफिसियल च्यानलसँग मात्र विश्वास कायम गरेर अघि बढ्नुपर्छ । अस्थिर सरकार दुःखले चलेको सरकार र गठबन्धनको सरकार भयो भने धेरै एजेन्सीहरु एप्रोच गर्न आइपुग्छन् जुन हामीले विगतमा भोग्यौँ ।
अहिले एउटा बलियो सरकार भएकाले एउटा अफिसियल च्यानलसँग मात्र डिल गर्दा हाम्रो हित हुन्छ । भारतमा मोदीजीको नेतृत्वमा फेरि बलियो सरकार फर्केर आएको छ । यो नेपालको हितमा छ । हामीले यो नबिर्सौ, शान्त र समृद्ध छिमेकीले मात्र अर्को छिमेकीको हित गर्न सक्छ । हाम्रो समृद्धिमा साथ दिन सक्छ । यो टोल छिमेक जिल्ला देश सबैमा लागू हुन्छ । त्यसकारण प्रतिपक्षले पनि हिजो सत्तामा हुँदा जस्तो व्यावहार गरेको थियो त्यस्तै गर्नुपर्छ ।
दक्षिण एसियामा भनाैं या एसियामा जुन किसिमको समृद्धि देखिएको छ, ल्याउन खोजिएको छ, जुन समृद्धि हामीले पनि दोहन गर्नुपर्छ, त्यसलाई पनि हामीले फेबरमा लिन सक्नुपर्छ । दक्षिण एसियामा हाम्रा प्रधानमन्त्रीले देखाएको समृद्धिको यात्रामा भारतले सहयोग गर्ने छ । अबको विकास एक्लाएक्लै सम्भव छैन । एउटाको मात्र विकास होइन, सबैको विकास हुने सोचका साथ अघि बढ्नु आजको आवश्यकता हो ।
(संसद् ओलीले बुधबार राष्ट्रिय सभाको विशेष समयमा राखेको धारणाको सम्पादित अंश)
