गाेबिन्द थापा --
नेपालमा ६८ वर्षका एक मानिस छन् जो बिहान जुरुक्क उठेदेखि राति १२ बजेसम्म काम गर्छन् । उनले अल्छी लाग्यो, थकाइ लाग्यो भनेको कहिल्यै सुन्न पाइएन । आराम गर्छु भनेको कहिल्यै सुन्न पाइएन । रातोदिन खट्ने, जतिबेला पनि जनता र देशको भलाई मात्र सोचेर बस्ने अनि भलाईको काम मात्र गर्ने ती मानिस हुन्– केपी शर्मा ओली ।
मदन भण्डारीको भनाई छ– राजनीतिमा थकाई भन्ने शब्द हुँदैन । यो आदर्श भनाई केपी ओलीले निरन्तर अनुशरण गरिरहेका छन् ।
केही दिन अघि राति यो पंक्तिकारलाई धेरै महानुभावहरुको फोन आयो । सबैको प्रश्न थियो– केपी ओली साँच्चै सिकिस्त बन्नुभएको हो ? यस्तो प्रश्नको जवाफ दिँदादिँदा हैरान नै भइयो ।
त्यस साँझ केही मिडियाले प्रधानमन्त्री ओलीलाई सिकिस्त विरामी बनाइदिएछ । त्यसपछि अरु कतिपय मिडियाले थपथाप पार्दै, मरमसला हाल्दै झन सिकिस्त भएको समाचार दिएछ । त्यसपछि एउटा मिडियाले त प्रधानमन्त्री सिकिस्त भएको भनी रमाउँदै समाचार हालेछ र राति नै एअर एम्बुलेन्सबाट सिंगापुर लैजान लागिएको लेखेछ ।
त्यसपछि हल्ला फैलियो । चिन्ताको लहर सुरु भयो । उता एउटा सानो जमातमा चाहिँ खुसीको लहर फैलिएछ । केही समयपछि नै समाचार असत्य सावित भएपछि त्यस्तो जमातमा कति उदासी छायो होला भन्ने अनुमान गर्न सकिन्छ । रमाउँदै प्रधानमन्त्रीको अस्वस्थ भएको समाचार लेख्ने कुनै पनि मिडियाले क्षमा मागेको देखिएन ।
केपी ओली मात्र होइन, यो धरतीका हरेक प्राणीलाई रोग लाग्छ, स्वास्थ्य बिग्रन्छ । हरेक मानिस मर्छ । यो शाश्वत हो । तर, यसो भन्दैमा कोही मानिस मरिहालोस् भनेर कामना र प्रार्थना गर्नु चाहिँ निर्लज्जता हो, घोर अमानवीय हो ।
६८ वर्ष उमेरका मानिसलाई कुनै न कुनै रोग लागेको हुन्छ । यो उमेरसम्म रोगविहीन मानिस धरतीमा विरलै होलान् । केपी ओली चाहिँ रोगलाई जितेका मानिस हुन् । उनले निजी सुखसयलका लागि रोगलाई जितेका होइनन् । उनले आफ्नो शरीर र मनलाई देश तथा जनताप्रति समर्पित गरेको देखिन्छ । उनको उमेरका मानिसले अहोरात्र काम गर्ने होइन, कामभन्दा आराम धेरै गर्ने हो । तर, त्यस विपरित ओली आराम गर्दैनन्, सिर्फ काम मात्र गर्छन् भन्ने देशदुनियाँलाई थाहा भइसकेको छ । देश र जनताप्रति यति समर्पित मानिस अस्वस्थ बनोस् भन्दै कामना गर्नु मानवता होइन, दानवता हो । यस्तो दानवता कतिपयले प्रदर्शन गरिरहेका छन् ।
बुधबार प्रधानमन्त्री आफैंले पनि आफ्नो मृत्युको कामना गर्नेहरु भएको कुरा सार्वजनिक रुपमा भने । उनले खुलेर यसरी भन्नुपर्ने अवस्था किन आयो ? यो विचारणीय छ ।
कुनै पनि मानिसको मृत्युको कामना गर्नु अस्वाभाविक हो र महापाप पनि हो । फलाना मरिहाल्छ, त्यसपछि उसको ठाउँ लिउँला भनेर मित्रता गास्नेहरु पनि हुँदा रहेछन् । नेपाली राजनीतिमा देखिएका खासखास किसिमका चलखेल र मित्रता देखेर धेरैलाई यो कुरा महशुस भइरहेको छ । सर्वसाधारण जनताले केपी ओलीको स्वास्थ्य बिग्रने कल्पना पनि गर्न सक्दैनन् । बरु, उनको सुस्वास्थ्यका लागि पूजा–प्रार्थना गर्छन् ।
ओलीको चोला उठोस् भनी कसले र किन कामना गरिरहेको छ ? यतातिर ध्यान दिन जरुरी छ । नेपाललाई शान्ति र स्थिरता दिने काम गरेका छन् ओलीले । मुलुकलाई विकास र समृद्धितर्फ लैजाने जग हालिरहेछन् । नेपालमा टालटुले विकास मात्र थियो, आज बनायो, भोलि प्रचार गरेर जनतालाई दिग्भ्रमित पार्ने विकास मात्र थियो । ओलीले दिगो तथा दिर्घकालनी विकासको जग हालिरहेछन् । मुलुकको स्वाभिमान र आत्मविश्वाश बढाइरहेका छन् । देश र जनताले पाइरहेको यस्तो उपलब्धी मन नपाउनेहरुले नै ओलीको चोला उठोस् भनी कामना गरेका हुनुपर्छ ।
६८ वर्षका प्रधानमन्त्री ओली आज जति सक्रिय छन्, त्यति सक्रिय विगतका कोही पनि प्रधानमन्त्री थिएनन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । ओलीलाई डाक्टरहरुले आराम गर्नु भनी निरन्तर दवाब दिइरहेको पनि समाचारमा आइरहेकै छ । आफ्नो स्वास्थ्य र ज्यानको पर्वाह नगरी रातोदिन सक्रिय भएर मुलुक र जनतालाई केही दिउँ भन्ने प्रतिवद्धता ओलीमा देखिन्छ ।
अहिले एकखाले मानिसहरु केपी ओलीको चोला उठोस् भनी कामना गरेर बसिरहेका छन् । अनि अर्काथरी तत्वहरु चाहिँ ओली सरकारले केही पनि गर्न सकेन, काम नलाग्ने सरकार भनी प्रचार गर्न र भ्रम फैलाउन सक्रिय छन् । सरकार बनेको करिब डेढ वर्ष भयो । यति अवधीमा यो सरकारले जति काम गरेको छ, त्यति काम विगतका कुनै पनि सरकारले गरेको थिएन । निष्पक्ष र पूर्वाग्रहरहीत बनेर आफ्नै आत्मालाई साक्षी राखेर तथ्यहरु हेरौं– यो सरकारले अहिले जति काम गरेको छ, इतिहासमा कुनै सरकारले गरेको छैन भन्ने निष्कर्षमा जो पनि पुग्छ ।
दुराग्रह र पूर्वाग्रह राखेर हेर्ने हो भने त सरकारले केही पनि काम गरेकै देखिँदैन ।
सरकारले अविकासलाई जितिरहेछ, गरिबी र वेरोजगारीलाई जितिरहेछ । तर, एउटा फाँटमा चाहिँ सरकारले खासै जित्न सकेको देखिँदैन । सरकारले केही पनि गरेन र गर्न सक्दैन भन्ने प्रचारवाजीलाई चाहिँ ओली सरकारले खासै जित्न सकेको देखिँदैन । किनभने यति धेरै काम गरेर पनि ‘सरकारले केही गर्न सकेन’ भन्ने प्रचार पराजित भइसकेको छैन । भ्रमलाई सरकारले पर्याप्त चिर्न सकेको छैन । आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा धेरै हुनु लरतरो उपलब्धी होइन ।
यो सरकारले केही गरेन भन्दै भ्रम प्रसारण गर्ने अभियान चलिरहेको बेला नेपालमा विदेशी लगानी ओइरिरहेको तथ्यतर्फ पनि ध्यान दिनुपर्छ । यो डेढ वर्षमा नेपालमा जति विदेशी लगानी आयो र आउने क्रममा छ, त्यति लगानी यति अवधीमा विगतमा कहिल्यै भित्रिएको थिएन । नेपाललाई यो सरकारले डेढ वर्षकै अवधीमा लगानीयोग्य देश बनाएको छ । विगतको हिंसा र अशान्तिपूर्ण अवस्था सम्झौं, अहिलेको शान्तिपूर्ण अवस्था हेरौं । केपी ओली नेतृत्वको सरकारको उपलब्धी प्रष्ट देख्न सकिन्छ ।
यस्ता उपलब्धीहरुलाई उपलब्धी नै होइन भन्दै सरकार विरुद्ध निरन्तर भ्रम फैलाउने काम भइरहेछ । त्यति मात्र होइन, प्रधानमन्त्रीको चोला उठोस् भन्ने ‘ब्वाँसो विचार’ समेत राखिँदैछ ।
कर्मचारीतन्त्रले पर्याप्त सहयोग गर्ने हो भने प्रधानमन्त्री ओलीले अलिकति भए पनि आराम गर्न पाउँथे होलान् । पार्टीभित्रबाट पर्याप्त सहयोग दिइएको थियो भने पनि प्रधानमन्त्रीले आराम गर्न पाउँथे होलान् । तर, प्रधानमन्त्री ओलीले आराम गर्न पाएको देखिँदैन ।
उपचार गर्दा समेत विरोध नै गरिन्छ । उपचार गर्दा विरोध गर्नुको अर्थ के हो ? मानिस विरामी परोस्, उसको चोला उठोस् भनी कामना गर्नु नेपाली समाजको चरित्र होइन । नेपाली समाजमा यति निर्मम र अमानवीय प्रवृत्ति फैलाउन खोज्नेहरुले के बुझ्नुपर्छ भने हरेक मानिस एकदिन मर्छ तर उसले देश र समाजलाई दिएको योगदान भने बाँचिरहन्छ ।
केपी ओलीको स्वास्थ्यमा समस्या छ भने समस्या नहोस् भनी कामना र प्रार्थना गर्नु मानवीय कर्तव्य हो । मानवीय कर्तव्यबाट कसैले पनि च्युत हुनु हुँदैन । केपी ओलीको शरीर अहिले जति तन्दुरुस्त छ, त्यसका पछाडि डाक्टरले दिएको औषधीले भन्दा जनताले दिएको आशिर्वादले धेरै काम गरेको छ । केपी ओली सामान्य प्रधानमन्त्री होइनन्, उनले नेपाल राष्ट्र र नेपाली जनतालाई विगतमा दिएका योगदान र अहिले दिइरहेको योगदान क्षणिक रुपमा कसैले छोप्न सक्छ । तर, इतिहासले अन्याय गर्दैन, केपी ओली यो देशका महानतम् प्रधानमन्त्री हुन् ।
यहाँनेर गिरिजाप्रसाद कोइरालाको स्मरण गर्नुपर्ने हुन्छ । उनलाई एकपटक तन्दुरुस्त शरीरको राज के हो भनी कसैले सोधे । ओलीले ‘सक्रियता’ भनी जवाफ दिए । विज्ञानले पनि पुष्टि गरिसकेको कुरा हो– क्रियाशील, सकारात्मक सोच्ने र अरुको भलाई गर्ने मानिस लामो आयु बाँच्छन्, उनीहरुले शारीरिक अस्वस्थ्यतालाई पनि जित्छन् । आराम गर्न नपाएर केपी ओली अस्वस्थ्य भएको एउटा पक्ष छ, क्रियाशीलता, सकारात्मक सोच र जनताको भलाइ गर्ने कामका कारण उनी तन्दुरुस्त भएका हुन् ।
यहाँनेर मलेसियाका अहिलेका प्रधानमन्त्री महाथिर मोहम्मदको प्रसंग उल्लेखनीय हुन्छ । सुरुमा उनी प्रधानमन्त्री हुँदा मलेसियामा ठूलो विरोध भएको थियो । तर, देश र जनताप्रति प्रतिवद्ध महाथिरले आफ्नो विरोध र आफू विरुद्ध फैलाइएका सबै भ्रमलाई परास्त गरे । समृद्ध मलेसिया बनाए । उमेरजन्य अस्वस्थतालाई पनि जिते । अहिले ओलीको अवस्था पनि त्यस्तै देखिन्छ । ओलीको उमेर ६८ मात्र छ, महाथिरको उमेर ९३ छ । अर्थात्, ओलीले अरु कैयन वर्ष देश र जनताका लागि काम गर्नेछन् । बरु, यसका लागि उनलाई सबैले शुभकामना दिने मानवीय उदारता देखाउन सक्छुपर्छ ।
दैनिक १८ घन्टा खट्नु सामान्य क्रियाशीलता होइन । देश र जनताप्रति परम् निष्ठा र प्रतिवद्धता नभई मानिस यसरी खट्न सक्दैन । निष्ठा, समर्पण र आत्मबलका कारण नै केपी ओली यति सक्रिय भएका हुन् । यहाँनेर यो पनि स्मरण गरौं– मानिसको तन्दुरुस्ती उसको आत्मबलसँग पनि गासिएको हुन्छ । केपी ओलीको आत्मबल सबैलाई थाहा भएकै कुरा हो । सरकार विरुद्ध यति धेरै तगारो लगाइँदा पनि, सरकार विरुद्ध यति भयानक दुष्प्रचार गरिँदा पनि ओली अविचलित देखिन्छन्, उनी निरन्तर काममा देखिन्छन्, जसरी पनि समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थक बनाउन प्रतिवद्ध देखिन्छन् ।
यस्ता प्रधानमन्त्री २० वर्ष मात्र होइन, अरु ५० वर्ष बाँच्नुपर्छ । नेपाली जनताको कामना यही हो, चाहना यही हो ।
याे पनि पढाैं -
प्रधानमन्त्री ओली विरुद्ध आएका दानवीय विचारहरु
