नेपाली राजनीतिका एक शशक्त हस्ती हुन् माधवकुमार नेपाल । करिब तीन दशकदेखि उनी नेपाली राजनीतिको केन्द्रमा छन् । अहिले पनि राजनीतिको केन्द्र र चर्चामै छन् । र, अहिले उनी कठिन परिस्थितिमा फसेका छन् ।
नेपालीमा एउटा उखान छ– दुःख पाइस् मंगले, आफ्नै ढंगले । यो उखान अहिले माधवकुमारसँग मेल खान्छ ।
प्रसंग थालौं स्वास्थ्यलाभको कामना काण्डबाट । बिहीबार सचिवालय बैठकमा नेता नेपालले अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको कामना गर्न मानेनन् । यो विषयलाई माधव नेपालको समूहले ठिक उल्टो ढंगले प्रचारमा ल्यायो । माधवले स्वास्थ्यलाभको कामना गरेको तर ओलीले त्यस्तो कामना चाहिएन भनेको भनी प्रचार गरिएको छ । यस्ता क्षुद्र प्रचारवाजी राजनीतिमा चलिरहन्छ । अहिले चाहिँ मुख्य प्रसंग हो माधवले उठाएको सात बूँदेको ।
नेकपाको बहुमतको सरकार छ, पार्टीको आकार झन ठूलो भएको छ, पार्टीप्रति जनताको आशा र भरोसा झन बढेको छ । यस्तो बेला माधवकुमारले आफ्नै सरकार र प्रधानमन्त्रीलाई चरम असहयोग गरिरहेका छन् । पार्टी र सरकारलाई सहयोग गरेका थिए भने माधवको राजनीतिक अवस्था यति टिठलाग्दो बन्ने थिएन । स्वास्थ्य लाभको कामना समेत ओलीले लिन मानेनन् भन्ने ढंगको क्षुद्र प्रचारवाजीमा उत्रनुपर्ने अवस्था माधवको आउने थिएन ।
उनले पार्टीमा सात बूँदे असहमति राखेका छन् । यो सात बूँदा माधव आफैलाई लाज लाग्नुपर्ने खालको देखिन्छ ।
वस्तुतः उनले कुण्ठित मानसिकताका साथ यथार्थ धरातल बिर्सिएर आफैंलाई भ्रमित र धोकापूर्ण अवस्थामा राखेको देखिन्छ ।
नेकपामा विभिन्न तह तथा फाँटका जिम्मेवारी बाँडफाँड गर्दा माधवले अध्यक्षद्वयसँग अनुनय गर्दै आफ्ना पक्षका दर्जनौं कार्यकर्तालाई पदमा पुराए । त्यसपछि उनले सात बूँदे नाटक थालेका हुन् ।
माधवले एक व्यक्ति एक पदको कुरा उठाएका छन् । उनको सात बूँदेको सार वाक्य नै एक व्यक्ति एक पद हो । सात बूँदेको नियत चाहिँ ओलीले एउटा पद छाडे भने त्यसमा आफू बस्ने हो । अर्काे शब्दमा भन्ने हो भने माधवले मनको लड्डु सात बूँदेमा चोपेर खाँदैछन् ।
विगतमा उनी दुई क्षेत्रबाट चुनावमा पराजित भए । तैपनि मनोनीत सांसद् बने । अनि, संसदीय दलका तत्कालीन नेता र पार्टी अध्यक्षलाई उछिनेर विपक्षी पार्टीहरुसँग साँठगाँठ गरेर प्रधानमन्त्री समेत बने । पार्टी भड्खालामा जाकिए जाकियोस् तर म प्रधानमन्त्री बन्नैपर्छ भन्ने उनको त्यसबेलाको रवैया रह्यो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मात्रै पद रोज्नुपर्ने माधवको मागको शल्यक्रिया गर्न आवश्यक छ । एक्सरे गर्न आवश्यक छ । सात बूँदेको एक्सरे गर्दा के देखिन्छ भने माधवभित्र इषर््या र कुण्ठा छ, त्यसलाई सात बूँदेमा पोखेका हुन् । वरियता सच्याएर झलनाथलाई अगाडि ल्याइएकोमा उनको आक्रोश छ । आफूले पतनको बाटोमा लगेको एमालेलाई नेकपा बनाउँदै ओलीले शिखरमा पुराएकोमा माधव कुण्ठित बनेका हुन् ।
अरुको सफलतामा आफ्नो असफलता देख्ने प्रवृत्ति मनोरोग हो । त्यस्तो मनोरोगको परिणाम हो सात बूँदे ।
माधवले आपत्ति जनाएको दुई पदमा केपी ओली कसरी पुगे भन्नेतर्फ ध्यान दिइनुपर्छ । महाधिवेशनमा निर्वाचित भएर ओलीले अध्यक्ष पद हासिल गरेका हुन्, कसैले मनोनीत गरेर होइन । कार्यकर्ताले भोट हालेर निर्वाचित गरेको पद त्यागेर माधवलाई त्यो पदमा मनोनीत गर्न मिल्छ र ? चोरबाटोबाट सांसद् पदमा पुगेर प्रधानमन्त्री बनेजस्तो सजिलो हुन्छ र पार्टी अध्यक्ष पद पाउन ?
केपी ओलीको साथमा भएको अर्काे पद हो– प्रधानमन्त्री । यो पद पनि उनलाई जनताले दिएका हुन् । केपीलाई प्रधानमन्त्री बनाउने प्रचारसाथ वाम गठबन्धनले गत चुनाव लडेको थियो । केपीलाई प्रधानमन्त्री नबनाउने, अरु कसैलाई बनाउने भन्दै चुनाव लडेको थियो भने वाम गठवन्धनले यस्तो परिणाम ल्याउँथ्यो ? ल्याउँदैनथ्यो ।
चुनावमा ओलीको नेतृत्वमा गठवन्धनले वहुमत ल्यायो । अर्थात्, ओलीको नाममा वाम गठवन्धनले बहुमत ल्यायो । स्वाभाविक रुपमा ओली प्रधानमन्त्री बने । यसरी ओलीको साथमा अध्यक्ष र प्रधानमन्त्री दुवै पद आएको देखिन्छ । अध्यक्ष पद कार्यकर्ताले दिए, प्रधानमन्त्री पद जनताले दिए । कार्यकर्ता र जनताले दिएको पद त्यागेर त्यो पद माधव या अरु कसैलाई किन दिने ? कसरी दिने ? त्यसो गर्नु विधि पद्धति, कानुन संविधान अनुसार मिल्छ ? अहँ, मिल्दैन । त्यसकारण ओलीले साथमा भएको दुईमध्ये एक पद त्यागेर त्यसमा माधव या अरु कसैलाई बसाउन सम्भव छैन ।
माधव अध्यक्ष हुँदा तत्कालीन एमालेको अवस्था कस्तो थियो भन्ने पनि स्मरण गरौं । त्यसबेला तेश्रो लिङ्गी वा लिङ्ग नै नछुट्टिएको पार्टी भनेर एमालेलाई भनिन्थ्यो । कुनै पनि विषयमा तत्कालीन एमालेले अडान लिन सकेको थिएन । कांग्रेस र माओवादीको बीचमा च्यापिएर एमाले स्याण्डवीच बनिरहेको थियो । आलोचकहरु त्यसबेला एमालेलाई ‘नेकपा संयुक्त बन्ने बाटोमा लागेको’ भन्थे । बेहाल भइसकेको पार्टीलाई पहिलो नम्बरमा स्थापित गर्ने अनि बहुमत सहितको सरकार बनाउने काम केपी ओलीको नेतृत्वमा सम्भव भयो । ‘नेकपा संयुक्त’ बन्ने बाटोमा लागेको पार्टीलाई बचाएर नेकपा बनाएकोमा ओलीले पद त्याग्नुपर्ने हो ?
भारतले गरेको नाकावन्दीका बेला माधव प्रधानमन्त्री थिए भने देशको के दुर्गति हुन्थ्यो होला ? अनुमान गर्दा पनि कहाली लाग्छ । दुई ठूला कम्युनिष्ट पार्टीको एकता गराएर विश्वभरका वामपन्थीलाई अभिप्रेरणा दिने काम माधवबाट सम्भव थियो ? अवश्य थिएन ।
सधैंभरि गरिबी र त्यसै वरिपरिको राजनीतिमा रुमलिएको राष्ट्रिय परिवेशमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मुखरित गर्दै समृद्धि, विकास र आर्थिक रुपान्तरणका मुर्छित सपनाहरुलाई ब्यूँताए वापत ओलीले पद छाड्नुपर्ने हो ? देशमा उत्साहको नौलो वातावरण श्रृजना गरे वापत ओलीले पद छाड्नुपर्ने हो ?
आफ्नो पुरानो निर्वाचन क्षेत्रका जनताको सामना गर्न नसकेर काठमाडौंबाट प्रतिनिधि सभामा पुग्न अनेक तारतम्य जुटाउने तत्कालीन एमाले महासचिवले यस्ता प्रश्नहरुको जवाफ तयार नपारी सात बूँदे असहमति ल्याउनु गलत भयो ।
सात बूँदे असहमति ल्याउँदा माधवले आफू उपर पनि प्रश्न उठ्छ भन्ने हेक्का राखेनन् । अझ स्थानीय निर्वाचनमा आफ्नो गृहजिल्ला रौतहटमा पार्टीलाई शून्यमा झार्ने उनले असहमतिका सात बुँदा राखेर कुण्ठा मात्र प्रदर्शन गरेका छन् ।
पार्टीलाई तेश्रो स्थानमा पु¥याएर मैदान छाड्ने माधवकुमारले कुन नैतिकताका आधारमा ओलीले एउटा पदमा सीमित हुनुपर्छ भनेका हुन् ? जवाफ चाहियो, थाहा चाहियो ।
