सेप्टेम्बर २३, २०१४ मा विभिन्न देशका सरकार, व्यापारी, मानव अधिकारवादी लगायतको उपस्थितिमा भएको संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलनमा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले मन्तव्य राखेका थिए । संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले सम्मेलन सुरु हुनभन्दा एक दिनअघि लियोनार्दोलाई संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन दूत बनाएका थिए, उनले यी अभिनेतालाई ‘न्यु भ्वाईस फर द क्लाइमेट एडभोकेसी’ भनेर सम्बोधन गरेका थिए ।
टाइटानिक, द एभिएटर, द रेभेनेन्टलगायत विश्वचर्चित फिल्मका स्टार लियोनार्दो अभिनयसँगै वातावरण तथा संरक्षणमा केन्द्रित छन् । शाकाहारी जीवन, वन्यजन्तुप्रतिको प्रेम, मानवीय सहयोग र सादगीपनका कारण लियोनार्दोले विश्वका धेरै युवालाई प्रेरित गरेका छन् । सोही मन्तव्यलाई अनुवाद गरेर प्रकाशित गरिएको छ ।
धन्यवाद महासचिव ज्यू, सम्मानित महिला, पुरुष तथा विशेष अतिथि । म यहाँ विज्ञका रुपमा होइन, एउटा सचेत नागरिकका रुपमा उपस्थित भएको छु ।
म न्युयोर्कको सडकमा मार्चपास गर्ने ४ लाख जनतामध्येको एक हुँ । संसारभरका करोडौं मानिसमध्ये एक हुँ, जसले वातावरणीय संकट समाधान गर्न चाहन्छ । अभिनेता भएकाले म जीवनको कल्पना गर्छु । म काल्पनिक पात्रका रुपमा पर्दामा देखिन्छु र काल्पनिक समस्याहरु समाधान पनि गर्छु ।
मेरो बुझाईमा मानव जातिले जलवायु परिवर्तनलाई यसरी नै लिएका छन् । मानौं कि यो एउटा काल्पनिक कथा हो । जलवायु परिवर्तन यथार्थ होइन भनेर मानेकै भरमा यसबाट भाग्न सकिन्न । हरेक साता हामीले जलवायुसँग सम्बन्धित नयाँ र अस्विकार्य घटना देखेका छौं । जलवायुमा तिव्र परिवर्तन हुँदैछ भन्ने प्रमाण हो यो ।
सुख्खापन बढ्दैछ, महासागरमा पानी बढी अम्लीय हुँदै गएको छ, मिथेन ‘प्लम्स’ उकालो लाग्दैछ । हामीले मौसममा कडा खाले परिवर्तन देखेका छौं । अनपेक्षित रुपमा पश्चिम अन्टार्टिक र ग्रिनल्यान्डमा वरफको मात्रा कम हुँदैछ, त्यो पनि वैज्ञानिकहरुले प्रक्षेपण गरेभन्दा धेरै दशकअघि नै ।
यो कुनै रटान मात्रै होइन, न त हिस्टेरिया, यो त सत्य हो । वैज्ञानिक समुदायले यसलाई बुझेको ,छ, उद्योगले बुझेको छ, विभिन्न देशका सरकारले बुझेको छ ।
अब स्पष्ट हुन जरुरी छ, जनतालाई लाइट बल्ब परिवर्तन गर्न वा हाइब्रिड कार किन्न भनेर पुग्नेछैन । यो विध्वंश मानिसको व्यक्तिगत इच्छाले निम्त्याउने तहभन्दा पर पुगिसकेको छ । अब हाम्रा उद्योग र विश्वभरका सरकारले ठूलो निर्णायक कदम चालेर यसको समाधानमा जुट्नुपर्छ ।
हामी अब एक्सनमा जानैपर्छ । कार्बन उत्सर्जन गर्नेमाथि ‘प्राइसट्याग’ राख्नुपर्ने आवश्यकता छ । सरकारले ग्याँस, कोइला र पेट्रोल कम्पनीलाई दिदैं आएको अनुदान कटौती गर्नुपर्ने बेला भएको छ । स्वतन्त्र बजार अर्थतन्त्रका नाममा स्वतन्त्र घुम्ने औद्योगिक प्रदूषणकारीहरुमाथि रोक लगाउने समय आएको छ, उनीहरु हाम्रो कर होइन, परीक्षाका हकदार हुन् । इको–सिस्टम ध्वस्त भयो भने अर्थतन्त्र आफैं मर्नेछ ।
सुखद समाचार, नवीकरणीय उर्जा सफलता मात्रै होइन, राम्रो आर्थिक नीति पनि हो । यो विभाजित बहसका लागि होइन, मानिसका लागि हो ।
सफा हावा र सन्तुलित वातावरण पूर्ण मानवअधिकार हो र यस संकटको समाधान राजनीतिक प्रश्न होइन, यो हाम्रो आफ्नै अस्तित्वको प्रश्न हो ।
यो आपत्कालीन समय हो र आपत्कालिन सन्देश हो । सम्मानित प्रतिनिधि तथा विश्वका नेताहरु म बाँच्ने कल्पना गर्छु । जलवायु परिवर्तनविरुद्धको यो अभियानका पक्षमा अहिले संसारभरका व्यक्तिहरु खडा भएका छन् । अब तपाईहरुको समय हो, मानिसको सबैभन्दा ठूलो चुनौतीको जवाफ दिने समय हो ।
म यसलाई साहस र इमानका साथ सामना गर्न तपाईहरुसँग भिख माग्छु, धन्यवाद् ।
