पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । सानाे कारणले आत्महत्या गर्नेदेखि लिएर जीवनका जटिलता सामना गर्न नसक्नेहरु तथा मानसिक कारणले आत्महत्या गर्नेहको आँकडा चिन्ताजनक रुपमा बढिरहेकाे छ । अहिले त झन दुरुत्साहनका कारण अात्महत्या विवाद र बहसकाे विषय बनेकाे छ । यसरी आत्महत्या गर्नुको मूल कारण मानसिक स्वास्थ्य रहेको पाइन्छ । विभिन्न उमेर समूहमा व्याप्त यो समस्या तत्कालै सही निर्णय गर्न नसकेको कारण हुने गरेको पाइन्छ ।
यही विषयमा केन्द्रित हुँदै सनराइज खबरले साईक–विज्ञान नेटवर्क नेपालकी कार्यकारी निर्देशक तथा मनोविद् कृपा सिग्देलसँग कुराकानी गरेको छ । नवलपरासीको गैंडाकोटमा जन्मेकी कृपाले बागबजार स्थित पद्मकन्या क्याम्पसमा साइकोलोजी (मनोविज्ञान) विषयमा प्राध्यापन पनि गर्ने गरेकी छिन् । यसबाहेक उनले मनोवैज्ञानिक समस्या र आत्महत्याको बारेमा परामर्श पनि दिने गरेकी छिन् ।
एडोलसेन्स, माइन्ड डिप्रेशन र एन्जाइटीकी जानकार कृपासँग बढ्दो आत्महत्याका विषयमा गरिएको कुराकानीको सारसंक्षेप :-
पछिल्लो समय आत्महत्याको आँकडा बढ्दो क्रममा छ । के कारणले मानिसलाई आत्महत्या गर्न उक्साइरहेको छ ?
आत्महत्याका विभिन्न कारणमध्ये एउटा मुख्य कारण मानसिक स्वास्थ्य नै हो । विभिन्न अनुसन्धानहरुले देखाए अनुसार ९० प्रतिशत आत्महत्याको कारण मानसिक स्वास्थ्य समस्या नै हो ।
तत्कालै मर्ने विचार आएर गर्ने आत्महत्या अर्थात् ‘इम्पल्सिभ सुुसाइड’ भने १० प्रतिशत रहेको मान्यता छ । आत्महत्या गर्ने व्यक्तिहरुलाई पहिल्यैदेखि केही भइरहेको हुन्छ र त्यसैको कारण पनि आत्महत्या गरिएपनि त्यो ‘इम्पल्सिभ सुसाइड’ जस्तो देखिन्छ । तर, मुख्य कारण मानसिक स्वास्थ्य तथा डिप्रेशन लगाायतका कारण व्यक्तिले आत्महत्या गर्ने गर्छन् ।
आत्महत्याको मुख्य कारण मानसिक भन्ने देखियो, तर साइबर क्राइमको कारण पनि आत्महत्या बढेको भन्ने भनाइ छ, यसमा कत्तिको सत्यता छ ?
अहिले साइबर क्राइमका अधिकांश घटनामा फोटो तथा भिडियोलाई धम्क्याउन प्रयोग गर्ने गरिएको छ । ती फोटो तथा भिडियो देखाउँदै ‘ब्ल्याकमेल’ गर्दै सार्वजनिक रुपमा बेइज्जत गर्ने धम्की दिने गरेको कारण पनि आत्महत्या भइरहेको देखिन्छ । पीडितहरुले त्यो दबाब थेग्न नसक्ने र तनाव लिन नसक्ने कारणले नै आत्महत्या गर्ने गरेको पाइएको छ ।
यसलाई ‘डायथेसिस स्ट्रेस मोडल’ भनिन्छ । हरेक मान्छेको एउटा ‘ट्रिगर’ हुन्छ । सानो कारणले पनि त्यो संवेदनशील ‘ट्रिगर’ मा ‘क्लीक’ हुन्छ ।
हेर्दा सानो देखिने तनावले पनि धेरै असर पार्ने हुन्छ । व्यक्तिको संवेदनशीलतामा ‘डायथेसिस स्ट्रेस मोडल’ मा कत्ति ट्रिगर गर्छ ? तनाव सामना गर्न सक्छ कि सक्दैन ? भन्ने विषय उसको व्यवहारले निर्धारण गर्छ ।
परीक्षाको नतिजा देखाउँदै १०–११ वर्षका बालबालिकाले पनि आत्महत्या गरेका छन्, यसको कारण के होला ?
यो विषय भने बच्चाको स्वभावमा भर पर्छ । पहिल्यै देखि नै सानो कुरामा एकदमै तनाव लिने खालको थियो कि थिएन भन्ने विषय यसमा महत्वपूर्ण हुन्छ । सामान्य कुरालाई ठूलो रुपमा सोच्ने बच्चाको हकमा यो समस्या बढि हुन्छ ।
त्यस्तै उनीहरुलाई कुनै मनावैज्ञानिक समस्या भइरहेको अवस्थामा तथा त्यस्ता बच्चाले एकपटक सोचाइमा तत्कालै केहि गरिहाल्ने प्रवृत्तिको कारण पनि यी समस्या आएको हुनसक्छ ।
अन्त्यमा, आत्महत्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
आत्महत्यालाई न्यूनीकरण गर्ने बलियो माध्यम कुरा गरेर हो । आत्महत्या गर्न चाहनेसँग कुरा गरेर हामीले आत्महत्यालाई शत प्रतिशत रोक्न सक्छौं । आत्महत्या गर्ने अवस्थासम्म पुग्ने व्यक्ति अथवा जोसुकैलाई अप्ठ्यारो परेको छ अथवा समस्यामा छ भने हामीले उनीहरुको समस्या सुन्नुपर्छ, बुझ्नुपर्छ ।
कसैले आत्महत्या गर्छु भनेको खण्डमा ‘मर्दले त्यसो भन्ने हो ?’ भन्ने चलन आमरुपमा व्याप्त छ । यो समस्यालाई त्यसरी होच्याउने प्रवृत्ति भन्दा गम्भिरतापूर्वक उसको कुरा सुनेर सुल्झाउनुपर्छ ।
यो मुठी कसेको जस्तो हो । मुठीलाई कस्दै गयो भने हात झन् दुख्दै जान्छ । व्यक्तिले मनमा कुरा जति धेरै गुम्साएर राख्छ, त्यति त्यो छट्पटी बढ्दै जान्छ । अन्तिममा त्यो छट्पटि विस्फोट हुन्छ ।
ती समस्यालाई जरैदेखि समाधान गर्ने हो भने व्यक्तिलाई सानै उमेर देखि मनोविज्ञानका विषयमा सचेतनाका कार्यक्रमहरु चलाउनु पर्छ । स्कुल तथा कलेजहरुमा यो विषयमा जानकारी नियमितरुपमा दिनसक्नुपर्छ ।
समस्या परेको खण्डमा गुनासो गर्ने हेल्पलाईन नम्बर छन्, त्यो नम्बरको विषयमा सबैलाई जानकारी गराउनुपर्छ ।
त्यस्तै कसैले फोन गरेर आत्महत्या गर्छु भनेको खण्डमा उसँग राम्रोसँग कुरा गर्नुपर्छ । कहाँ बसेको, हतियारहरु साथमा केही छ कि भनेर सोध्नुपर्छ । त्यसपछि त्यहाँ नबस्न सल्लाह दिनुपर्छ ।
उसको सबै कुरा सुनेर राम्रा सल्लाह दिइ मान्छेलाई आत्महत्याबाट जोगाउन सकिन्छ ।
तत्कालै निर्णय गर्ने स्वभावलाई घटाउन र मानसिक पीडा कम गर्ने मौका दिनुपर्छ । त्यति गरेमात्र पनि आत्महत्याको दरलाई निक्कै कम गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
चिन्ताजनक छ तथ्यांक :यसरी बढ्दैछ नेपालमा अात्महत्या
