यो सरकार बिरुद्ध विष बमन गर्नेहरूको एउटा जमात छ । सरकारको काम नदेखेर होइन, देखेर पनि नदेखे झैं गरेर, बुझेर पनि नबुझे झैं गरेर यो सरकारले काम नै गरेन भन्छन् । खै कहाँ छ सरकार भन्छन् ।
किन र कुन उद्देश्यले सरकारको विरोध गरिएको हो, विरोध गर्नेको नियत के छ र उद्देश्य के छ भन्ने बुझ्न तथा विष्लेशण गर्न जरुरी छ ।
नेकपा बलियो भएकाले विरोध
प्रथमतः नेपालमा कसैले कल्पना गर्नै नसकेको काम भयो जुन थियो नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकता । ती दुई पार्टी बीच चुनावी गठबन्धन समेत कसैले कल्पना गरेका थिएनन् । दुई पार्टीको एकीकरणले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै सबैलाई ‘सरप्राईज’ दिएको थियो । नेकपा अत्यन्तै शक्तिशाली भएपछि यो पार्टीलाई कमजोर बनाउन सरकारलाई प्रहार गर्नै पर्छ भन्ने ठानेर सोही बमोजिम असफल बनाउने डिजाइन रच्न थालियो । यसै कारण विभिन्न बहाना आविष्कार गरेर तथा तिललाई पहाड बनाएर सरकारको उग्र विरोध गरिँदैछ ।
हो नेपाली जनताका आकांक्षा असिमीत छन् र विकासमा पनि छिटै कायपलट होस भन्ने जनचाहना छ । संसारका धेरै देशमा भएको बिकासलाई धेरै नेपालीले जानकारी राखेका छन । आफू नपुगे पनि आफ्ना सन्तान, परिवारका सदस्य, इष्टमित्र, छरछिमेकी या प्रविधिको प्रयोगबाट विदेशका विकासको ज्ञान लिएका छन् । जसका कारण आफ्नो देश पनि त्यस्तै होस भन्ने चाहना राख्ने नेपालीको संख्या अत्याधिक छ ।
कुनै पनि देश रातारात सम्पन्न बन्न सक्दैन, रातारात विकास हुन सक्दैन । नेपालमा बिगतदेखि नै युवा विदेशमा पलायन भए । आधुनिक र विशिष्ट कृषिकर्म थाल्नुपर्ने बेलामा युवा पुस्ताले जिम्मेवारी लिन पर्ने हो तर युवा विदेशमा पाका खेतीमा भयो । कृषि मजदुरको चरम अभाव भइसकेको छ । नेपालमा सरकारले चलाएका उद्योग कलकारखानाहरु बेचियो ।
परनिर्भरता नेपालको ठूलो समस्या हो । हुनत विश्वमा कुनै पनि देश आत्मनिर्भर छैनन् । परनिर्भरता हरेक देशको समस्या हो । विकसित देशहरु अन्र्तनिर्भर छन्, विपन्न देशहरु परनिर्भर छन् । नेपालको निर्यातको अवस्था धेरै कमजोर छ । आयात अत्याधिक छ । आयात र निर्यातबीचको असन्तुलन हटाउन प्रयास भइरहेको छ । अहिले सरकारले उत्पादन बढाएर निर्यात बढाउने नीति अख्तियार गरेको छ । सरकारको नीति प्रभावकारी छ, प्रभावकारी कार्यान्वयन पनि सुरु भइसकेको छ । तैपनि सरकारको एकोहोरो र अनर्गल विरोध गरेर जनतामा भ्रम फैलाउने प्रयास भइरहेको छ ।
कांग्रेसको अभिष्ट
सरकारको विरोध गर्ने सबैको एउटै खालको उद्देश्य छैन । नेपाली कांग्रेसले गर्ने विरोध पछाडि उसले आफ्नो राजनीतिक अभिष्ट पुरा होस् भन्ने चाहना राखेको छ । सरकारले गरेका सकारात्मक काम विरुद्ध समाजमा के गरेर नकारात्मक विचार फैलाउन सकिन्छ, के गरेर जनतालाई भड्काउन सकिन्छ भन्ने ध्याउन्नमा कांग्रेस लागेको देखिन्छ । समाजमा चर्चित् हुने खालका कुनै घटना हुने बित्तिकै त्यसैलाई विरोधको हतियार बनाउने र एजेण्डा बनाउने हलुका काम कांग्रेसले गरिरहेको छ ।
अराजकता र उछृङ्खलतालाई प्रोत्साहित गर्दा आफूलाई फाइदा हुन्छ भन्ने भ्रममा कांग्रेस परेको देखिन्छ । गत निर्वाचन अगाडि कांग्रेसलाई हेर्ने जनताको दृष्टिकोण जे थियो त्यसमा आज पनि केहि फरक छैन । कांग्रेसको विरोध शैलीले लोकतन्त्रलाई कमजोर बनाउँछ । कांग्रेसले सबैभन्दा चर्काेसँग उठाएको मुद्दा निर्मला पन्तको हत्या हो । एक किशोरीको हत्यामा एउटा पार्टी संवेदनशील र अर्काे पार्टी संवेदनहीन भयो भन्न मिल्छ र ? निर्मला पन्तको हत्यामा कांग्रेस संवेदनशील र सरकार संवेदनहीन हुनै सक्दैन । तैपनि कांग्रेसले जानीबुझी नै दुर्निनियत राखेर निर्मला पन्तको हत्या प्रकरणलाई उछाल्ने काम गरिरहेको छ । सो घटनाको अनुसन्धानमा सरकारले कुनै कसर बाँकी राखेको छैन । शंकास्पद जति सबैलाई अनुसन्धानको दायरामा ल्याएको छ । प्रहरीहरु नै निलम्बित भए, बर्खास्त समेत भए । म प्रश्न गर्न चाहन्छु– विगतमा कांग्रेसले सरकारको नेतृत्व गर्दा भएका दर्जनौं यस्ता घटनामा यत्तिकै चासो दिएर कुन घटनालाई अनुसन्धान गरियो ? कति अपराधीलाई कार्वाही र्गयो ? मैले यसो भनिरहँदा अपराधीले उन्मुक्ति पाउनुपर्छ भनेको अर्थ नलगाइयोस् ।
कतिपय अपराध तत्काल प्रमाणित गर्न कठिन नै हुने रहेछ । अमेरिका जस्तो सर्वाधिक शक्तिशाली देशमा पनि बन्दुकधारीले दिनहुँ १५–१६ जना मार्छन् । अमेरिका जस्तो देशमा प्रयोग गरिने प्रविधिले समेत अपराधीलाई बेलैमा पत्ता लगाउन नसकेको यथार्थ छ । अपराधलाई ढाकछोप गर्नुपर्ने र अपराधीलाई माया गर्नु पर्ने सरकारसँग कुनै कारण छैन ।
राजतन्त्र फर्कने भ्रम
अहिले केहीलाई राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने लागेको छ, त्यसकारण डिजाइन गरेर नै सरकार विरुद्ध अफवाह फैलाउने काम गरिरहेका छन् । त्यो जमातले सरकार असफल भइसकेको र जताततै अस्तव्यस्त भएको जस्ता हावादारी कुरा गरेर कोकोहोलो मच्चाउने प्रयास गरिरहेको छ । हामीलाई राम्रोसँग थाहा छ– भ्रष्टाचार आजको मात्र समस्या होइन, बिगतदेखि नै समृद्धिको बाधक भ्रष्टाचार रहँदै आएको हो । आफूलाई कथित भ्रष्टाचार विरोधी अभियन्ता भन्नेहरुलाई पनि यो कुरा राम्रोसँग थाहा छ । अहिले सरकारले भ्रष्टाचार अन्त्य गर्न खोजेको छ, दिनहुँ भ्रष्टाचारीहरु समातिएका छन्, कारवाही भइरहेको छ । कारवाहीकै कारण कतिपय त आत्महत्या गर्ने अवस्थामा नै पुगे ।
राजावादीहरु सरकारले अगाडि सारेका कतिपय विधेयकमा भएका जनहितका कुरालाई ओझेलमा पार्दै हुँदै नभएको विषयमा हल्ला गरेर जनता भड्काउन उद्यत देखिएका छन् । पछिल्ला केही घटनामा राजावादी जत्थाले निर्वाह गरेको भूमिका अनौठो छ । जस्तैः शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेको नाम जोडिँदा प्रहरीले अनुसन्धान गर्नु स्वभाविक नै थियो । यो घटनामा सरकारको के दोष थियो ? नेकपाका अध्यक्ष प्रचण्डको के दोष थियो ? तैपनि जर्बजस्तै सरकार र नेताहरुलाई गास्न खोजियो । सडकमा सरकार र प्रचण्ड विरुद्ध नारा लगाइयो ।
सरकार विरुद्ध वितृष्णा पैदा गराउने मात्रै नभएर संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै प्रहार गर्न सकिन्छ भनेर नै यस्ता हर्क गरिएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग
एउटा पंक्ति छ त्यो पंक्ति हो सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताहरु । सरकार विरुद्ध आक्रमण गर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताहरु सबैको बुझाइमा एकरुपता छैन । कतिपयको खराब नियत छ भने कतिपयको बुझाइमा नै त्रुटी देखिन्छ । जसको बुझाईमा त्रुटी छ उनीहरु भ्रममा छन् । उनिहरुलाई प्रभाव पार्नेहरु तिनै खराब नियत राखेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरु नै हुन् ।
बेरोजगार युवाहरु नकारात्मक कुरामा बढी विश्वास गर्छन् र इमोशनल पनि हुन्छन् । उनीहरुले नै नकारात्मक सन्देश दिने खालका भिडियो लगायतका सामग्रीहरु बढी शेयर गरिदिन्छन् । कतिपय अनलाइन मिडियाहरुको स्तर र स्तर लाजमर्दाे देखिन्छ । युटुबर र अनलाइन मिडियाका सञ्चालक लगायतका कतिपय मिडियाकर्मीले गलत सूचना फैलाएर जनतालाई भ्रमित पार्न खोजिरहेका छन् । हामीले त्यो पनि देखिरहेका छौं– कतिपय फेसबुक प्रयोगकर्ताहरु हावामा दौडिएर नै आफ्ना भित्ताहरु रंग्याउने गर्दछन । गहिराइमा पुगेर अध्ययन गर्नु छैन, सत्य के हो बुझ्नु छैन, संसार नै आफैंले जानेको जस्तो गरी भीडमा मिसिन थाल्छन् । झुठा समाचार विरुद्ध स्ट्याटस लेख्यो भने अश्लील शब्द प्रयोग गर्दै गाली गलौजमा उत्रन थाल्छन् ।
सामाजिक सञ्जालकाे दुरुपयाेग गरेर केपी अाेली र सरकार विरुद्ध भ्रम फैलाउनेहरुले के बुझ्नुपर्छ भने यस्ताे दुरुपयाेगले समाज डढाउँछ र अाफैंलाई पनि सिध्याउँछ ।
नकारात्मक समाचारको व्यापार
कतिपय मानिसमा नकारात्मक र उत्तेजक कुरामा चाँडो विश्वाश गर्ने प्रवृत्ति देखिन्छ । त्यही बुझेर नेपालमा अस्थिरता चाहने वैदेशिक शक्ति र नेपाल भित्रकै स्थिरता विरोधी शक्तिले विगत देखि नै चलखेल गर्दै आएकाे छ र अहिले पनि गर्दैछ । धेरैवटा मिडियाले नकारात्मक समाचारको व्यापार गरिरहेका छन् ।
अरु १० वर्ष ओलीको नेतृत्व
अहिलेको सरकार नेपाली जनताले अत्याधिक विश्वास गरेको सरकार हो । सरकारले जनताको विश्वास र भरोसा मर्न नदिन अनेकौं प्रयत्न गरेको देखिन्छ । प्रधानमन्त्री रातदिन खटिएको देख्न पाइएको छ । आफ्नो शरीर र रोगको कुनै मतलब नराखी क्रियाशील हुनु सजिलो छैन । विरामी परेर उपचार गर्न जाँदा समेत मानवीयता गुमाएर प्रधानमन्त्री विरुद्ध टिप्पणी गरिएको देखिन्छ । यो भन्दा दुखद राजनीति अरु के हुन्छ ? प्रधानमन्त्रीसँग भिजनको अभाव छैन, इच्छाशक्ति, आत्मबल र दुरदर्शिता प्रचुर छ । कसैले सम्भव नदेखेको काम प्रधानमन्त्री ओलीले सम्भव देखे, अनि उनले आफ्ना सपना जनतालाई सुनाए । तिनै सपनालाई हावादारी भन्ने प्रचार गरियो । प्रधानमन्त्रीसँग जोश जाँगर र ईच्छा शक्ति नभएको भए छिमेकी राष्ट्र चीन र भारतसँग पारवहन, यातायात तथा वाणिज्य लगायतका ऐतिहासिक सन्धि हुनु सम्भव थिएन ।
राम्रो काम गर्दागर्दै पनि प्रधानमन्त्री ओलीलाई नकारात्मक जत्थाले अनर्गल आक्रमण गरिरहेको छ । तर, तथ्य र सत्यले जस्तै अनर्गल आक्रमणलाई पनि निस्तेज पारिदिन्छ र आउँदो पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनेछ । म कामना गर्छु– प्रधानमन्त्रीको स्वास्थ्य यस्तै राम्रो होस्, केपी ओलीले अझै १० वर्ष मुलुकको नेतृत्व गर्न सक्नुपर्छ । नेपाली जनतालाई यस्तै आत्मबल, साहस, भिजन र देशप्रति समर्पण भएको प्रधानमन्त्री चाहिएको थियो । र, आज जनताको चाहना पूरा भएको छ, अब विकास र समृद्धिको चाहना पनि क्रमश पूरा हुँदै जानेछ ।
