काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी छ, योगेश भट्टराईको काँधमा ।
दिवंगत मन्त्री रवीन्द्र अधिकारीको स्थानमा आएका योगेशको अगाडि यतिबेला चुनौतिको पहाड नै छ ।
ठूलो अपेक्षाको बिचमा ‘विवादित मन्त्रालय’ को जिम्मेवारी सम्हालेका उनले विशेषगरी पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा पूरा गर्नुपर्ने दायित्वको सूची लामै छ । यीनै समसामयिक विषयवस्तुको परिधिमा बसेर सनराइज खबरका बालकुमार नेपालले मन्त्री भट्टराईसँग उनको निवासमै गरेको कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संक्षेप :–
सरकारको नेतृत्व आलोपालो
सरकारको नेतृत्व आलोपालो गर्ने कुरा अहिले हराएको दाबी मन्त्री योगश भट्टराईले गरेका छन् । भने– ‘आलोपालोको बहस कुनै बेला थियो, तर अहिले छैन’– उनले भने । यो बहस बिलाएको हो भन्ने जिज्ञासामा भट्टराईले कुटनैतिक जवाफ दिँदै भने – ‘त्यो विषय कुनै बेला उठेछ भने छलफल गरौंला ।’
सरकारको स्थिरता
सरकारको स्थिरतामा कुनै प्रश्न नगर्न उनले आग्रह गरे । भने– ‘अहिलेको सरकार करिब दुई तिहाईको हो, सरकारमा सामेल अरु दल पनि हिसाब गर्दा दुई तिहाइ पुग्छ । यसमा स्थिरताको प्रश्नै उठ्दैन ।’
पार्टी भित्रको समस्या
नेकपाको स्थायी समिति सदस्य समेत रहेका भट्टराईले पार्टी भित्रका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ‘पार्टी भित्र समस्या हुन सक्छन् , तर त्यसलाई व्यवस्थापन गर्नुपर्छ’ –उनले भने ।
नेकपामा अहिले वर्तमान प्रधानमन्त्री सहित अरु तीनजना नेता पूर्व प्रधानमन्त्री रहेको र पूर्व प्रधानमन्त्री जस्तै हैसियत राख्ने अरु नेताहरुको पनि ठुलो पङ्क्ति भएको भट्टराईले बताए ।
‘नेताहरुको विशाल पङ्क्ति भएको पार्टी हो । नेताहरुको व्यक्तित्व, आकांक्षा र प्रभाव हुन्छ । ती सबैकुरालाई व्यवस्थापन गर्दै अगाडि जानुको विकल्प हामीसँग छैन’–मन्त्री भट्टराईले भने ।
इतिहासले दिएको मौका
इतिहासले नेकपालाई ठूलो मौका दिएको र यसमा चुक्न नहुनेमा उनले जोड दिए । ‘हाम्रो अयोग्यताले यो मौका गुमाउनु हुँदैन र हामी चुकेकै कारण मुलुकले दुख पाउनु हुँदैन’–उनले भने ।
भट्टराईले पार्टीको समस्या समाधान गर्र्दै नेतृत्वबीच हार्दिक एकता हुुनुपर्नेमा उनले जोड दिए ।
मन्त्री र सांसदको नयाँ अनुभव
आफु पहिलो पटक सांसद र मन्त्री बनेकोले आफुले नयाँं अनुभव गरिरहेको उनले बताए । ‘म मन्त्री र सांसद बनेको यो पहिलो पटक हो, मेरा लागि नयाँं अनुभव हो’ –उनले भने । ‘मन्त्री बन्नु दुखी काम हो भन्न मिल्दैन, मन्त्री बन्न अप्ठ्यारो र कठिन भएको भए म अरु नै पेशामा लाग्थें, यसमा किन आउथेँ ?’ उनले प्रश्न गरे ।
आफुले जिम्मेवारी सम्हालेको मन्त्रालयमा कामहरु कठिन र चुनौतिपूर्ण रहेको उनले स्वीकारे । पहिलोपटक आफु मन्त्री भएकोले कतिपय कमी कमजोरी भएपनि सिक्दै बुझ्दै अगाडि बढेको उनले बताए ।
रवीन्द्रले शुरु गरेका कामलाई निरन्तरता
मन्त्री भट्टराईले स्व. रवीन्द्र अधिकारीले अगाडि सारेका कामलाई निरन्तरता दिने बताए । ‘रवीन्द्र जी ले धेरै महत्वपूर्ण काम गर्नुभएको छ । मन्त्रालयमा जग बसाउनु भएको छ । ती कामलाई मैले निरन्तरता दिन्छु । परिस्थितिले कतिपय नयाँ काम जन्माउँछन् , तिनलाई पनि थप्दै जान्छु’ – उनले भने ।
सरकार भनेको अविछिन्न उत्तराधिकारी हुने भएकोले पहिले सुरु भएको कामलाई निरन्तरता दिनु अनिवार्य भएको उनले दावी गरे ।
चर्चा र विवादमा आउने मन्त्रालय
कामको प्रकृतिले चर्चा र विवादमा आउने मन्त्रालय हो संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय । ‘कामको प्रकृतिले होला कतिपय काम अप्ठ्यारा छन् । तर चुनौती नभएको ठाउँ हुदैन’ – योगेश भन्छन् ।
राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने चुनौति
योगेशलाई राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने चुनौति छ । यस अन्तर्गत विभिन्न अन्तराष्ट्रिय विमानस्थल निर्माणको चिन्ता छ ।
‘विभिन्न राष्ट्रिय गौरवका आयोजना निर्माण गर्नुपर्ने छ । विशेषगरी गौतम बुद्ध विमानस्थल, पोखरा विमानस्थल, निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भित्र पर्छन्’ –उनी भन्छन् ।
निजगढ विमानस्थालको निर्णय
नयाँ विमानस्थल बनाउने विषयमा सामान्य विवादहरु छ । निजगढमा वातावरण र पोखरामा विमास्थलको क्षमताका विषयमा प्रश्न उठेपनि ती सामान्य भएको उनी बताउँछन् ।
‘निजगढ विमानस्थल निर्माणको निर्णय मैले गरेको होइन । २४–२५ वर्ष अगाडि अर्को विमानस्थल चाहिन्छ भनेर अध्ययन गरेको विषय हो । यो उपयुक्त ठानेर गरेको निर्णय हो’ – उनी भन्छन् ।
‘कम वातावरणीय क्षतिमा एयरपोर्ट बनाउने हो । मैले शुरुमा नै भनेको छु, म रुख काट्न र वन फडानी गर्न आएको होइन । एयरपोर्ट बनाउन आएको हो । अन्तर मन्त्रालय र अरु सरोकारवालका कुरा सुनेर निजगढको काम अगाडि बढाउँछौ’ – उनले थपे ।
डिसेम्बरमा पोखरा विमानस्थल
पोखरामा निर्माणाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय विमानस्थल आउने डिसेम्बरमा सम्पन्न हुने योगेशले दावी गरे । ‘आउँदो डिसेम्बरमा पोखरा विमानस्थल निर्माण सम्पन्न भइसक्छ, यी हाम्रा आवश्यकताले बनेका हुन्’ – उनी भन्छन् ।
भिजिट नेपालको शुरुवात मात्रै
‘भिजिट नेपाल २०२०’ का लागि भित्र्याउने भनिएको संख्या तलमाथि हुन सक्ने योगेश बताउँछन् । भने – ‘पर्यटक कति पुग्छन्, अहिले म भन्न सक्दिन । तर, हाम्रो लक्ष्य भनेको २० लाख पु¥याउने हो । हामी त्यसको तयारीमा छौं । भ्रमण वर्ष २०२० मात्रै होइन २०२१ र २०२२ पनि हो । हाम्रो अर्थतन्त्रको आधार पर्यटन हो भनेपछि एउटा वर्ष पर्यटन वर्ष हुने अरुमा आराम गरेर बस्ने कुरा हुँदैन ।’
